उपमेयर हरिप्रभाको दाबी - मेयरले साथ नदिँदा धोको पुर्याएर काम गर्न पाइनँ, अब मेयरमा उठ्छु
आगामी वैशाख ३० मा स्थानीय तहको चुनाव हुने भएपछि यतिबेला देश चुनावमय हुँदै गएको छ। जनप्रतिनिधिहरूको कार्यकाल सकिने सङ्घारमा कोही प्रतिनिधि भने पुनः दोहोरिन चाहेका छन्। त्यहीमध्येकी एक हुन्- काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ। कांग्रेसबाट निर्वाचित खड्गीको सपना अब मेयर बन्ने छ। उपमेयरका रूपमा आफूले गरेको कामको मूल्याङ्कन गरेर पार्टीले जिम्मेवारी दिनुपर्ने उनको माग छ।
अघिल्लो निर्वाचनमा २४ हजारभन्दा बढी मत प्राप्त गरेकी खड्गीलाई एमालेको पनि समर्थन रहेको थियो। तर आफ्नो कार्यकालभरि खड्गीले एमालेबाटै निर्वाचित मेयरको छायामा परेको गुनासो गरिरहिन्।
उनै खड्गीसँग उनको कार्यकाल, उपमेयर बन्दाको अनुभव र चुनौतीसँगै मेयरको दावेदारीमा आधारित भई उकेराकर्मी मोनिका वाइबाले गरेको कुराकानीको सम्पादित अंश:
काठमाडौं महानगरको उपमेयरको रूपमा कस्तो रह्यो ५ वर्षे कार्यकाल?
उपमेयरको रूपमा कार्यकाल धेरै राम्रो भयो। स्थानीय तहमा महिलाहरूले अवसर पाएको यो पहिलो पटक हो। ७५३ पालिकामा १८ जना त मेयर नै छन्। भने ९६% उपमेयर छन्।
आफ्नो क्षमता अभिवृद्धि गर्ने ठाउँमा जान पाइयो। जनतासँग मिलेर प्रत्यक्ष कामहरू गर्ने मौका पाइयो।
राजनीति भन्नेबित्तिकै मानिसहरूको अर्कै धारणा हुन्छ। मेरो विचारमा राजनीति भनेको सेवा हो। काठमाडौं महानगरपालिकाको उपमेयरमा विजय भएर आइसकेपछिको आफ्नो कार्यकालबाट खुशी नै छु।
तपाईंको कार्यकालमा सम्झिनलायक कस्ता कार्यहरू सम्पन्न भए?
सायद मैले नजितेको भए रानीपोखरी, रानीपोखरी हुँदैनथ्यो होला। कंक्रिटको बन्थ्यो कि! अहिलेको शिखर-शैली जस्तो बन्दैनथ्यो होला।
टुँडीखेलमा ५१ वटा पसलको भीड देख्नुहुन्थ्यो होला। पशुपतिको मृगस्थली पछाडि बाटो खुलेको थियो। जुन जनताको लागि प्रयोग हुनको सट्टा गिट्टी बालुवा मात्र बोक्न प्रयोग हुन्थ्यो। त्यो पनि बन्द गर्न म सफल भएँ।
बौद्धमा किला ठोकेर झिलीमिली गरेको थियो। पुरातत्वमा केही स्वीकृति नलिई तराईमा जस्तो झिलीमिली रातो हरियो लगाएको थियो। तराई र काठमाडौं त फरक छ नि! त्यसलाई हटाउन जमर्को गर्न पाएँ।
अर्को भनेको स्वयम्भूको बुद्ध पार्कमा डोजर लगाउन पत्र आइसकेको थियो। मेयर सा'ब अगाडि बढ्नु भइसकेको थियो। त्यो पनि रोक्न सफल भएँ।
उपमेयरको रूपमा जति काम गर्न सकेँ त्यो चाहिँ सफलतापूर्वक गर्न सकेँ भन्छु।
उपमेयरको अधिकार क्षेत्रमा न्यायिक इजलास पनि पर्छ। त्यसमा कस्ता मुद्दाहरू हेर्नुभयो?
घरेलु मुद्दा बढी आउने भनेको दाजुभाइको झगडा हो। यहाँको रैथानेहरू, खस– आर्य, नेवार वा जनजाति जो होस्, उनीहरूको ठूलो ठूलो जग्गाहरू हुन्छ। अनि छोराहरू पनि धेरै।
त्यस्तो घरमा सबै छोराहरूलाई राख्दा पछि छुट्टिने बेलामा बाटो त एउटै हुन्छ। त्यस्तो अवस्थामा जग्गा बेचबिखन गर्नुपर्योे भने बाटोको विषयमा चाहिँ धेरै लफडा हुनेगर्छ।
त्यस्तै अर्को भनेको कोठा भाडाको मुद्दा हो। जमीन त अब कतै पनि खाली नै छैन। ७७ वटै जिल्लाको मानिसहरू यहाँ छन्। जसको लागि मानिसहरू कोठा भाडामा लगाउने भन्दै थुप्रै लगानी गरेर बसिरहेका छन्।
फेरि हामीले २५ लाखभन्दा माथिको हेर्न नमिल्ने हुन्छ। त्यसको लागि चाहिँ म संघीय सरकारलाई पनि उपत्यका महानगरलाई छोड्दिनुपर्छ भन्न चाहन्छु।
कानूनले बाँधेर हुँदैन। कानून हामी आफैँ बनाई हाल्छौं। महानगरले पनि ऐन कानून बनाउन सक्ने प्रावधान छ।
तर, अहिले सरकारले दूर दराजको गाउँपालिका र महानगरपालिकालाई एउटै दृष्टिकोणले हेर्छ। त्यस्तो गरेर हुँदैन।
उपमेयर बजेट तथा कार्यक्रम तर्जुमा समितिको उपाध्यक्ष/सञ्योजक बन्ने अधिकार पनि छ। त्यो अधिकार प्रयोग गर्न पाउनुभयो कि भएन?
पाइनँ। प्रमुखले नै सबै तयारी गरेर ल्याउनुहुन्छ। कता-कता बजेट छुट्याउने, कति बजेट छुट्याउने हो उहाँले सबै पहिल्यै तयारी गरेर आउनुहुन्छ। संघ संस्थाको कामहरूमा पनि पछि मात्र मेरो सल्लाह लिन खोज्नुहुन्छ। विकास निर्माणको कामहरू सबै उहाँको हातमा आइसकेको हुन्छ पहिले नै।
एक त म कांग्रेसबाट विजयी भएर आएको। सबैभन्दा बढी त राजनीतिक दृष्टिकोणले हेर्ने भए। अर्को म महिला पनि। यिनीहरूलाई किन सोधिराख्नुपर्योर भन्ने भावना आएको हुनसक्छ उहाँलाई।
आफ्नो अधिकारहरू प्रयोग गर्न नपाउँदा मनमा चिसो त हुन्छ नै। मैले मेरो अधिकारहरू प्रयोग गर्न पाउनुपर्योो भन्दा मैले कहाँ रोक्या छु र भन्नुहुन्छ। तर, काम त केही देखिएको छैन।
अनुगमन समितिमा के के काम गर्नुभयो?
अनुगमन समितिमा पनि गाह्रो छ। अनुगमनमा जाँदा बिग्रिएको, बेच्न नहुने सामान देख्यो भने उठाएर ल्याउनु त पर्यो नि।
त्यसको लागि कर्मचारी आवश्यक पर्यो। गाडीहरू आवश्यक पर्यो। त्यस्तो बेला मेयर सा'ब गाडी चाहिँ नभई नहुने भयो भन्दा त्यो पनि पूरा हुन सकेन। जनताले देखिने गरेर काम गर्न सकेनौँ।
उहाँले तुरुन्तै १/२ वटा गाडी चाहियो भन्नुभएको भए त कर्मचारीहरूले काम त गर्थे नि! भन्दा चाहिँ अनुगमनको अधिकार उपमेयरको भनेर भन्दिने तर त्यसलाई कार्यान्वयन गर्नको लागि स्वीकृति लिँदा पनि काम पूरा नहुने।
कोभिड महामारीले तपाईंको कार्यकालमा कस्तो असर गर्यो?
एकदमै ठूलो असर पर्यो। पहिलो लहरको कोभिडमा त आखाँबाट आँसु नै झार्नुपर्यो। मेयर सा'ब पनि कोभिड लग्यो भनेर सोल्टीमै बस्नुभयो। त्यतिबेला उहाँले मलाई जिम्मेवारी सुम्पिनु भएको पनि थिएन।
त्योबेला मेरो फोन बजेको बज्यै गर्ने। मानसिक रूपमा पनि एकदमै टर्चर भएको थियो। जब कोभिडको संक्रमण नेपालमा देखापर्योर म आफैँ नाकामा गएर अब नाका बन्द गर्नुपर्छ भने।
त्यतिबेला काठमाडौं, ललितपुर र भक्तपुरमा कोभिडको संक्रमण देखिएको थिएन। म नागढुंगा हुँदै दक्षिणकालीको नाका र धुलिखेलसम्म गएँ नाका बन्द गराउनको लागि। तर त्यति बेला प्रतिपक्षले राजनीति गर्यो भन्न थाले।
तर सबैले मेरो कुरा मानेनन्। हामीसँग पूर्वतयारी केही पनि थिएन। जसबाट हामीले धेरै जनता गुमाउनुपर्यो।
दोस्रो पटकको कोभिडमा चाहिँ प्रत्येक वडाका मानिसहरूलाई खाद्यान्न उपलब्ध गर्यौं। अन्य कार्यहरू त ठप्प नै भयो।
आफ्नो कार्यकालमा कस्तो चुनौतीहरू सामना गर्नुपर्यो?
काठमाडौं महानगरपालिका एउटा सम्पन्न संस्था हो। हाम्रो चुनौतीहरू नहुने भन्ने छैन।
जनताले मेयरलाई जति अधिकार छ, उपमेयरलाई पनि त्यति नै अधिकार छ भन्ने सोच्छन्। सबैलाई म त्यस भ्रमबाट मुक्त गराउन चाहन्छु।
जस्तै, मेयर सा'बले कति ठाउँमा बेथिति गर्नुभएको छ त्यसबारे मलाई धेरै प्रश्न आउँछ। उहाँको त प्रायः जसो फोन पनि नउठ्ने रहेछ। अनि सबैले मलाई फोन गर्छन्। तपाईंले के गर्नुभएको भनेर मलाई पो सोध्छन्।
उदहारणका लागि, १०–१५ दिन मात्र भयो वसन्तपुरमा उहाँले कंक्रिटको झण्डा बनाउनुभयो। वसन्तपुर सबैले सम्हालेर राखेको ठाउँ हो। उहाँ मेयर हुनुभयो भन्दैमा जहाँ पनि जे पायो त्यही ठोक्दै हिँड्न भएन।
चाहे अनुसारले म अघि बढ्न सकिनँ। मैले गर्छु भनेर सोचेको कुरा पूरा हुन सकेन। मेरो अधिकारमा परेको कार्यहरूको लागि समेत मेयरको स्वीकृति लिनुपर्ने भयो। हरेक कुरामा मेयरको स्वीकृति लिन नसक्ने भएँ।
त्यसो भए मेयरसँग राम्रो सहकार्य हुन सकेन ?
त्यसको लागि सबैभन्दा पहिला त उपप्रमुखको के के अधिकार छ भन्ने बुझ्नुपर्ने हुन्छ। उपप्रमुखले ४ वटा अधिकारहरू पाएको छ।
०५४ सालमा उपप्रमुखको केही पनि अधिकार थिएन। कार्यवाहक लिनेसम्म अधिकार पनि थिएन। अहिले मेयर बाहिर गएको अवस्थामा कार्यवाहक उपप्रमुखलाई नै दिनुपर्ने हुन्छ।
अहिलेको उपमेयरले पाएको ४ वटा अधिकारमा न्यायिक समिति, बजेट तथा तर्जुमा समिति, अनुगमन समिति र राजश्व समिति पर्छ।
यो अधिकारहरू लिएर काम गर्दा धेरै जनतासँग प्रत्यक्ष काम गर्न पाइन्छ। राजश्व उठाउनेदेखि सबै काम उपमेयरले नै गर्नुपर्यो नि त।
तर, चाहे अनुसारले म अघि बढ्न सकिनँ। मैले गर्छु भनेर सोचेको कुरा पूरा हुन सकेन। मेरो अधिकारमा परेको कार्यहरूको लागि समेत मेयरको स्वीकृति लिनुपर्ने भयो। हरेक कुरामा मेयरको स्वीकृति लिन नसक्ने भएँ।
महिलाहरू अगाडि बढ्न नसक्ने कारण यही रहेछ भन्ने प्रष्ट भयो। जबसम्म मेयरले स्वीकृति दिँदैन कर्मचारीले पनि काम त गर्दैन नि। मेरो कुरालाई सहर्ष रूपमा मेयरले कहिले पनि सहमति जनाउनु भएन।
जस्तो राजश्व परामर्श समितिमा मैले सुरुआती दिनदेखि नै कर्मचारीलाई डेटाको बारेमा प्रश्न गरेँ। डेटाहरू कहाँ छन् त्यो मिलाउनपर्यो भन्दा, महानगरपालिकामा डेटा नै रहेनछ।
१ देखि ३२ वडासम्म कसैको पनि डेटा छैन। डेटा नभएपछि त काम गर्न सकिँदैन। कुनै हालतमा सकिँदैन।
त्यसकारण मैले मेयर सा'बलाई अब डेटा कलेक्सनको लागि भर्खरको युवाहरूलाई रोजगार दिएर २/३ महिनाभित्र डेटा कलेक्सन गरौँ, उनीहरूलाई पकेट खर्च पनि हुन्छ भनेँ।
यसको लागि ८/९ करोड छुट्याउनुपर्योभ भनेँ। छुट्याइयो पनि। तर त्यो काम अगाडि नै बढेन।
मैले पटक पटक बोर्डमा पनि यो कुरा उठाएको छु। डेटा नभई हामी अघि बढ्न सक्दैनौँ भन्दा उहाँले अगाडि हुन्छ भन्नुहुन्छ तर कार्यान्वयनमा पहल गर्नुहुन्न।
जस्तै भने पनि प्रमुख भनेको प्रमुख नै हो। प्रमुखले नभनेसम्म अरू कुरा हुँदैन। कर्मचारीहरू पनि उपप्रमुखले निर्देशन दिए पनि प्रमुखकै निर्णय कुरेर बस्छन्।
मेयरले किन हस्तक्षेप गरे त?
मेयर सा'ब सल्लाह गर्न नखोज्ने। तपाईंहरू पत्याउनुहुन्न होला, काठमाडौंको विकासबारे आजसम्म मेयरसँग सल्लाह भएको छैन।
उहाँले सल्लाह भएको छ भन्नुहुन्छ तर खै मेरो त भएको छैन। म के भनौँ अब। न पार्टीगत रूपमै हो कि! मेरो कार्यकाल नै सकिन लागिसक्यो मैले कुरै बुझ्नसक्या छैन। उहाँको प्रवृत्ति नै मैले बुझ्न सकिनँ।
म यसै सन्दर्भमा के जोड्न चाहन्छु भने, एउटा मिटिङमा उहाँले बोल्नुभएको छ। “मलाई खुशी पार्नुपर्छ अनि म जे पनि दिन्छु“ भनेर।
खुशी भन्या के हो? के गर्दा खुशी हुनुहुन्छ उहाँ? खुट्टा समात्नपर्यो कि! मलाई खुशी पार्नुपर्छ भनेर एउटा महिलालाई भन्नु त एकदमै नराम्रो कुरा हो नि।
मेयरमा दावी रहने कुरा साँचो हो? के गर्ने योजना छ त?
मेयरमा मेरो दावी रहन्छ। ५ वर्षसम्म मेरो इच्छा पूरा हुन नसकेकोले, धोको पुर्याएर काम गर्न नपाएकोले म मेयरमा उठ्छु।
मेयर भएर ५ वर्ष निष्कलंक काम गर्न चाहन्छु। मैले टिकट मागी नै राख्या छु। म के कुरामा असक्षम छु र। ५ वर्षेको कार्यकालमा धेरै काम सिक्न पाएँ। जानी पनि सकेको छु। महिलालाई पनि विश्वास गर्न सक्नुपर्यो।
योजना भनेर त्यस्तो बनाइराखेको त छैन। म काठमाडौंलाई सांस्कृतिक शहरको रूपमा विकास गर्न चाहन्छु। स्मार्ट सिटी त यो पहिले नै थियो नि।
त्यस्तै महिलालाई आर्थिक क्रान्तिमा अगाडि बढाउन चाहन्छु। मैले विशुद्ध गृहिणी महिलाहरूलाई भत्ता दिनुपर्यो भन्ने आवाज उठाएको छु। नेपाल सरकारले एक सय रुपैयाँ मात्र पनि दिन पहल गर्यो। भने बाँकी महानगरपालिकाले गर्नेछ।
अर्को शिक्षा र स्वास्थ्यलाई गुणस्तरीय बनाउन चाहन्छु। काठमाडौं महानगरपालिकाको छुट्टै अस्पताल बनाउने पनि मेरो इच्छा छ।
चैत १३, २०७८ आइतबार १७:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।