फिल्म आरआरआर तीन अनलाइन प्लेटफर्ममा लिक भयो, कारबाहीको चेतावनी

फिल्म आरआरआर तीन अनलाइन प्लेटफर्ममा लिक भयो, कारबाहीको चेतावनी

एजेन्सी : दक्षिण भारतीय र हिन्दी फिल्ममा रुचि राख्नेहरूमाझ हटकेक बनिरहेको महँगो फिल्म आरआरआर अनलाइन प्लेटफर्महरूमा लिक भएको छ। एसएस राजामौलीको निर्देशन रहेको फिल्मको लगानी पाँच सय करोड रहेको बताइको छ।

यो फिल्म तमिल रकर्स, फिल्मीवाप र मुभीरुल्जबाट लिक भएको हो। हिन्दुस्तानटाइम्सका अनुसार शुक्रबार यो फिल्म रिलिज भए लगत्तै यी तीन अनलाइन प्लेटफर्ममा अनधिकृत रूपमा फिल्म लिक भएको थियो।

हिन्दी, तेलुगू, तमिल, कन्नड, मलयालमसहित विभिन्न भाषामा रिलिज भएको फिल्मको हिन्दी भर्सन लिक भएको हो। भारतका हलहरूमा यो फिल्मले बम्पर व्यापार गर्दै बाहुबलीको रेकर्ड समेत ब्रेक गरेका समाचार आइरहेका छन्।

नेपालमा समेत शुक्रबारबाट आरआरआरका टिकटहरु सोमबारसम्म बुक भइसकेको वितरण कम्पनीको दाबी छ। भारतमा दैनिक साढे २ सय करोडको व्यापार गरेको यो फिल्मले नेपालमा समेत हरेक दिन एक करोड हाराहारीमा व्यापार गरिरहेको छ। नेपालमा बाहुबलीले १७ करोड व्यापार गरेको दाबी गरिएको थियो।

हिन्दुस्तान टाइम्सका अनुसार लिक गरिएको लिङ्कबाट फिल्म डाउनलोड गरेर सामाजिक सञ्जालहरूमा राख्न थालेपछि फिल्म निर्माण टिमले गैर कानुनी काममा संलग्न नहुन आग्रह गरेका छन्।

चैत १३, २०७८ आइतबार १८:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।