पोखरामा हुने न्यायिक सम्मेलनको तयारी पूरा, देशभरका ७ सय बढी सहभागी हुने
पोखराः पोखरा महानगरपालिकाको न्यायिक समितिले पहिलो पटक आयोजना गरेको ‘न्यायिक समितिको राष्ट्रिय सम्मेलन’ को तयारी पूरा भएको छ। देशभरका उपप्रमुखहरू डाकेर पोखराको सभागृहमा आयोजना गर्न लागिएको सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको महागनर न्यायिक समितिका सञ्योजक मञ्जुदेवी गुरुङले बताइन्।
सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन्। एक दिनका लागि आयोजना हुन लागेको सम्मेलनमा सहभागी हुन देशभरबाट न्यायिक समिति सञ्योजक र सदस्यहरूको सहभागिता रहनेछ।
कार्यक्रममा देशभरका दुई सय ५० बढी पालिकाबाट न्यायिक समितिका सञ्योजकहरू, सदस्य र अन्य पदाधिकारीसहित झण्डै सात सय सहभागी हुने न्यायिक समिति सदस्य किशोर बरालले बतए।
सम्मेलनमा सहभागिताका लागि ७५३ वटै पालिकामा पत्राचार गरिएको बरालले बताए।
सम्मेलनस्थल पोखरा सभागृहलाई सजाएर आकर्षक बनाइएको छ। स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको झण्डै पाँच वर्ष पुग्न लागेको अवसरमा अनुभव र समस्याका बारेमा एकआपसमा छलफल गर्नका लागि कार्यक्रमको आयोजना गरेको गुरुङले बताइन्।
स्थानीय तहमा न्यायिक समितिको अभ्यास भएकाले पाँच वर्षको समयमा न्याय सम्पादनमा भएका असर र राम्रा अभ्यासको आदान प्रदान गदै त्यसमा देखिएका अस्पष्ता र चुनौतीहरूलाई समाधान गर्न घोषणापत्र जारी गदै प्रदेश तथा संघ सरकारलाई बुझाइने आयोजकको भनाइ छ।
कार्यक्रमको उद्घाटनमा गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, सभामुख नेत्रनाथ अधिकारी, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, तथा मन्त्रीहरू, प्रदेश सभा सदस्यहरू, राजनीतिक दलका जिल्लास्तरीय नेताहरूको सहभागिता रहनेछ।
चैत १४, २०७८ सोमबार ११:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।