ओलीको रुचि : प्रचण्ड-नेपाल बाहेकको वाम पार्टी, घनश्यामको कुरा सुन्नै चाहँदैनन्
काठमाडौं : कम्युनिस्ट पार्टीका सटर धेरै भएपछि एमाले नेता घनश्याम भुसाल कम्तीमा ठूला भनिएका वाम घटकबीच एकता चाहन्छन्। मातृपार्टी एमालेबाट छुटेको एकीकृत समाजवादी र सर्वोच्चको फैसलाले अलग्गिन बाध्य माओवादी केन्द्रबीच नै एकताको आवश्यकता देख्छन् नेता भुसाल।
तर, उनको कुरा पार्टीमा सुनुवाइ हुँदैन। नेता भुसालको बृहत कम्युनिस्ट धारको सानो जत्था छ, जसलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीका अगाडि बोल्न नसक्ने अन्य नेताहरुको मौन समर्थन छ।
अध्यक्ष ओली एमालेलाई अन्य पार्टीको तुलनामा बढी राष्ट्रवादी सावित गर्न चाहन्छन् भने एमालेका नेताहरु आफूलाई बढी ओलीवादी सावित गर्न चाहन्छन्।
पार्टीभित्र मतैक्य त के, सुनुवाइ नै नहुने भिजन नेता भुसालले किन उठाइरहन्छन् त? ‘अहिले नै त्यस्तो वस्तुगत अवस्था नहोला तर यिनलाई बाध्य पार्ने अवस्था नै क्रियट भएरै छाड्छ,’ भुसालले उकेरासँग भने।
भुसालको भनाइमा उनी निकट नेताहरुको समर्थन छ। ‘यी सबै कम्युनिस्ट पार्टीहरुले हार्ने देख्छन् र आफ्ना मेसेन्जरबाट वाम तालमेल वा एकताको कुरा अघि बढाउँछन्। त्यसो गर्दा आफ्ना गुटका मान्छेलाई टिकट दिँदा अरुको भोट पाइन्छ भने त्यो किन नगर्ने भन्ने विषयमा माओवादी, एस र एमाले मान्न सक्छन्,’ उनी निकट एक नेताले भने।
ओलीले कब्जा गर्ने तरिका जहाँ-जहाँ एमालेको पकड थियो, त्यहाँ माओवादीको नेतृत्व दिइयो। त्यसले त हो नि झगडा गर्नै ६ महिना फसेको। ओलीजीको गुट बाहिरको मान्छेको नेतृत्व थियो भने त्यहाँ माओवादीको नेतृत्व दिइयो,’ ती नेताले भने।
यो शैली गाउँ तहसम्म ओलीले अपनाएका थिए। एमालेका पकड भएको ठाउँमा पनि एक ठाउँमा त माओवादीलाई दिनुपर्यो भन्दैमा जिल्ला तहको नेतृत्व पनि माओवादीलाई दिइएको ती नेताले बताए। ‘अहिले पनि गठबन्धन भयो भने आफ्ना खल्तीका मान्छेलाई जिताउन सकिन्छ कि भन्ने कोणबाट सोच्न सकिन्छ,’ ती नेताले भने।
उनले भनेझैं स्थानीय तहमा प्रदेश कमिटीको अनुमतिमा तालमेल गर्ने विकल्प खुला राख्ने निर्णय केन्द्रीय कमिटीले गरेको छ। स्थानीय तहले नतिजामा झस्काएमा एमालेले प्रदेश र संघको निर्वाचनमा नीतिमा पुनर्विचार गर्नेमा भुसाल निकट नेताहरु ढुक्क छन्।
कम्युनिस्ट एक हुने हो भने कांग्रेस सानो आकारमा खुम्चने र कम्युनिस्ट पार्टीबीच एकता नहुने हो भने काम नगरे पनि मतपत्र राखिदिए मात्र कांग्रेसले जित्नेमा भुसाल समूहमा दुई मत छैन। त्यसैले कम्युनिस्ट आन्दोलनलाई मुलधारमा स्थापित गर्न नेता भुसाल लागिपरेक छन्।
‘कम्युनिस्ट एकताको आवश्यकता ओली, प्रचण्ड र माधव सबैले महसुस गरेका छन्। तर उनीहरुको व्यक्तिवादी स्वार्थ र इगोले दिँदैन,’ भुसाल निकट नेताले भने।
वाम एकताको सुरुवात फेरि प्रचण्डले गर्नसक्ने बुझाइ भुसाल पक्षमा छ। ‘प्रचण्डले मलाई फकाउनूस् भनेर मात्र के भन्छन्, साँच्चै तिनलाई फकाउनुपर्छ भनेर अरुले पनि भन्छन्। फकाएपछि यसले फकायो, म फकिएँ भन्छन्,’ भुसाल निकट नेताले उकेरासँग भने।
ओलीको वरिपरि कि सत्रु, कि चाकडी गर्ने मान्छे मात्र भएको ती नेताले बताए। 'मान्छे ओली, प्रचण्ड र माधव नेपाल बाहेक सबै एकै ठाउँमा आइदिउन् भन्ने चाहन्छन्,' ती नेताले भने, ‘पार्टी निर्माणमा दु:ख गरेका र कुनै लाभ नलिएका साथीहरु नडराउनूस् भनेर खुसुक्क घनश्याम कमरेडलाई भन्छन्। कतिपय साथीहरु एमालेलाई बचाएर कम्युनिस्ट एकताको कुरा गरेको भए हुन्थ्यो भन्ने पनि छन्।'
सोमबारको पोलिटब्युरो बैठकमा ओलीले डेढ घण्टा रघुजी पन्त र नेता भुसालको अभिव्क्तिमा खर्च गरेका थिए। ओलीको भनाइ थियो, ‘प्रचण्ड, माधवलाई फेरि भित्र्याउने, फेरि पार्टी ब्युताउँने? घाइते भइसकेकालाई मल्हमपट्टी लगाउने?’ ओलीले न सिन्द्धान्तको कुरा गरे न लोकतन्त्रको कुरा गरे, माधव–प्रचण्डलाई गाली गरेर समय बिताए।
प्रचण्डलाई कम्युनिस्ट पार्टी छाड्नुपर्ने बाध्यता सर्वोच्चको फैसला थियो भने माधव नेपालसँग केपी ओली सर्वसत्तावादी हो भन्ने बाहेक अर्को तर्क छैन। त्यसैले पार्टी फुटको औचित्य पुष्टि गर्ने आधार कसैसँग नरहेको भुसाल पक्षको बुझाइ छ। सत्ता भोक र निजी स्वार्थमा लिप्त भएर पार्टी विभाजन भएको सो पक्षको बुझाइ छ।
अध्यक्ष ओली भने भुसालको कुरा सुन्नै चाहँदैनन्। बुधबार केन्द्रीय कमिटी बैठकमा उनले पार्टी एकताको आवश्यकताभन्दा पनि अरु पार्टीलाई रित्याउनुपर्ने आवश्यकता रहेको बताए। ‘प्रचण्डको भाँडो रित्याएदिउँ न अनि उनले पार्टी एकता गर्लान् नि,’ ओलीले भनेका थिए।
बिहीबार सम्पन्न केन्द्रीय कमिटी बैठकबाट एमालेले नेता भुसालले ल्याएको वाम एकताको बहसलाई एमाले नेतृत्वको पार्टी प्रवेशको लहरलाई प्रभावित पार्ने रुपमा अर्थ्याएको छ।
‘म दोहोर्याएर भन्न चाहन्छु, सिद्धान्ततः नेकपा एमाले तालमेल वा वाम एकताको विरोधी होइन। तर अहिले वाम एकता वा तालमेलको नारा उठाएर पार्टी प्रवेशलाई रोक्ने, पार्टीलाई सिद्धान्ततः वस्तुतः कमजोर बनाउने र पार्टीमा आएको जनलहरलाई प्रभावित पार्ने काम कदापि गर्नु हुँदैन,’ केन्द्रीय कमिटी बैठकपछि प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने।
चैत ११, २०७८ शुक्रबार १४:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।