वीरेन्द्रनगरमा चुनावी सरगर्मी : कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा, को-को छन् दावेदार ?
सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतको मुख्य केन्द्र वीरेन्द्रनगरमा स्थानीय चुनावको चहलपहल सुरु भएको छ। विभिन्न राजनीतिक दलका नेता-कार्यकर्ताबीच टिकट हात पार्ने दाउपेच सुरु भएको छ।
प्रदेशको प्रशासनिक केन्द्र र प्रदेश सरकारसँग नजिकबाट समन्वय गर्ने अवसर पाइने भएका कारण वीरेन्द्रनगरको नेतृत्वमा सबै दलहरुको नजर परेको छ।
खासगरी वीरेन्द्रनगर नगरपालिकाको मेयरका लागि कांग्रेस, एमाले, माओवादी, समाजवादी, राप्रपा र विवेकशील साझा पार्टीबाट उम्मेदवारको चर्चा सुरु भएको छ।
नेपाली कांग्रेस
अहिले कांग्रेसबाट वीरेन्द्रनगरको मेयरको बलियो दावेदारका रुपमा छन् नगर सभापति उपेन्द्र खड्का। उनी अहिले नगर कार्यपालिका सदस्य एवं लेखासमिति सदस्य पनि हुन्।
विगतमा अहिलेका मेयर देवकुमार सभापति हुँदा आफू पार्टीको सचिव भएकोले यो पटक आफू उम्मेदवार निर्विरोध हुनुपर्ने माग राख्दै खड्काले नेता तथा कार्यकतालाई लविङ गरिरहेका छन्।
खड्का पार्टीको नगर सभापति भएका कारण स्वभाविक रुपमै मेयरको दावेदार भएको उनी समर्थितहरुले बताउँदै आएका छन्। उनी कांग्रेसको संस्थापन पक्ष अर्थात् पार्टी उपसभापति पूर्णबहादुर खड्का समूहका हुन्।
यस्तै संस्थापन पक्षबाटै वर्तमान मेयर देवकुमार सुवेदीले नै टिकट पाउनुपर्छ भन्ने केही नेता तथा कार्यकर्ता छन् भने केहीले उनी पार्टीको जिल्ला सचिव भएकोले विकल्प खोज्नुपर्ने बताउँदै आएका छन्।
यस्तै पूर्व जिल्ला कार्यसमिति उपसभापति काली शाक्य पनि संस्थापन पक्षबाट मेयरका दावेदार छन्।
यस्तै संस्थापन इतर पक्ष अर्थात् पूर्व केन्द्रीय सदस्य हृदयराम थानी पक्षबाट नारायण कोइराला मेयरका दावेदार छन्। यदि मेयर नपाए उपमेयरमा इतर पक्षले उम्मेदवार उठाउने तयारी थालेको छ।
यस्तै संस्थापनबाट उपमेयरमा पार्वती गिरी, शान्ति सिंह लगायतका महिला नेतृहरूको नाम पनि चर्चामा छ।
कांग्रेसकै संस्थापन इतरबाट २०७४ को निर्वाचनमा पराजित बनेकी जानकी सिंह, हाल जिल्ला समन्वय समिति उपप्रमुख देवी भट्टराई, सदस्य पूर्णा चालिसे लगायतका महिला नेतृहरूको नाम पनि उपमेयरका लागि चर्चामा छ।
यद्यपि, स्थानीय तहको चुनावमा गुट-उपगुटभन्दा पनि सिंगो पार्टी एकमत भएर अगाडि बढ्ने नेताहरुले बताउँदै आएका छन्।
वीरेन्द्रनगरमा २०७४ को भन्दा यस पटक ९ हजार मतदाता बढेका छन्। अहिले यहाँको कुल मतदाता संख्या ६७ हजार रहेको छ।
कांग्रेसले अहिले टोल कार्यसमितिलाई सक्रिय बनाएर ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान चलाएको छ। कांग्रेस प्रत्येक वडा कार्यालयमा कार्यालय स्थापना गरी आफूहरुले गरेका काम जनतामाझ पुर्याएर वडा-वडाको घोषणापत्रको तयारीमा जुटेको छ। यस्तै ‘सुख, दुःखको साथी, नेपाली कांग्रेस पार्टी’ भन्ने स्थानीय नारा बनाएर घरदैलो गरिरहेको छ।
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा मेयरमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका देवकुमार सुवेदी १४ हजार ४०५ मत ल्याएर मेयर बने। यस्तै उपप्रमुखमा नेकपा एमालेकी मोहनमाया ढकाल १३ हजार ८९९ मत ल्याएर उपमेयर बनिन्।
तत्कालीन समयमा ५८ हजार जम्मा मतदाता भएको वीरेन्द्रनगरमा माओवादीले ५ हजार २३७ र राप्रपाले ५५७ मत पाएको थियो भने केही मात्रामा अन्य दलहरुले पनि मत लिएका थिए।
१६ वटा वडा भएको वीरेन्द्रनगरमा ६ वटा वडा कांग्रेसले जितेको थियो भने ९ वटा वडा एमाले र एउटा वडा माओवादीले जितेको थियो।
नेकपा एमाले
वीरेन्द्रनगरमा अर्को ठूलो शक्तिका रूपमा रहेको नेकपा एमालेबाट आगामी निर्वाचनमा मेयरका लागि वर्तमान उपमेयर मोहनमाया ढकालको नाम चर्चामा छ। ढकाल सुर्खेती राम्रो छवि भएकी महिला नेतृ हुन्। उनी एमाले केन्द्रीय सदस्य समेत हुन्।
यस्तै एमालेबाट हरिहरनाथ योगी, नीलकण्ठ खनाल, गंगाराम तिमिल्सिना, पूर्णप्रसाद पौडेल पनि मेयरका दावेदार हुन्। एमालेबाट उपमेयरमा वर्तमान कार्यपालिका सदस्य यमुना नेपाली, महिला नेतृ मधुरानी ढकाल, राधा कार्की लगायतको नाम पनि चर्चामा छ।
एमालेले पनि नगरका विभिन्न वडामा घरदैलो तथा भेला गर्न थालेको छ।
माओवादी
वीरेन्द्रनगरमा तेस्रो शक्तिका रूपमा रहेको माओवादी केन्द्रबाट मेयरका प्रमुख दावेदार रत्न गाहा हुन्। २०७४ को निर्वाचनमा पराजित भएकाले उनी पुनः मेयरमा उठ्ने तयारी थालेका छन्।
उनीसँगै दानसिंह सुनार र हरिमाया शर्मा पनि मेयरमा उठ्ने माओवादी वृत्तमा चर्चा छ। शर्मा २०७४ को निर्वाचनमा उपमेयरमा पराजित भएकी थिइन्।
माओवादीबाट उपमेयरमा देविसरा सुनार, पद्मा विष्ट लगायतका नेतृहरूको नाम पनि चर्चामा छ।
एकीकृत समाजवादी
एकीकृत समाजवादी पार्टीबाट लोकप्रसाद चालिसे र शिव उपाध्याय वीरेन्द्रनगरको मेयरको दावेदार रहेका छन्। वीरेन्द्रनगर–१२ का वडाअध्यक्ष चालिसे समाजवादीका वीरेन्द्रनगर नगर कमिटी अध्यक्ष समेत हुन्। यस्तै उपमेयरमा धना शाही, लक्ष्मी ज्ञवाली लगायत रहेका छन्।
राप्रपा
निर्वाचनको मिति तय भएसँगै राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी पनि वीरेन्द्रनगरमा मेयरका लागि उम्मेदवार उठाउने तयारीमा जुटेको छ।
राप्रपाबाट गत स्थानीय निर्वाचनमा मेयरमा पराजित इश्वरकुमार श्रेष्ठले उम्मेदवारी दिने तयारी थालेका छन्। उनले गत निर्वाचनमा ५५७ मत ल्याएका थिए।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीकै सन्तोषी शाही पनि मेयरमा उठ्ने चर्चा छ। उनी पनि युवा पुस्तामाझ लोकप्रिय छिन्।
विवेकशील साझा
प्रमुख शक्तिकेन्द्रका रूपमा रहेका चार वटा दलमात्र होइन, वीरेन्द्रनगरमा मेयरको उम्मेदवारमा साना दलहरूले युवा नेतालाई निर्वाचनमा उठाउने तयारी गरेका छन्।
विवेकशील साझा पार्टीले युवा नेता अनिल ढकाललाई मेयरको उम्मेदवार बनाउने तयारी छ। उनी कर्णालीका युवा पुस्तामाझ लोकप्रिय छन्।
ढकाल सामाजिक सेवाको क्षेत्रमा सक्रिय युवाको छवि बनाएका व्यक्ति हुन्। ढकालले युवा पुस्ताको मत काट्न सक्ने आकलन पनि गरिएको छ।
यस्तै अन्य साना दलले पनि युवा नेताहरूलाई उम्मेदवार बनाएपछि ठूला शक्तिमा रहेका दलले प्राप्त गर्नसक्ने मत काटिएपछि हारजितमा निर्णायक प्रभाव पर्नसक्ने देखिन्छ।
चैत १४, २०७८ सोमबार १४:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।