प्रचण्डलाई कांग्रेसको अफर : भरतपुरमा छोरीको मोह छोड्नुस्, मेयर हामीलाई दिएर सांसदको उम्मेदवार बन्नुस्

प्रचण्डलाई कांग्रेसको अफर :  भरतपुरमा छोरीको मोह छोड्नुस्, मेयर हामीलाई दिएर सांसदको उम्मेदवार बन्नुस्

काठमाडौँ : नेपाली कांग्रेसले भरतपुर महानगरपालिकाको नेतृत्व आफूले लिएर सङ्घ सांसद पद माओवादी केन्द्रलाई दिने तयारी गरेको छ। कांग्रेसको विधान अनुसार महानगरको टिकटको जिम्मा केन्द्रीय संसदीय समितिले लिएको छ। चितवनबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य दिनेश कोइरालाले शुक्रबारको बैठकमा माओवादीसँग मिल्दा चितवनका जनताले रुखमा भोट हाल्न बिर्सने खतरा बढेको बताएका थिए।

‘महानगरको मेयर पद हामीले लिएर प्रतिनिधि सभा चाहिँ प्रचण्डलाई छाड्ने विषयमा छलफल भइरहेको छ,’ कांग्रेसका एक पदाधिकारीले उकेरासँग भने। प्रचण्डले चितवनमा छोरी (रेणु दाहाल) लाई सेटल गराएर आफू रुकुम वा रोल्पाबाट चुनाव लड्ने विषय पनि आएको थियो। त्यसको विकल्पमा कांग्रेसले बरु रेणुलाई अन्तै सेटल गर्न सुझाव दिएको एक नेताले दाबी गरे।

‘छोरीलाई अन्तै एडजस्ट गर्नुस्, तर चितवनमा तपाई तयारी गर्नुस् भनेका छौँ,’ ती केन्द्रीय पदाधिकारीले उकेरासँग भने।

विवादित रूपमा मेयर जितेकी रेणु भने पुन महानगरको मेयरमा उम्मेदवार बन्ने दाउँमा छिन्। चितवन कांग्रेस प्रचण्डप्रति आक्रामक छ। उसले केन्द्रले जवर्जस्ती गठबन्धन गरेर माओवादी केन्द्रलाई सिट दिएमा विद्रोह हुने चेतावनी दिएपछि हच्किएका प्रचण्ड चितवन पुगेर केन्द्रबाट निर्णय भए चितवनका नेताहरूको केही नलाग्ने दाबी गरेर फर्किएका थिए।

मतदातालाई रिझाउन उनी स्थानीयको घरमा बसेर खाना खाएका थिए। अघिल्लो निर्वाचनमा प्रचण्ड चितवन ३ बाट उम्मेदवार बनेर विजयी भएका थिए। चितवन ३ कांग्रेसको बलियो पकड रहेको क्षेत्र हो।

स्रोतका अनुसार केन्द्रीय संसद अनी महानगर दुबैको नेतृत्व दिन नसक्ने चितवन कांग्रेसले केन्द्रमा ब्रिफ गरिसकेको छ। दिनेश कोइराला महानगरको मेयरको उम्मेदवार बन्ने तयारीमा छन्। मेयर नपाउने हो भने संसदको टिकट मागिरहेका छन्। 

आइतबार केन्द्रीय समिति बैठकमा चितवन कांग्रेसका पूर्व सभापति तथा केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले एमालेको रिसले सबै भोट खन्याएर माओवादीलाई जिताउन नसकिने बताएका थिए। 

‘प्रचण्डका बाउ-छोरी चुनाव लड्ने, कांग्रेसले भोट हालिरहने भन्ने हुँदैन। एमाले हराउन सबै माओवादीलाई दिन सकिँदैन। जनताले एमाले जिताउने गठबन्धन बनाउन सक्छन्’,उनले भने।

तर प्रचण्ड महानगरको नेतृत्व र सांसद दुबै आफ्नै पार्टीले पाउनुपर्ने पक्षमा छन्। केन्द्रले दुबै पद लिएमा कार्यकर्तामा नकारात्मक असर पर्ने र जोखिम हुने भन्दै उनलाई छोरीलाई अन्तै लैजान आग्रह गरेका छन्। रेणु भरतपुरमै उठे मेयरमै उठाउन सकिने तर अन्त लैजाँदा प्रदेश सांसदसम्म बनाउनुपर्ने भन्दै सहज भरतपुरै हुने बताइरहेका छन्।

'हामीले मतदाता र कार्यकर्ताको भावना केन्द्रलाई जानकारी गराउने हो। त्यो गराइसकेका छौँ,' कोइरालाले उकेरासँग भने' निर्णय अगाडि केन्द्रले पक्कै जिल्लाको वस्तुथिती हेर्ला नै।'

चैत १३, २०७८ आइतबार १९:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।