एक्लै चुनावमा जाऊँ भन्नासाथ रिसाइहाल्छन् देउवा, गठबन्धन भत्किए एमाले-माओवादी मिल्छन् भन्दै तर्साउँछन् नेता

एक्लै चुनावमा जाऊँ भन्नासाथ रिसाइहाल्छन् देउवा, गठबन्धन भत्किए एमाले-माओवादी मिल्छन् भन्दै तर्साउँछन् नेता

काठमाडौँ : नेपाली कांग्रेसले पहिलो पार्टी बन्ने गरी चुनावी गठबन्धन गर्ने नीतिगत निर्णयको तयारी गरेको छ। संस्थापन इतर शेखर कोइराला पक्षले गठबन्धन नगरी निर्वाचन जान लबिङ गरे पनि जारी केन्द्रीय समितिको बैठकले भने गठबन्धन गरेर जाने निर्णय गर्ने तयारी गरेको हो।

जानकार श्रोतका अनुसार पार्टी सभापति शेरबहादुर देउवाले स्थानीय आवश्यकताका आधारमा तालमेल र गठबन्धनको निर्णयको अधिकार तल्ला तहलाई दिने गरी निर्णयको तयारी गरेका छन्।

‘पार्टीले सत् प्रतिशत गठबन्धनको पक्षमा निर्णय गर्छ। निर्णयको ड्राफ्ट सोही अनुसार बन्दै छ', कांग्रेसका एक पदाधिकारीले उकेरासँग भने‘हामी एक नम्बर पार्टी बन्ने गरL तालमेलको तयारीमा छौँ।'

शुक्रवारबाट सुरु भएको कांग्रेसको केन्द्रीय समिति बैठक सोमबार सकिँदै छ। यस अगाडि नै तालमेलै नगर्ने दाबी गरिरहेको एमालेले एक्लै चुनावमा जाने तर स्थानीय तहकाले तालमेलको आवश्यकता देखे सोही अनुसार निर्णय गर्न सक्ने निर्णय गरेपछि कांग्रेस अहिले सरकारमा रहेका दलहरू एक भएरै निर्वाचनमा जानुपर्ने पक्षमा उभिएका हुन्।

'अहिले रहेको सत्ता गठबन्धन कायम रहे एमाले सबैभन्दा कमजोर हुने उनीहरू जानकार छन्। त्यसैले केन्द्रीय कमिटीमा एक्लै जाने तर तलको पार्टी संयन्त्रले चाहे तालमेल हुनसक्ने भन्दै दोहोरो अर्थ लाग्ने निर्णय गर्यो,' ती पदाधिकारीले भने' यसले गठबन्धन गर्न हुन्न भन्ने नेताहरूले समेत एमालेले वर्तमान गठबन्धन भत्काएपछि आफ्नै गठबन्धन बनाउन खोजेको बुझेका छन्।'

पार्टी सभापति देउवाले त सार्वजनिक रूपमै यदि कांग्रेसले माओवादी केन्द्रसँग गठबन्धन नबनाए उनीहरू एमालेसँग मिलेर गठबन्धन बनाउने दाबी गर्दै आएका छन्। निर्वाचनमा जे पनि हुनसक्ने भन्दै उनी पार्टी पहिलो हुने गरी अहिले सरकारमा कायम रहेका दलहरूबिच गठबन्धन गरेर तीनै तहको निर्वाचनमा जानुपर्ने पक्षमा देखिएका छन्।

गठबन्धन गर्न हुन्न भनेर ब्रिज गर्ने जिल्ला सभापतिहरूलाई उनले अनि एमाले र माओवादीको गठबन्धन बन्यो भने के गर्छौँ भनेर समेत सोधेका छन्। यसले समेत कांग्रेस गठबन्धन बाहिर नजाने देखिन्छ नै।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत जारी केन्द्रीय कार्य समिति बैठकमा धेरै केन्द्रीय सदस्यहरूको धारणा चुनावी गठबन्धनको पक्षमा रहेको बताइसकेका छन्।

 ‘कुन स्थानीय तह कसले लिने भन्ने त पछि निर्णय गर्ने कुरा हो। चुनावी तालमेल गरेर गठबन्धन बचाएर लानुपर्ने आवश्यकता छ। धेरै केन्द्रीय सदस्यहरूको धारणा तालमेलको पक्षमा आएको छ,' उनले भने'कहाँ-कहाँ लिने अनि कहाँ कहाँ छाड्ने भन्ने त पछि सल्लाह हुन्छ। यो बैठकले चुनावबारे सैद्धान्तिक निर्णय मात्र गर्छ।’

आइतबार कांग्रेस नेतृ सुजाता कोइराला पनि गठबन्धनको गर्ने पक्षमा उभिएकी छिन्। उनले गठबन्धनकै कारण पार्टीले प्रधानमन्त्री, मुख्यमन्त्री अनि राष्ट्रिय सभामा जितेको भन्दै उनले गठबन्धन कायम राखेर चुनावमा जानुपर्छ बताइन्।

पछिल्लो समय शेखर कोइराला समूह समेत गठबन्धनप्रति पहिलेझैँ आक्रामक सुनिएको छैन। कोइराला समूहका उपसभापति धनराज गुरुङ माओवादी केन्द्रप्रति अलि बढी नै आक्रामक देखिन्छन्। तर महामन्त्री गगन थापाले गठबन्धनको विपक्षमा धारणा राख्न छाडिसकेका छन्। कोइराला समूहका सह-महामन्त्री र केन्द्रीय सदस्यहरू समेत अहिले गठबन्धनको विरोधमा नरम देखिन थालेका छन्। कोइराला आफैँ हुँदै हुन्न भन्दा पनि पार्टी भारतको कांग्रेस हुने पो हो कि भन्ने आशङ्कामा पुगेका छन्।

अर्थमन्त्रीप्रति हटाउन दबाब

कांग्रेस केन्द्रीय समितिको बैठकमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग भयो आइतबार। केन्द्रीय सदस्य प्रकाश स्नेहीले व्यापार घाटा बढेको, अर्थतन्त्र ओरालो लागेको र सुधारको प्रयास नभएकोले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न सभापति एवं प्रधानमन्त्री देउवासँग माग गरेका थिए।

‘तत्काल अर्थमन्त्री हटाउनुभएन भने चुनाव त थेगौला तर देश कसरी थेग्न सक्नुहुन्छ सभापति ज्यू ?’ उनले गठबन्धनको आवश्यकता नरहेको भन्दै एक्लै बहुमत ल्याउन सक्ने कांग्रेस चाहिएको बताएका थिए।

‘गठबन्धनको मोडालिटी के हो? एमालेले जितेको सबै ठाउँमा एकीकृत समाजवादीलाई ठाउँ दिन सकिन्छ? हामीलाई कम्युनिस्टसँग लडेर एक्लै बहुमत ल्याउन सक्ने कांग्रेस दिनुस् सभापति ज्यू’, उनले बैठकमा सभापति समक्ष भनेका थिए।

केन्द्रीय सदस्य पुष्पा भुसालले भने देउवाको गठबन्धनसहित चुनावमा जानुपर्ने कुराको बचाउ गरेकी थिइन्।

‘हामीलाई सबैभन्दा बढी अरू दलको आवश्यकता छ। हामीले जितेको ठाउँमा गठबन्धन नगर्ने र हारेको ठाउँमा गठबन्धन गर्ने भन्ने सिद्धान्तमा आधारित छ,' उनले भनिन्।

उनले बाम शक्तिलाई एक बनाउन अन्तर्राष्ट्रिय शक्तिहरू लागि परेको दाबी गर्दै सैद्धान्तिक धरातलमा गठबन्धन हुनुपर्ने बताइन्।

अर्का केन्द्रीय सदस्य उदय समसेर राणाले गठबन्धनको गाइडलाइन केन्द्रबाट पठाएर गर्नुपर्ने मत राखेका थिए। केन्द्रीय सदस्य गोविन्द भट्टराईले माओवादीले जितेको तनहुँमा एमालेसँग तालमेल गर्न प्रस्ताव गरेका थिए।

यस्तै केन्द्रीय सदस्य सञ्जय गौतमले गठबन्धनको बारेमा संस्थागत निर्णय गरेर जान नुहुने र यसो गर्दा कांग्रेसको वैचारिक धरातल कमजोर हुने बताएका थिए। उनले सरकारको प्रभावकारिता र भ्रष्टाचारको विषयमा कुरा उठाएका थिए।

सभापति शेरबहादुर देउवा निकट अर्का केन्द्रीय सदस्य राजेन्द्रविक्रम शाहले सल्यानको उदाहरण दिँदै माओवादीसँगको चुनावी गठबन्धन गर्न नहुने बताए। भक्तपुरमा नेमकिपा बलियो रहेकाले अन्य सबैदलहरुसँग तालमेल गर्नुपर्ने केन्द्रीय सदस्य जितजंग बस्नेतले बताए।

केन्द्रीय सदस्य रुपमा विकले रुकुम पूर्वमा माओवादीसँग तालमेल गरे कांग्रेस छुट्टै उम्मेदवार उठ्ने अवस्थामा रहेको ब्रिफिङ गरेकी थिइन्। अर्की केन्द्रीय सदस्य गङ्गा अवालेले सिन्धुपाल्चोकको रिपोर्टिङ गर्ने क्रममा गठबन्धनको नाममा कम्युनिस्टलाई धुदाधुदा गङ्गा नै मैलो भइसकेकाले अब कति मैलो बनाउने भन्ने प्रश्न गरेकी थिइन्।

चितवन कांग्रेसका पूर्व सभापति कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले एमालेको रिसले सबै भोट खन्याएर माओवादीलाई जिताउन नसकिने बताए। 

‘प्रचण्डका बाउ छोरी चुनाव लड्ने, कांग्रेसले भोट हालिरहने भन्ने हुँदैन। एमाले हराउन सबै माओवादीलाई दिन सकिँदैन। जनताले एमाले जिताउने गठबन्धन बनाउन सक्छन्’, उनले भने।

तर उनले आफू तालमेलको विपक्षमा नभएको बताए। उनले भने, ‘गठबन्धन हुनुपर्छ। तर, सधैँ चितवनका कांग्रेसले अरूलाई मात्र भोट हाल्नुपर्ने भन्ने हुँदैन।’

कांग्रेसले आवश्यकताको सिद्धान्त अनुसार पार्टीलाई बढीभन्दा बढी सिट जिताउन चुनावी गठबन्धन गर्जनेबारेमा छलफल अघि बढाएको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए।

‘गठबन्धनमा जाँदा कस्तो मोडलमा जादा फाइदा हुन्छ, तालमेल गर्दा कसरी पार्टीलाई बढी भन्दा बढी फाइदा हुन्छ भन्ने आधारमा निर्णय हुन्छ,’ प्रवक्ता महतले भने।

गठबन्धन गर्ने देउवाकै लाइन

नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा आइतबारको बैठकमा पनि देउवा आक्रोशित भए। केन्द्रीय सदस्य गोविन्द भट्टराइले माओवादीले जितेका ठाउँमा एमालेसँग गठबन्धन गर्नुपर्ने धारणा राखेपछि देउवा रिसाएका थिए।

उनले तनहुँको प्रसंग उल्लेख गर्दै एमालेसँग गठबन्धन गर्नुपर्ने बताएका थिए। यसपछि देउवाले भने, ‘अनि कांग्रेसले जितेका स्थानमा चाहिँ के गर्ने त? के गर्ने?’ 

शुक्रवारको बैठकमा पनि देउवा एक्लै चुनावमा जाने विषय उठाएपछि रिसाइहाल्थे। उनले चुनाव लड्न मात्र टिकट लिए घातक हुने भने।

‘चुनाव चाहिँ नजित्ने अनि गठबन्धन नगर्ने ? कि सङ्गठन गर्नुपर्यो कि मिलेर चुनाव लड्नुपर्यो,’ बैठकमा उनले भने' माओवादीसँग तालमेल नगरे एमालेसँग मिल्न जान्छन्। एमालेलाई हराउन चुनावी गठबन्धन गर्नुपर्छ।'

चैत १३, २०७८ आइतबार २०:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।