कर्णाली प्रदेशमा २९ वटा मतदान स्थल सुरक्षाको दृष्टिले अति संवेदनशील
सुर्खेत : कर्णाली प्रदेश निर्वाचन कार्यालयले स्थानीय तह निर्वाचनमा सुरक्षाकर्मीबाहेक करिब १२ सय कर्मचारी आवश्यक पर्ने जनाएको छ। निर्वाचन व्यवस्थापनका लागि जनशक्ति व्यवस्थापन, मतदान केन्द्रको अवलोकन, जिल्ला सुरक्षा समिति र स्थानीय तहसँग समन्वयको काम गरिरहेको प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले बताए।
उनका अनुसार वीरेन्द्रनगरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र अन्य स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ। ती कार्यालयमार्फत निर्वाचन सामग्री, कर्मचारी मतदान स्थलमा परिचालन गरिनेछ।
‘निर्वाचनमा खटिने कर्मचारीको व्यवस्थापनका लागि तीनै तहका सरकारी कार्यालयबाट विवरण सङ्कलन गरिरहेका छौँ,’ उनले भने, ‘मतदान अधिकृतदेखि केन्द्रमा खटिने कर्मचारीको व्यवस्थापनका लागि जिल्ला प्रशासन र स्थानीय तहसँग समन्वय भइरहेको छ।’
सुर्खेतमा दुई लाख ३८ हजार २०० मतदाता कायम भएका छन्। जिल्लाका नौ स्थानीय तहका १ सय ३८ स्थलमा २ सय ९२ मतदान केन्द्र प्रस्ताव गरिएको उनले बताए।
२०७४ को स्थानीय तहको निर्वाचनमा दुई सय ६३ वटा मतदान केन्द्र थिए। मतदान स्थल भने फेरबदल नहुने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। २९ वटा मतदान स्थललाई सुरक्षाको दृष्टिले अति संवेदनशील स्थानका रूपमा राखिएको छ। सडक सञ्जाल, सञ्चार र विगतमा भएका झडपको आङ्कलन गरी सुरक्षा समितिले संवेदनशील स्थानका रूपमा हेरेको हो।
त्यहाँ खटिने शिक्षक–कर्मचारीका अतिरिक्त सुरक्षाका लागि करिब १२ सय म्यादी प्रहरी परिचालन गरिने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। स्थानीय तहको निर्वाचन प्रयोजनका लागि सुर्खेतमा १९ राजनीतिक दल सक्रिय छन्। वि.सं २०७४ को स्थानीय तहको निर्वाचनमा पनि यहाँ १९ दलले भाग लिएका थिए।
कर्णालीका १० जिल्लाकै अन्य निर्वाचन कार्यालयहरूले पनि जनशक्ति व्यवस्थापन लगायतका काम अघि बढाएको प्रदेश निर्वाचन अधिकारी चालिसेले बताए। नयाँ कति दल निर्वाचनमा सहभागी हुने र मतपत्रमा कति चिह्न हुने भन्नेबारे छानबिनपछि मात्रै टुङे लाग्ने चालिसेको भनाइ छ।
चैत १२, २०७८ शनिबार २१:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।