एक्लिँदै हृदयेश: कपिलवस्तुका प्रभावशाली नेता गुप्ता र श्रीवास्तव हिँडे एमालेतिर
बुटवलः कपिलवस्तुका दुई प्रभावशाली नेता वृजेशकुमार गुप्ता र धर्मबहादुर श्रीवास्तव आज एमाले प्रवेश गर्दैछन्। पूर्वमन्त्री समेत रहेका गुप्ता र श्रीवास्तवले हृदयेश त्रिपाठीको समूह छोडेर एमाले प्रवेश गर्न लागेका हुन्।
गुप्ता प्रतिनिधि सभा सदस्य हुन् भने श्रीवास्तव लुम्बिनी प्रदेश सभा सदस्य हुन्।
उनीहरूसहित करिब पाँच हजार जना एमालेमा प्रवेश गर्ने बताइएको छ। यी दुई नेतालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउनेछन्। उनीहरूलाई पार्टीमा भित्र्याउनकै लागि ओली सोमबार बिहान काठमाडौंबाट कपिलवस्तु आउँदैछन्।
एमाले कपिलवस्तु जिल्ला इञ्चर्ज बलराम अधिकारीले दुई जना पूर्वमन्त्रीहरू तथा सांसदसहित क्षेत्र नं २ र १ बाट पाँच हजारभन्दा बढी अगुवा कार्यकर्ता एमालेमा प्रवेश गर्ने कार्यक्रम रहेको बताए। गत ६ पुसमा कपिलवस्तुमै आएर ओलीले प्रभावशाली नेता मंगलप्रसाद गुप्तासहित चार हजार पाँच सयलाई एमाले प्रवेश गराएका थिए।
को हुन गुप्ता र श्रीवास्तव?
वृजेशकुमार गुप्ता कपिलवस्तु क्षेत्र नम्बर २ बाट २०७४ सालमा प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए। धर्मलाल श्रीवास्तव कपिलवस्तु क्षेत्र नम्बर २ को ‘ख’ बाट निर्वाचित भएका थिए।
नेपाली कांग्रेसका तत्कालीन जिल्ला सभापति सुरेन्द्रराज आचार्यलाई तीन हजार ५८१ मतान्तरले पराजित गर्दै गुप्ता विजयी भएका थिए। गुप्ताले कुल ३५ हजार १२७ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी आचार्यले ३१ हजार ५६६ मत ल्याएका थिए।
श्रीवास्तव भने नेपाली कांग्रेसका सुधाकर पाण्डेयलाई तीन सय ८६ मतान्तरले हराउँदै विजयी भएका थिए। श्रीवास्तवले कुल १० हजार ४३६ मत प्राप्त गर्दा पराजित बनेका पाण्डेयले १० हजार ५० मत ल्याएका थिए।
तमलोपाबाट छुट्टिएको हृदयेश त्रिपाठीको स्वतन्त्र समूहबाट गुप्ता कपिलवस्तु क्षेत्र नम्बर २ बाट सूर्य चिह्न लिएर चुनाव लडेर विजयी भएका थिए। राष्ट्रिय प्रजातन्त्र पार्टी, मधेश लोकतान्त्रिक पार्टी हुँदै जनता प्रगतिशील पार्टी (हृदयेस त्रिपाठीको नयाँ दल) हुँदै गुप्ता अहिले एमालेमा प्रवेश गरेका हुन्।
उनी ०५६ सालमा राप्रपाबाट निर्वाचित भएका थिए। पूर्वमन्त्री समेत रहेका गुप्ता कपिलवस्तुबाट चार पटकसम्म निर्वाचित भइसकेका छन्।
श्रीवास्तव भने लुम्बिनीमा एमाले नेतृत्त्वको सरकारमा गत १२ वैशाखमा शिक्षा तथा सामाजिक विकासमन्त्री बनेका थिए।
उनले १९ वैशाखमा विपक्षी गठबन्धनमा हस्ताक्षर गरे पनि २० वैशाखमा पोखरेललाई समर्थन गर्दै विज्ञप्ति जारी गरेका थिए। एमाले छाड्ने दबाबपछि उनलाई अन्तिम समयमा मन्त्री बनाइएको थियो।
हृदयेसलाई धमधाम साथ छोड्दै नेताहरू
हृदयेस त्रिपाठी समूहबाट २०७४ को निर्वाचनमा सूर्य चिह्नबाट प्रतिनिधि सभामा चार जना निर्वाचित भएका थिए। त्यसमध्ये दुई जना उनीबाट अलग भए। आफूसहित दुई जना बाँकी छन्।
कपिलवस्तुका वृजेशकुमार गुप्ता र नेपालगञ्जका पशुपती दयाल मिश्रले त्रिपाठीको साथ छाडेका छन्। अब स्वयं त्रिपाठी र ईश्वरदयाल मिश्र मात्र बाँकी छन्।
त्रिपाठीले हाल जनता प्रगतिशील पार्टी गठन गरेर निर्वाचन आयोगमा दर्ता गराएका छन्।
चैत १४, २०७८ सोमबार ०९:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।