सिनेमाघरमा 'आरआरआर', ५५० करोड भारु लगानी, सेटमा आलियालाई देखेपछि लजाउँथे रामचरण
एजेन्सीः दक्षिण भारतीय चलचित्र 'आरआरआर' आजबाट प्रदर्शनमा आएको छ। बाहुबली चलचित्र निर्देशन गरेर चर्चाको शिखरमा रहेका निर्देशक एस एस राजामौलीको त्यसयता यो पहिलो चलचित्र हो।
दुई भारतीय क्रान्तिकारङी अल्लुरी सीताराम राजु र कोमाराम भीमले ब्रिटिश शासन र हैदरावादको निजामविरुद्ध गरेको विद्रोह नै यस फिल्मको कथा हो। यसमा रामचरणले अल्लुरीको भूमिका निभाएका छन् भने जुनियर एनटीआरले कोमारामको भूमिका निभाएका छन्।
चलचित्रमा आलिया भट्ट र अजेय देवगनको समेत भूमिका रहेको छ। पाँच सय ५० करोड भारु लागत रहेको चलचित्र ४ वर्ष लगाएर तयार पारिएको हो।
चलचित्रको नाम समेत आरआरआर राखिएको छ। जसले मूर्त अर्थ केही बताउँदैन। सुरुमा त राजामौलीले अरू नै टाइटल राख्ने सोचेका थिए। तर पछि कसैले उनलाई सल्लाह दियो- दुवै स्टार एनटीआर (रामाराव) र रामचरणको नामबाट पहिलो अक्षर 'आर' लाई लिएर टाइटल राखौँ। त्यसमाथि राजामौलीको पनि अक्षर आरबाटै सुरु हुन्छ।
पछि राजामौली माने र परीक्षण स्वरूप सामाजिक सञ्जालमा नाम सार्वजनिक गरे। सबैले मन पराए। र यही टाइटललाई राखियो।
यस चलचित्रको रोचक पक्ष त के हो भने, 'नाचो नाचो' बोलको गीतको स्टेपका लागि दुवै कलाकारले दिनमा १२ घण्टासम्म सुटिङ गर्नुपर्यो। १५ देखि १८ दिनमा बल्न उनीहरूले त्यस गीतको लागि पर्फेक्ट स्टेप सिके। त्यतिविधि मेहनत गरिएको गीत अन्ततः निकै चल्यो पनि।
यस्तै एनटीआरले खुट्टामा केही नलगाई जङ्गलमा सुटिङ गरे। यसले उनको खुट्टामा चोट पनि लाग्यो।
यता आलिया सेटमा आएपछि रामचरण र एनटीआरलाई कसरी नियन्त्रण गर्ने भन्ने राजामौलीलाई खुब चिन्ता रहन्थ्यो। किनकी यी दुई कलाकार निकै बदमासी गर्थे। तर भइदियो उल्टो- आलिया सेटमा आएपछि त रामचरणको बोली निकै कम मात्र निस्कन्थ्यो।
आलिया पनि छक्क पर्थिन् रामचरणको यस्तो व्यहोरा देखेर। उनले आफूलाई थाम्न सकिनन्। सुटिङ सकिएपछि आलियाले यसबारे सोधिन् पनि। जवाफमा रामचरणले भने- 'तपाईं यति राम्री हुनुहुन्छ कि मलाई लाज लाग्थ्यो।'
चैत ११, २०७८ शुक्रबार ०९:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।