पार्टी महाधिवेशनमा सन्यासी बनेका रामचन्द्र किन हुन खोज्दैछन् इतर गुटको नेता ?

पार्टी महाधिवेशनमा सन्यासी बनेका रामचन्द्र किन हुन खोज्दैछन् इतर गुटको नेता ?

काठमाडौँ : पार्टीको १४ औँ महाधिवेशनमा झन्डै राजनीतिक सन्यास लिएका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल स्थानीय तह निर्वाचन आउन २ महिना पनि बाँकी नहुँदा एकाएक आफ्नो पुरानो गुट जुटाउने अभ्यासमा लागे। महाधिवेशनमा भोट समेत हाल्न नगएका उनी पछिल्लो समय पार्टी सभापति शेरबहादुर देउवासँग निकट देखिएका थिए।

तर पार्टी स्थानीय तहको निर्वाचनको तयारीमा लागिरहेको बेला उनले एकाएक शुक्रवार पार्टीका संस्थापन इतर समूहका केन्द्रीय सदस्य र जिल्ला सभापतिहरूलाई बोहोराटारमा छलफलका लागि बोलाए। उनी निर्वाचनमा निष्क्रिय रहँदा संस्थापन इतर समूहका नेताहरू साख जोगाउन शेखर कोइरालाको समूहमा सक्रिय भएका थिए। उनले शुक्रवार बोहोराटारमा बोलाएका अधिकांश नेताहरू शेखरै समूहमा रहेकाहरू नै थिए।

यता शेखर समूह पार्टी सभापति देउवाले पार्टीमा एकलौटी गरेको भन्दै प्रतिवादको रणनीति बनाउँदै छ। नेपाल विद्यार्थी सङ्घ र नेपाल तरण दलको तदर्थ समिति बनाउँदा छलफल नगरेको भन्दै उनीहरू परिआए समानान्तर समिति बनाउने तयारीमा छन्।

शेखर समूह आगामी निर्वाचनमा सत्तामा रहेका अन्य दलहरूसँग गठबन्धन गर्न नहुने पक्षमा छन्। तर देउवा भने गठबन्धनकै पक्षमा देखिएका छन्। यही बेला सक्रिय हुने प्रयासमा रहेका पौडेलले संस्थापन इतर समूहका जिल्ला सभापतिहरूलाई बोहोराटारमा बोलाएर इतर समूहको नेता आफुनै भएको दाबी गर्नु र निर्वाचनमा गठबन्धन बनाएर जानुपर्ने धारणा राख्नुलाई शेखर समूहले शङ्कास्पद रूपमा लिएको देखियो।

पौडेलको गुट भेलामा शेखर समूहका प्रभावशाली नेताहरू गएनन्। जिल्ला सभापति बोलाएको भेलामा निवर्तमानहरुको सङ्ख्या धेरै थियो। हिजो पौडेल समूहमा रहेका केही नेता भेलामा सहभागी त भए तर उनीहरूले अब आफ्नो नेता शेखर भएको जवाफ दिएर फर्किए। उनलाई पूर्व महामन्त्री तथा केन्द्रीय सदस्य शशाङ्क कोइरालाको मात्रै सक्रिय साथ रहेको देखियो।

भेलामा शशाङ्क बाहेक कानु नमन्त्री दिलेन्द्रप्रसाद बडू, केन्द्रीय सदस्यहरू बलबहादुर केसी, सभापतिहरू रामसिंह रावल, जितप्रकाश आले, हिमाल श्रेष्ठ, सिन्धुपाल्चोकका निवर्तमान सभापति विकास लामा, धादिङका निवर्तमान सभापति रमेश धमला, कास्कीका निवर्तमान सभापति कृष्ण केसी, बागमती प्रदेशका महामन्त्री किरणबाबु श्रेष्ठलगायत नेता सहभागी थिए। पूर्व केन्द्रीय सदस्यद्वय दिलबहादुर घर्ती, हृदयराम थानी, सांसद मोहन पाण्डेय समेत भेलामा थिए।

पौडेलले भेला गरेर आफ्नो सङ्गठन यावत रहेको सन्देश दिन खोजेपछि बैठकमा सहभागी केन्द्रीय सदस्य बलबहादुर केसीले मुखै फोरेर १४ औँ महाधिवेशनपछि संस्थापन इतर पक्षको नेता शेखर कोइराला रहेको बताएका थिए।

‘टिमको हिसाबले १४ औँ महाधिवेशनमा हामी शेखर टिमबाट उठेकोले हाम्रो समूह नेता उहाँ नै हो भनेर मैले भनेँ,’ बलबहादुर केसीले भने।

अर्का केन्द्रीय सदस्य अर्जुननरसिंह केसीको भनाइ पनि बलबहादुरसँग मिल्दो देखियो।

‘उहाँका गतिविधिहरू अहिले इतर पक्षमा हो कि संस्थापन पक्षमा हो कि भन्ने प्रस्ट देखिँदैन। महाधिवेशनको सिलसिलामा तटस्थ भन्नुभयो। आउने दिनहरूमा उहाँको कुन खालको भूमिका देखिनुहुन्छ त्यस बेला भनौँला,’ केसीले भने।

संस्थापनले इतर पक्ष पौडेल र शशाङ्क मानेर अघि बढ्न खोजेको भन्ने कुरा तपाईँका साथीहरूले भनिरहेका छन्  नि भन्ने प्रश्नमा नेता केसीले भने,‘आ-आफ्नो षड्यन्त्र होला। जसले महाधिवेशनको सिलसिलामा शेरबहादुर देउवाको विपक्षमा मत दियो इतर पक्ष उही हो। परिस्थिति र घटनाक्रम कसरी विकसित हुन्छ हेर्दै जाऔँ।’

यता कांग्रेसका सह-महामन्त्री जीवन परियार जसले समूहको नेतृत्व गर्छ उही नेता हुने बताए। उनले भने ‘जसले लिड गरेको हो त्यही नै नेता। ४० प्रतिशत ल्याएर काम गरिरहेका छौँ।’

पौडेलको सक्रियतामाथि शेखर समूहको शङ्का

भेलामा पौडेलको अभिव्यक्तिले शेखर समूहलाई समेटेर भन्दा पनि उनी पार्टीभित्र अलग्गै चोथौँ गुट जन्माउने रणनीतिमा रहेको प्रस्टै देखियो। ‘उहाँले छुट्टै समूह बनाएर अघि बढ्ने बैठकमा चाहना राखेको देखियो,' ती नेताले भने'सभापति शेरबहादुर इतर टिमको तपाईँहरूको अभिभावक म नै हो, तपाईंहरूहरूको संरक्षण गर्छु भन्नुभयो।'

उनले संस्थापन इतर समूहको नेतृत्व गर्ने दाबी गरे पनि भेला भएका जिल्ला सभापतिहरूसँग सल्लाह माग्दा भने देउवा समूहले माग्नै आएकै सल्लाह मागेका थिए। बैठकमा उनले सिधै स्थानीय तह निर्वाचनमा कसरी गठबन्धन गरेर अघि बढ्ने भन्नेबारेमा जिल्ला सभापतिहरूसित सल्लाह मागेका थिए। जिल्ला सभापतिहरूले गठबन्धनमा जाने या नजाने प्रस्ट बोल्न चाहेनन्।

उनीहरूले पार्टी कार्यालयमा केन्द्रीय समितिको बैठक भएको र त्यही जिल्लाको रिपोर्टिङ बुझाउने पौडेललाई जवाफ दिएका थिए।

‘पार्टीको महाधिवेशन अगाडि ६२ जिल्ला अधिवेशन सम्पन्न हुने बेलासम्म हामी पौडेल समूहमै थियो। १४ औँ महाधिवेशनमा आएर कम्बिनेसन चेन्ज भएको हो,’ शेखर पक्षका एक नेताले उकेरासँग भने' देउवा समूहले हामीलाई अहिलेसम्म संस्थापन इतर समूहको रूपमा स्वीकार नगरेको बेला पौडेलको सक्रिय हुने अभ्यास देखिएझैँ सरल छैन।'

शेखर समूहका नेताहरूको बुझाइमा पौडेललाई देउवाले नै सक्रिय हुन सुझाव दिएका हुन्। १४ औँ महाधिवेशनमा इतर समूहबाट सभापतिको उम्मेदवार बन्न नसकेपछि राजनीति नै छाड्ने घुर्की लगाए पनि उनी सभापतिमा देउवा चुनिएपछि पार्टीमा सक्रिय भए।

देउवाले पनि पार्टीमा हुने मनोनयन, सरकारमा सहभागी र राष्ट्रिय सभा निर्वाचनमा समेत गराउँदा पौडेललाई नै भाग दिए। शेखर समूहले पहिल्यै भागबन्डाको राजनीति नगर्ने बताउँदा पौडेललाई भाग लिन सहज भयो। उनी राजनीतिक समन्वय समितिको संयोजक भएर सरकार सञ्चालनका देउवालाई सघाइनै रहेका छन्। यही बेला उनी एकाएक संस्थापन इतर समूहको नेता बन्न खोज्नुलाई शेखर समूहले पार्टीभित्रको प्रतिपक्षीको आवाज दबाउने प्रयासको रूपमा लिएको देखियो।

‘संस्थापनले शेखर पक्षका ४० प्रतिशत मतलाई स्वीकारेको छैन। संस्थापन इतरमा रामचन्द्र पौडेललाई स्थापित गराइयो भने प्रतिपक्षी आवाज स्वतः कमजोर हुन्छ नै,'ती नेताले भने'शेरबहादुर दाइका लागि पार्टीभित्र शेखरभन्दा रामचन्द्र दाइ नै कम्फर्टेवल हुनुहुन्छ। शेरबहादुर दाइकै डिजाइनमा रामचन्द्र र शशाङ्कलाई एक ठाउँमा राखेर उनीहरूसँगै डिल गर्ने रणनीति हुनसक्छ। त्यसो हुँदा शेखर समूह कमजोर हुने उहाँहरूको बुझाऊ हुनसक्छ।'

चैत ११, २०७८ शुक्रबार २२:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।