इन्टरनेटले ‘एकलकाटे’ बन्दै बालबालिका : एक्लो छन् तर एक्लोपन महसुस नै गर्दैनन्

इन्टरनेटले ‘एकलकाटे’ बन्दै बालबालिका : एक्लो छन् तर एक्लोपन महसुस नै गर्दैनन्

काठमाडौं : एक हातमा समाउनै मुस्किल पर्ने स्मार्ट फोन, अर्को हात स्क्रोलका लागि। छेउमा छिन् पाँच वर्षीया खुसी क्षेत्रीकी आमा बबिता। उनी एक हातमा खाना र अर्को हातमा चम्चा लिएर बसेकी छन्। 

खुसी मोबाइलमा टिकटक हेर्दैछिन्। बबिता पनि नजर मोबाइलतिर डुलाउँदै खाना नाकतिर ठोसिरहेकी छिन्। खुसीले मुखमा राखेको खाना चपाउन भुलेकी छिन्। ध्यानजति टिकटकतिर छ अनि मुखको खाना कसरी सम्झिउन्।

सिनामंगलको एक गल्लीमा रहेको खुसी खाजा पसलको दृश्य हो यो। आजभोलि यस्ता दृश्य हरघरमा देख्न सकिन्छ।

टिकटकमा भाइरल कन्टेन्ट हुन्छ। भाइरल बन्नका लागि मानिसले अनेक अश्लिल हर्कत गरिरहेका हुन्छन्। बिना सेन्सर बालबालिका स्क्रोल गर्दै अस्वस्थ कन्टेन्टसँग खाना खाइरहेका हुन्छन्। 

त्यसैले त, अधिकांश अभिभावकको प्रमुख गुनासो हुन्छ- मेरो बच्चाले त मोबाइल बिना खानै खाँदैन। 

इन्टरनेट बिना केही सोच्नै सक्दैनन्
खाना खाने समयमा मात्रै हैन, बालबालिकाको ध्यान जतिखेरै मोबाइलमा हुन्छ। इन्टरनेटको पहुँच पुगेका ठाउँमा भने जुन इन्टरनेट चल्ने जुन डिभाइस भए पनि काम चल्यो।

कोभिड तेस्रो भेरियन्टपश्चात् सरकारले विद्यालय बन्द गर्यो। सवारी साधन जोर-बिजोर गर्नेदेखि फिल्म हल बन्द गर्नेसम्मको काम सरकारले गर्यो। त्यही समयतिर काठमाडौंका अधिकांश ठाउँमा बिजुली आउने-जाने क्रम सुरु भयो। 

'बिजुली जानेबित्तिकै इन्टरनेट कनेक्सन टुट्यो। बालबालिका मोबाइलमा नेट चलेन भनेर रुन थाले,' मनोविद् गंगा पाठकले भनिन्, 'बालबालिका इन्टरनेटको लतमा फसिसके। यो कुनै लागुऔषधभन्दा कम घातक छैन।'

पाठकले थपिन्, 'यहाँ बालबालिका मात्रै हैन, अभिभावक नै इन्टरनेटको लतमा छन्। एकैछिन इन्टरनेट नहुँदा श्वास रोकिए जसरी छटपटाउने अभिभावक टन्नै छन्।

भर्चुअल संसार र वास्तविक संसारमा यतिबेला बालबालिका कन्फ्युज छन्। उनीहरु भर्चुअललाई वास्तविक ठान्न थाले भने भोलि जे पनि हुनसक्छ।

बालबालिका एक्लो छन्, एक्लो महसुस गर्दैनन्
झण्डै दुई वर्ष बित्यो, कोभिड- १९ को महामारीले विश्व आतंकित पारेको। यसका विभिन्न भेरियन्टहरुले विद्यालय खुल्ने, बन्द हुने भइरहेको छ।

सधैं स्कुलमा झगडा गरिरहेका, साथीभाइसँग गफ गरिरहेका साना बालबालिका एक्कासि घरमा थुनिएका थिए। आमा-बाबुको अनुहार भुल्न आँटेका बालबालिकाको अघि जतिखेरै एकै अनुहार मात्रै थियो।

यस्तो समयमा नेपाल सरकारले कोभिडका कारण बालबालिकाले के-कस्ता समस्या झेलिरहेका छन् भन्नेबारे अध्ययन, अनुसन्धान गर्नुपर्ने थियो तर केही गरेन। गैरसरकारी संस्था युएनडिपीले भने यसबारे अध्ययन गरेको थियो।

अध्ययनका क्रममा बालबालिकामा इन्टरनेट एडिक्सन डिसअर्डरको समस्या देखिएको युनिसेफको बालबालिका हेल्पलाइन कल सेन्टरका परामर्शदाता सन्दीप मानसिंह बस्नेतले जानकारी दिए।

उनले भने, 'हामीले लकडाउनको समयमा बालबालिकासँगै उनीहरुका अभिभावकलाई मनोपरामर्श दिएका थियौं। त्यो समयमा अधिकांश अभिभावकको गुनासो बालबालिकाको इन्टरनेट र मोबाइल धेरै चलाउने भन्ने थियो।' 

बालबालिकामा हुने एक्लोपनले समस्या निम्त्याउला भन्ने युनिसेफको अनुमान थियो। तर उनीहरु त पहिलेदेखि नै ‘एकलकाटे’ बनिसकेका रहेछन्। बस्नेतले भने, 'बालबालिका एक्लै छन् तर उनीहरु आफूलाई एक्लो ठान्दैनन्। यो निकै खतरनाक बिरामी हो।'

भर्चुअल संसार र वास्तविक संसारमा यतिबेला बालबालिका कन्फ्युज छन्। उनीहरु भर्चुअललाई वास्तविक ठान्न थाले भने भोलि जे पनि हुनसक्छ।

के हो इन्टरनेट एडिक्सन डिसअर्डर 
इन्टरनेट या ‘भर्चुअल’ दुनियाँमा मात्रै बानी पर्ने समस्यालाई इन्टरनेट एडिक्सन डिसअर्डर भनिन्छ। बस्नेतले भने, 'इन्टरनेट एडिक्सन डिसअर्डर बालबालिकाले लगातार एक हप्ता इन्टरनेट चलाउँदैमा हुन्छ। यसलाई इन्टरनेट डिपेन्डेन्सी डिसअर्डर पनि भनिन्छ।'

मोबाइल या इन्टरनेट बिना खाना नखाने, साथमा मोबाइल नभए कन्फिडेन्ट महसुस नगर्ने, जतिखेरै मोबाइल छ या छैन भनेर खल्ती छामिरहनुपर्ने, सपनामा समेत मोबाइलमा हेरेका कुराहरु देख्ने लगायतका लक्षण इन्टरनेट एडिक्सन डिसअर्डरका प्राथमिक लक्षण हुन्।

मनोविद् बस्नेतका अनुसार यो बिह्याबियरल (व्यावहारिक) डिसअर्डर हो। लागुऔषध लिने बानी परेका, रक्सी खाने बानी परेकालाई जसरी त्यो विना बाँच्न गाह्रो हुन्छ, इन्टरनेट या मोबाइलको लत लागेका बालबालिकालाई पनि यो बिना बस्न  गाह्रो हुन्छ।

आफू मोबाइलबाट अनुहार नहटाउने अनि बालबालिकाले पढेन भनेर कम्प्लेन गर्ने? पहिले आफू सुध्रिएर देखाउनूस्, बालबालिकाका लागि आइडल बन्नुहोस्।

यो समस्या भएका बालबालिकाको दिमागमा जतिखेरै इन्टरनेटको कुरा खेलिरहेको हुन्छ। इन्टरनेट चलाउन नपाए उनीहरू चिडचिडिने, झगडा गर्ने, झर्कने स्वभावका हुन्छन्। धेरै लत लागिसकेपछि भने बालबालिकामा आत्मसन्तुष्टिको कमी आउन थाल्छ। उनीहरू कुनै कुराले पनि खुसी नहुने र त्यो भन्दा झनै ठूलो माग गर्ने स्वभावका हुन्छन्।

त्यस्तै बालबालिकामा भएका प्रतिभाहरू विस्तारै हट्दै जान्छ। जस्तै- कसैलाई पेन्टिङ गर्न मन पर्थ्यो, गीत गाउन या नाँच्न मन पर्थ्यो भने पनि त्यो विस्तारै हट्दै जान्छ र ती कुराहरू स्क्रिनमा हेरेर रमाउने बानी पर्छ।

इन्टरनेट एडिक्सन डिसअर्डरको सबैभन्दा डरलाग्दो लक्षण भनेको बालबालिका कुरा लुकाउने, झुट बोल्ने र समस्यालाई ‘स्किप’ गर्ने स्वभावका हुन थाल्छन्।

यो समस्याबाट बाहिर निस्कन बालबालिकालाई समय तालिका सिकाउन जरुरी हुन्छ। १० बजे सुत्ने हो भने त्यति नै बजे सुत्नुपर्यो। मोबाइल नचलाई निद्रा लाग्दैन भने त्यसलाई लिएर बेडरूममा जान भएन या आँखाबाट टाढा राख्नुपर्यो।

त्यस्तै बालबालिकाले अत्यधिक चलाउने एपमा टाइमर लगाउन सकिन्छ। एक घण्टा चलाउने भनेपछि त्यति समय सेट गर्ने र समय सकिएपछि त्यो एप आफैं बन्द हुने बनाउन पनि सकिन्छ।

सबैभन्दा उत्तम उपाय भनेको बालबालिका गेमको लतमा छन् या कुनै एपको लतमा छन् भने त्यो एप डिलिट गर्ने नै हो। त्यसको सट्टा एप चलाउने समय शारीरिक खेलमा लगाउन सकिन्छ। जस्तै- कुनै बालबालिका मोबाइलमा क्रिकेट खेल्छ भने उसलाई शारीरिक रूपमा क्रिकेट खेल्ने वातावरण मिलाउँदा उनीहरू यस्ता समस्याबाट बाहिर आउन सक्छन्।

अभिभावक सुध्रिनुपर्यो
बालबालिका एक्लो छन्। उनीहरु इन्टरनेट एडिक्सन डिसअर्डरको सिकार भएका छन्। यता अभिभावक पनि यही समस्याको चपेटामा परेका छन्।

मनोविद् गंगा पाठक भन्छिन्न्, 'म त जतिखेरै अभिभावकलाई गाली गर्छु, किनभने बालबालिकाको यस्तो हालत बनाउने अभिभावक हुन्।'

आफू मोबाइलबाट अनुहार नहटाउने अनि बालबालिकाले पढेन भनेर कम्प्लेन गर्ने? पहिले आफू सुध्रिएर देखाउनूस्, बालबालिकाका लागि आइडल बन्नुहोस्।

चैत ११, २०७८ शुक्रबार ०७:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।