माओवादी र एमालेका उच्च नेताको चीन भ्रमण : ‘चुनावमा विदेशीले चलखेल गर्छन् भन्ने अनि आफैं सल्बलाउने ?’

काठमाडौं : प्रमुख प्रतिपक्षी एमाले र सत्तारुढ माओवादी केन्द्रका शीर्ष नेताहरूको दौडधुप उत्तरी छिमेकी चीनतर्फ बढेको छ। वाम गठबन्धनको चर्चा चलिरहँदा शीर्ष नेताहरुको चीन भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
पार्टी उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा एमालेको टोली चीन गएको पाँच दिनपछि माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङको टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ। पौडेलको टोली गत सोमबार चीन गएको थियो।
चीनको कुन्मिङमा आयोजना हुने ‘इकोनोमिक को अपरेसन एण्ड कल्चरल एक्सचेन्ज’ कार्यक्रममा सहभागी हुन उनीहरु चीनमा छन्। एमालेको टोलीमा उपाध्यक्ष पौडेल, स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, एमाले लेखा आयोगका अध्यक्ष पुष्पराज कँडेल र केन्द्रीय सदस्य मीना रखाल छन्। उनीहरु चैत १४ गते स्वदेश फर्कने एमालेले जनाएको छ।
शुक्रबार माओवादी केन्द्रका नेताहरू वर्षमान पुन, ओनसरी घर्तीमगर तथा देवप्रसाद गुरुङ चीन प्रस्थान गरेका छन्। तर पार्टीले भने राजनीतिकभन्दा फरक उद्देश्यले चीन भ्रमणमा नेताहरु गएको जनाएको छन्।
कोरोनापछि चिनियाँ पक्षले भौतिक रुपमा कार्यक्रम गर्न थालेको र एमालेको टोलीमा आर्थिक क्षेत्रसँग सम्बन्धित व्यक्तिहरु रहेको एमालेले बताएको छ। ‘पार्टीको दुई देशको सामान्य कुरा हुनु स्वभाविक हो। यसको अरु उद्देश्य छैन। चुनाव अलग कुरा छ। चुनावको बीचमा कसैले दिउँसो नुहायो भने दिउँसो नुहायो भन्नु आवश्यक छैन। दुई पार्टीको लामो सम्बन्ध छ। यो चुनावसँग जोडिँदैन,’ एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने।
अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन नेता गुरुङको टोली चीन गएको माओवादीले जनाएको छ। ‘एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन माओवादीको टोली चीन गएको हो। सम्भवत: सोमबार फर्कनुहुन्छ,’ माओवादी सांसद यशोदा सुवेदी गुरुङले उकेरासँग भनिन्, ‘अरु नेताहरु पनि युरोप, एसियाका लगायतका देश जान्छन्। चीन पनि जान्छन्, कुनै चासो रहँदैन तर, उहाँ (देव गुरुङ) चीन जाँदा किन चासो?’
माओवादी नेता वर्षमान पुन भने जण्डिस रोगको उपचारको फलोअपमा गएका हुन्। कूटनीतिक मामिलाका जानकारहरु भने निर्वाचन केन्द्रित राजनीतिक भेटघाट हुनु नेपाली राजनीतिको चलन नै रहेको बताउँछन्।
‘हाम्रोमा चलन नै भयो, विदेशीले चुनावको समयमा मुभमेन्ट गर्छन् भन्ने अनि हामी नै सल्बलाउने। फेरि पनि कम्युनिस्ट गठबन्धन बन्छ कि बन्दै भन्नेमा चिनियाँ चासो छ भन्ने मलाई लाग्छ,’ परराष्ट्र मामिलाका जानकार तथा राजनीतिक विश्लेषक डा. सञ्जीव हुमागाईंले भने। कम्युनिस्ट पार्टी भएका कारणले चीनले सदासयता राख्नु स्वभाविक रहेको हुमागाईं बताउँछन्।
स्थानीय चुनावमा यस्ता भ्रमणले कुनै प्रभाव नपर्ने माओवादी नेताहरुको बुझाइ छ। ‘संघीय चुनाव भएको भए सरकार बनाउन गए कि भन्ने हुन्थ्यो। स्थानीय चुनावमा त के अर्थ रहन्छ र?,’ माओवादी नेतृ सुवेदीले भनिन्। चिनियाँ विदेशमन्त्री नेपाल आएको समयमा नेपालमै कुरा हुने उनको भनाइ छ।
दक्षिण एसियाको भ्रमणको सिलसिलामा भारतमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउँदैछन्। २५ सदस्यीय भ्रमण टोलीसहित काठमाडौं उत्रिने वाङले शनिबार बिहान नेपालका समकक्षी डा. नारायण खड्कासँग भेटघाट गर्नेछन्।
शनिबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवा र आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्ने कार्यक्रम तय भएको छ। वाङले आइतबार नै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेपछि साँझ चीन फर्किने कार्यक्रम तय भएको छ।
नेपालको संसदबाट एमसिसी सम्झौता अनुमोदन भएपछि विदेशी उच्चस्तरीय अधिकारीको पहिलो नेपाल भ्रमण हुन लागेको हो। सोमबार पाकिस्तान पुगेका वाङ अफगानिस्तान, भारत हुँदै नेपाल आउन लागेका हुन्।
चैत १२, २०७८ शनिबार ०७:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।