अचेल पर्यटकको उत्साह देखिँदैन लुम्बिनीमा [फोटोफिचर]

अचेल पर्यटकको उत्साह देखिँदैन लुम्बिनीमा [फोटोफिचर]

बुटवलः वसन्त ऋतुमा लुम्बिनी क्षेत्रमा पर्यटकको ताँती नै लाग्थ्यो। आन्तरिक र बाह्य पर्यटकले लुम्बिनी गुलजार हुन्थ्यो।

दुई वर्ष भयो, लुम्बिनी तङ्ग्रिन सकेको छैन। कोरोना महामारीपछि थोरै थोरै तङ्ग्रिने क्रममा त छ, तर पर्यटकको उत्साह लुम्बिनीमा देखिँदैन। 

अरू त अरू स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकको संख्यामा पनि सुधार हुन सकेको छैन। महामारीको प्रकोप कम हुँदै गर्दा पर्यटक आगमन सुधार हुने अपेक्षा गरिए पनि सन्तोषजनक छैन।

अध्यागमन कार्यालय बेलहियाका प्रमुख दिनेश ज्ञवालीका अनुसार तेस्रो मुलकबाट लुम्बिनीमा आउने पर्यटकको संख्या न्यून छ। भारतबाट आउने छिटपुट पर्यटक र आन्तरिक पर्यटकले मात्र अहिले लुम्बिनीमा केही चहलपहल छ। 

स्थलमार्ग हुँदै नेपाल आउने पर्यटक भारतको बाटोबाट आउँछन्। तर, भारतले कोरोनाका कारण तेस्रो मुलुकका पर्यटक आगमनमा रोक लगाएको छ। त्यसको असर लुम्बिनीमा देखिएको ज्ञवाली बताउँछन्।

हुन त तेस्रो मुलुक र भारतीय पर्यटक लुम्बिनी भ्रमणपश्चात सोही दिन बाहिरी जिल्लामा बास बस्न जाने भएकाले व्यवसायीले फाइदा लिन पाएका थिएनन्।

लुम्बिनी आएका मध्ये मुस्किलले १० प्रतिशत पर्यटक मात्र यहाँ रात बिताउने गरेको बताइन्छ। विगतमा समेत यस्तो अवस्थाबाट गुज्रिरहेको पर्यटन क्षेत्र महामारीले झनै थिलथिलो भएको छ।

अध्यागमन कार्यालयको तथ्यांकअनुसार कोरोना महामारीका कारण सन् २०२१ मा आठ सय १२ जना मात्रै तेस्रो मुलुकका पर्यटक स्थलमार्ग बेलहिया नाका हुँदै नेपाल आएका थिए। सन् २०२२ को दुई महिनामा एक सय ३२ जना मात्रै आएका छन्। 

बुद्धिष्ट मुलुक थाइल्याण्ड, श्रीलंका, म्यानमारबाटै पर्यटक थोरै आएका छन्। अमेरिका, भियतनाम, इण्डोनेसिया, युक्रेनका पर्यटक आगमन पनि राम्रो छैन।

चैत १३, २०७८ आइतबार ०७:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।