८ वर्षदेखि अलपत्र दुई पुल : एउटा ठेकेदार बीचैमा भाग्यो, अर्कोले काम नै थालेन
बुटवल : पप्पु बाग्मती जेभी कन्स्ट्रक्सन प्रालिसँगको सम्झौता तोडेर नयाँ कम्पनीलाई ठेक्का दिए पनि भैरहवा-लुम्बिनी सडकमा निर्माणधीन दुई वटा पुल अहिले अलपत्र परेका छन्।
गौतमबुद्ध जन्मस्थल लुम्बिनी जाने सडक फराकिलो र चिरिच्याट्ट भए पनि तिनाउ र दानव नदीमा निर्माणधीन दुई पुल भने ८ वर्षदेखि बन्न सकिरहेका छैनन्।
पप्पुले समयमै काम नगरेको भन्दै ऊसँगको ठेक्का तोडेर रमण डिएलओ इन्फाटेक जेभी ललितपुरसँग ठेक्का सम्झौता गरिएको भए पनि यो कम्पनीले पनि पुल अलपत्र पारेको छ। हुलाकी रामजार्ग अन्तर्गत बन्न लागेको पुल पप्पुले करिब १३ करोडमा ठेक्का सम्झौता गरे पनि तिनाउ पुलमा करिब ४० प्रतिशत र दानवमा करिब ३० प्रतिशत काम गरेर भागेको थियो।
पुप्पुसँग तिनाउ खोलाको पुल निर्माणका लागि ६ करोड दुई लाख ५६ हजारमा ठेक्का सम्झौता भएको थियो भने दानव नदीको डण्डा पुल निर्माणका लागि ५ करोड ५६ लाख ८० हजार १ सय १५ रुपैयाँमा भ्याटसहित ठेक्का सम्झौता भएको थियो।
हालसम्म पप्पुले यी दुवै पुलबाट साढे ५ करोड बढी भुक्तानी लगिसकेको छ। भुक्तानी लगेर काम बीचमै छाडेर भागेपछि त्यसपछि गएको पुस २७ मा उक्त ठेक्का तोडेर रमण डिएलओ इन्फाटेक जेभीसँग सम्झौता भएको थियो। १० करोड ३० लाखमा दुई वर्षभित्र बाँकी काम सम्पन्न गर्ने गरी रमणलाई दिए पनि अहिले यो कम्पनीले कामै अगाडि बढाएको छैन।
हुलाकी राजमार्ग योजना कार्यालय, कपिलवस्तुका सूचना अधिकारी इञ्जिनियर शरद आचार्यले ठेक्का सम्झौता भएको १५ दिनभित्र फिल्डमा जानुपर्ने भए पनि ठेकेदार फिल्डमा नगएकाले काम सुरु गर्न पत्र पठाएको बताए। काम सुरु गर्न निर्माण कम्पनीलाई पत्र पठाए पनि पत्रको जवाफ नआएको र मौखिम रुपमा हप्ता दिनमै काम सुरु गर्ने बताएको उनले बताए।
तिनाउ नदी र दानव नदीमा निर्माणधीन यी पुलहरुका दुई वटा पिल्लर मात्र ठड्याएर राखिएको छ। आधा भागमा ढलान समेत गरिएको छ। ‘सडक फराकिलो र च्याट्ट ४ लेनको भए पनि यी दुई पुलले सडकको सौन्दर्यतालाई हराइदिएको छ। पुल निर्माण भइरहेको स्थानमा भएका दुई वटै पुल सांघुरा हुँदा प्रहरी नै राखेर सवारी आगमननको व्यवस्था गर्नुपर्ने अवस्था छ। त्यसैले पनि हाम्रो चासो यो छिटो बनोस भन्ने हो,’ उनले भने।
२५ असार २०७१ मा पप्पु/बागमती जेभीले भई २ वर्षमा काम सक्ने गरी जिम्मा लिए पनि म्याद थपसहित २०७५ असार २५ गतेसम्म निर्माण सम्पन्न गर्ने अवधि रहेको थियो। तर पुल निर्माणको ठेक्का लिएको पटकपटक म्याद थप्दै अलपत्र पार्दै गरेपछि सडक विभागले गत वर्ष पप्पुसँगको सम्झौता तोडेर रमणलाई ठेक्का दिएको हो। हुलाकी सडक आयोजनाले विभागको निर्देशन अनुसार नै ठेक्का तोडेको थियो।
पर्यटकलाई सास्ती, दुर्घटनाको जोखिम
लुम्बिनी जाने पर्यटकहरुमध्ये ९५ प्रतिशत भन्दा बढि भैरहवा–परासी रोड हुँदै जान्छन्। तिनाउ र दानव नदीमा बनिरहेका दुई पुल सामन्ने पुराना पुल छन्। ती पुल साँघुरा र जीर्ण छन्। निकै पुराना यी पुलमा कतिबेला दुर्घटना हुन्छ भन्ने सकिँदैन।
लुम्बिनीका उद्योगमा जाने ठूला कच्चा पदार्थ सहितका सवारी साधनले समेत यही पुल प्रयोग गर्दै जानुपर्ने हुन्छ। त्यसै कारण पुलमा जोखिम बढेको रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले बताए। ‘पुललाई छिटो बनाउन सरोकारवाले दबाब दिनुपर्छ। यही पुलका कारण पर्यटकले सास्ती पाएका छन्। उद्योगीहरुले सहज ढंगले कच्चा पदार्थ, उत्पादित सामान ढुवानी गर्न सकिरहेका छैनन्,’ उनले भने।
साँघुरो पुल हुँदा अहिले एकैपटक एक साइडबाट गाडी आउँदा अर्को साइडमा रहेका सवारी साधनले लामबद्ध भएर रोक्नुपर्ने अवस्था छ । कहिलेकाहीँ घण्टौंसम्म लाइन बस्नुपर्ने बाध्यता छ।
साँघुरो पुलका कारण सवारी जाम हुने र एकतर्फी मात्र सवारी सञ्चालन गराउँदा ट्राफिक व्यवस्थापनका लागि दैनिक ५ जना ट्राफिक प्रहरी खटाइएको छ।
चैत ११, २०७८ शुक्रबार ११:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।