'भद्र सहमति' अनुसार लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसको दावी

'भद्र सहमति' अनुसार लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसको दावी

बुटवलः लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शङ्कर पोखरेललाई सत्ताच्यूत गर्दा भएको आलोपालो सरकार चलाउने भद्र सहमति कार्यान्वयन गर्न नेपाली कांग्रेस लुम्बिनीले माग गरेको छ। पोखरेललाई मुख्यमन्त्रीबाट हटाउँदा माओवादी र कांग्रेसबीच ८/८ महिना सरकार सञ्चालन गर्ने भद्र सहमति भएको थियो।

माओवादी नेतृत्त्वको सरकार सञ्चालन अवधि सकिन लागेको भन्दै कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई पत्र पठाएको छ।

यसअघि कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा समर्थन गर्दा आठ महिनापछि कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कानौडियालाई मुख्यमन्त्री बनाउने सहमति भएको थियो। हाल सहमति कार्यान्वयन गर्न देउवालाई पत्र पठाएको कांग्रेस लुम्बिनी प्रदेशका प्रमुख सचेतक फखरुद्दिन खानले बताए।

भद्र सहमति दुवै पक्षले इमानदारीका साथ पालना गर्न र गराउनका लागि संसदीय दलले देउवालाई पत्र पठाएको हो।

माओवादी केन्द्रका नेता सुदर्शन बरालले भद्र सहमति कार्यान्वयनका लागि तयार भए पनि निर्वाचन नजिकै भएकाले यसबारे पार्टी केन्द्रले निर्णय गर्ने बताए।

चैत १३, २०७८ आइतबार १०:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।