एक करोड १४ लाखको भेन्टिलेटर खरिदमा रेडक्रसमा चलखेल, निश्चित कम्पनीलाई ठेक्का दिन मापदण्डै बदलियो
काठमाडौँ : नेपाल रेडक्रस सोसाइटीका लागि खरिद गर्न लागेको आइसियु भेन्टिलेटर ठेक्का आफू निकटलाई दिन प्राविधिक तथा आर्थिक मापदण्ड बदलेको खुलेको छ। प्रारम्भमै भएको बोलपत्रमा कम्पनी छानिइसकेपछि उसले प्राविधिक तथा आर्थिक मापदण्ड संशोधन गर्दै निश्चित कम्पनीको मापदण्ड मात्र पुग्ने गरी स्पेशिफिकेशन बदलेको हो।
बोलपत्रमा ‘प्रुडेण्ट मेडिटेक इन्टरनेश्नल’ दुवै मापदण्डमा छनौट भएर अन्तर्राष्ट्रिय रेडक्रसले समेत स्वीकार गरिसकेको थियो। करिब एक करोड १४ लाख ८० हजार मूल्यको भेन्टिलेटर खरिदका लागि सप्लायर्स कम्पनी छनोट भइसके पनि पछि पुन टेन्डर गर्दा मापदण्ड बदलेको हो।
रेडक्रसले सो सप्लायर्सलाई भेन्टिलेटर खरिदका लागि अन्तिम सम्झौता समेत गरेन। न त टेन्डर रद्द भएको औपचारिक जानकारी नै दियो। बरु त्यही भेन्टिलेटर खरिदका लागि ‘इन्टरनेश्नल फेडरेशन अफ रेडक्रस एन्ड रेडक्रिसेन्ट सोसाइटी (आइएफआरसी)’ले पुनः टेन्डर गरेको छ।
पहिला छनौट भइसकेको कम्पनीसँग खरिद सम्झौता नगरी किन खरिदको मापदण्ड बदलेर पुन टेन्डर गरेको हो सोबारे न नेपाल रेडक्रसले केही खुलाएको छ न त आइएफआरसीले नै जानकारी दिएको छ।
नेपाल रेडक्रस सोसाइटिले भदौ २९ (सन् २०२१ सेप्टेम्बर १४) मा पाँच वटा आइसियु भेन्टिलेटर खरिदका लागि टेन्डर आव्हान गरेको थियो। टेन्डरमा असोज ३१ (अक्टोबर १७) सम्म प्रस्ताव पेस गरिसक्नुपर्ने गरी एक महिनाको म्याद राखिएको थियो।
भर्खर जन्मिएको बच्चादेखि वयस्कका लागि मिल्ने भेन्टिलेटर खरिदका लागि टेन्डर आह्वान भएको थियो। टेन्डरमा भनिएको थियो,‘आइसियु भेन्टिलेटर फर नेओनेट टु एडल्ट।’
सो टेन्डर आह्वान भए अनुसार भेन्टिलेटर ल्याइदिनका लागि सप्लायर्स कम्पनी तथा भेण्डरले प्रस्ताव पेस गरे। रेडक्रसका खरिद व्यवस्थापन शाखा प्रमुख पदम आचार्यका अनुसार रेडक्रसले कोभिड–१९ रेस्पोन्स कार्यक्रम अन्तर्गत पाँच वटा भेन्टिलेटर खरिदका लागि प्रक्रिया अगाडि बढाएको थियो। आचार्यका अनुसार ४ र ५ वटा सप्लायर्स कम्पनी तथा भेन्डरले प्रस्ताव पेस गरेका थिए।
त्यसपछि सप्लायर्सले पेस गरेका प्रस्तावको रेडक्रसले प्राविधिक मूल्याङ्कन गर्यो। प्राविधिक मूल्याङ्कनको क्रममा ‘प्रुडेण्ट मेडिटेक इन्टरनेश्नल’ सप्लायर्स भेन्टिलेटर खरिदका लागि प्राविधिक रूपमा छनोट भएको थियो।
आर्थिक रूपमा पनि यो कम्पनी भेन्टिलेटर खरिदका लागि योग्य रहेको समितिले मूल्याङ्कन प्रतिवेदनमा उल्लेख छ। रेडक्रसका खरिद प्रमुखले प्रस्तावहरू प्राविधिक रूपमा योग्य छन् छैनन् भनेर प्राविधिक विश्लेषण भएकामध्ये भेन्टिलेटर खरिदका लागि प्राविधिक रूपमा ‘प्रुडेण्ट मेडिटेक इन्टरनेश्नल’ छनोट भएको जानकारी दिए। आर्थिक रूपमा पनि यो सप्लायर्स कम्पनी छनोट भयो।
प्राविधिक तथा आर्थिक दुवै रूपमा छनोट भइसकेपछि रेडक्रस र आइएफआरसी’का प्रतिनिधिले भेन्टिलेटर खरिदका लागि छनोट भएको प्रुडेण्ट मेडिटेक इन्टरनेस्नलको भेन्टिलेटरको निरीक्षण समेत गरेका थिए। निरीक्षणको क्रममा भेन्टिलेटर ठिक देखिएको आचार्यले जानकारी दिए।
उकेरालाई प्राप्त तथ्य अनुसार नेपाल रेडक्रस सोसाइटीले मङ्सिर २० गते प्रुडेण्ट मेडिटेक इन्टरनेस्नललाई पत्र लेख्दै ‘...प्राविधिक र आर्थिक छुट्टाछुट्टै सिलबन्दी बोलपत्र आह्वान गरिएकोमा प्राप्त प्राविधिक बोलपत्रहरू मिति २०७८-०७-०२ खोली सो को प्राविधिक मूल्याङ्कन गर्न नेपाल सरकार स्वास्थ्य सेवा विभाग टेकुबाट १ जना बायो मेडिकल इन्जिनियर सहितको सहभागितामा सबै प्राविधिक बोलपत्रहरूको प्राविधिक मूल्याङ्कन गरी प्राप्त लिखित प्राविधिक मूल्याङ्कन प्रतिवेदन अनुसार त्यस फर्मले पेस गरेको प्राविधिक प्रस्ताव सोसाइटीको स्पेशिफिकेशन अनुसार भएको पाइएको’ उल्लेख छ।
प्रुडेण्ट मेडिटेक इन्टरनेस्नलका अनुसार स्पेशिफिकेशन अनुसारकै भेन्टिलेटर पाउने भएपछि रेडक्रसले मौखिक रूपमा केही समयमा नै भेन्टिलेटर खरिदका लागि अन्तिम सम्झौता हुने आश्वासन दियो।
तर, रेडक्रसले भेन्टिलेटर खरिदका लागि प्रुडेण्ट मेडिटेक इन्टरनेस्नलसँग सम्झौता गरेन। इन्टरनेस्नलका अनुसार रेडक्रसले न खरिदका लागि सम्झौता गर्ने पत्र पठायो न कुनै भेन्टिलेटर लिने/ नलिनेबारे जानकारी नै दियो। उसले टेन्डर रद्द पनि गरेन।
आचार्यले रेडक्रसको महासचिवले रद्द भएको स्वीकृत गर्नुपर्ने भए पनि पदाधिकारी विवादका कारण त्यो पनि सम्भव नभएको दाबी गरे। उनले भने,‘टेन्डर प्रक्रिया रद्द भयो भनेर सूचना निकाल्न पनि अहिले सकिएको छैन।’ भुक्तानी दिन पनि नसक्ने र अन्तिम निर्णय गर्न पनि नसक्ने अवस्थामा रेडक्रस रहेको उनको तर्क छ।
खरिदमा आइएफआरसिको खेल
आचार्यका अनुसार रेडक्रसले भेन्टिलेटर खरिद प्रक्रियाको सबै कागजपत्र छाता संस्था नेपाल प्रतिनिधिमार्फत आइएफआरसिको क्षेत्रीय कार्यालयमा पठाएको थियो। आइएफआरसिले भेन्टिलेटर खरिदका लागि अन्तिम स्वीकृति दिनुपर्ने थियो। तर, नेपाल रेडक्रस सोसाइटीको पदाधिकारी विवाद भएकाले भेन्टिलेटर खरिद सम्झौताका लागि आइएफआरसिले भेन्टिलेटर खरिदको अन्तिम सम्झौताका लागि स्वीकृति दिएन।
पदाधिकारीको वैधानिक विवादका कारण भुक्तानीमा समस्या हुने भन्दै आइएफआरसिले अन्तिम स्वीकृति नै नदिएको उनको दाबी छ। आचार्यले भने,‘छनोट हामीले गरे पनि अन्तिम स्वीकृति उसले नदिईकन, ५० हजार भन्दा माथिको रकम हामीले भेन्डरलाई पर्चेच अर्डर र एग्रिमेन्ट गर्न मिल्दैन।’
वैधानिक कारण देखाउँदै आइएफआरसिले बरु आफैँ भेन्टिलेटर खरिद गरिदिने जानकारी गराएको आचार्यले सुनाए। उनले भने,‘अन्तिम स्वीकृति दिनुपर्ने ठाउँमा उसले वैधानिक कारण देखाउँदै अहिलेलाई नगर। बरु हामी खरिद गरिदिन्छौ भनेको हो।’
आचार्यका अनुसार रेडक्रसमा बजेट पनि नभएको हैन। तर, भेन्टिलेटरको भुक्तानी एक करोड भन्दा माथि भएकाले भुक्तानी दिनै समस्या हुने भएपछि अन्तिम सम्झौता नभएको उनले दाबी गरे।
रेडक्रसले खरिद प्रक्रिया अगाडि बढाइसकेकाले त्यही खरिद प्रक्रियालाई स्वीकृत गरेर भेन्टिलेटर ल्याइदिन आइएफआरसिलाई अनुरोध गर्दा अस्वीकार गरेको रेडक्रसको दाबी छ।
आइएफआरसिले अस्वीकार गरेपछि बजेट नै फर्किने भएकाले रेडक्रसले आइएफआरसिलाई भेन्टिलेटर खरिदका लागि सहमति दिएको आचार्यले जानकारी दिए। उनले भने,‘सहमति त हामीले दिनुपर्छ। इमेलमार्फत दिएको हो।’
त्यसपछि आइएफआरसिले आफैँ भेन्टिलेटर खरिद गरिदिने प्रक्रिया अगाडि बढाएको रेडक्रसका खरिद व्यवस्थापन शाखा प्रमुख आचार्यको दाबी छ। रेडक्रसले भुक्तानी गर्न समस्या निम्तिएपछि भेन्टिलेटर खरिदको आइएफआरसिले चैत पाँच गते (सन् २०२२ मार्च १९ मा) टेन्डर आह्वान गर्यो। मार्च १९ मा एक हप्ता भेन्टिलेटर खरिदका लागि प्रस्ताव गर्ने समय दिएर टेन्डर आह्वान भएको थियो। मार्च १९ देखि २८ सम्म टेन्डर प्रस्तावको मिति राखियो। स्रोतका अनुसार शनिवार र आइतबार आइएफआरसिको कार्यालय बिदा हुन्छ। त्यसैले एक हप्ता मात्र प्रस्ताव पेस गर्ने समय हो।
आइएफआरसिको स्पेशीफिकेशनमा शङ्का
टेन्डर आह्वान गर्दा प्रस्ताव पेस गर्ने तयारीमा रहेका सप्लायर्सलाई आइएफआरसिले इमेल मार्फत स्पेशिफिकेशन उपलब्ध गराएको थियो। जुन स्पेशिफिकेशन रेडक्रसले टेन्डर आह्वान गर्दा तयार गरेको स्पेशिफिकेशन नै थियो। आइएफआरसिले भेन्टिलेटर खरिदका लागि आह्वान गरेको टेन्डरको लागि एकाएक बिहीबार (मार्च २४ मा) स्पेशिफिकेशन नै परिवर्तन गर्यो।
‘सुरुमा आइएफआरसिले रेडक्रसले नै तयार गरेको स्पेशिफिकेशन पठाएको थियो। बिहीबार त स्पेशीफिकेशन नै परिवर्तन गरेछ,’स्रोतले भन्यो।
एकाएक रेडक्रसको स्पेशीफिकेशन परिवर्तन गरेर आइएफआरसिले ‘भियर’ कम्पनीको ‘बेलाभिष्टा’ मोडलमा मिल्ने स्पेशीफिकेशन बनाएको स्रोतको दाबी छ। उकेरालाई प्राप्त डकुमेन्टमा आएफआरसिले सुरुमा जारी गरेको भेन्टिलेटरको प्राविधिक स्पेशिफिकेशनको बुँदा नं. ४.२ मा भएको भेन्टिलेशनको मोडलै परिवर्तन गरी नयाँ स्पेशिफिकेशन को बुँदा नं. ४.४ मा राखेको छ।
उकेरालाई प्राप्त दुवै स्पेशिफिकेशन हेर्दा सुरुमा जारी भएको स्पेशीफिकेशनको बुँदा नं ४.४ को (ए) मा भेन्टिलेटरको ‘टाइडल भोलम’ कम्पनीमा दुई एमएलदेखि दुई हजार एमएल हुनुपर्ने उल्लेख छ। तर, परिवर्तित स्पेशिफिकेशनको बुँदा नं. ४.७ मा टाइडल भोलम दुई देखि २५ सय एमएल हुनुपर्ने उल्लेख छ। जुन बेलाभिष्टा कम्पनीसँग मिल्ने स्पेशिफिकेशन हो।
त्यसै गरी आइएफआरसिले परिवर्तन गरी नयाँ बनाइएको स्पेशिफिकेशनको बुँदा नं. ४.८ देखि ४.२१ सम्म बेलाभिष्टासँग सिधै मिल्ने स्पेशिफिकेशन भएको स्रोतको दाबी छ। स्रोतले भन्यो, ‘आइएफआरसिले बिहीबार परिवर्तन गरेको स्पेशिफिकेशन पुरै परिवर्तन भएको छ। यो त बेलाभिष्टासँग मिल्ने गरी स्पेशिफिकेशन बनाइएको छ।’
स्पेशिफिकेशन परिवर्तन भएको विषयमा जिज्ञासाका लागि उकेराकर्मी कालीमाटीस्थित आइएफआरसिको कार्यालयमा पुग्दा सम्बन्धित अधिकारीले भेट्न स्वीकार गरेनन्। रेडक्रसका कार्यकारी निर्देशक उमेश ढकालसँग जिज्ञासा राख्दा यसबारे बोल्न चाहेनन्।
चैत १२, २०७८ शनिबार १२:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।