लागू औषध खोज्न अदालतमा चोरी प्रयास, सिसिटिभीले भेटियो आरोपी

लागू औषध खोज्न अदालतमा चोरी प्रयास, सिसिटिभीले भेटियो आरोपी

पोखरा : अन्य अपराधको अभियोगमा अदालत पुग्दा देखेको लागू औषध चोर्न जिल्ला अदालत कास्की तोडफोड भएको प्रहरी अनुसन्धानमा खुलेको छ।

पोखरा १५, टुटुंगाका २७ वर्षीय अर्जुन परियार (दावा) पहिल्यै विभिन्न अपराधको आरोपमा समातिएको र मुद्दा प्रक्रियामा अदालत लैजाँदा नष्ट गर्न राखिएको लागू औषध देखेकाले त्यही चोर्न अदालत फुटाएको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार सम्मेलन गरेर सार्वजनिक लागू औषधको कुलतमा फसेका परियारले लागू औषध पाउने आशमा मध्यरात अदालतको ढोका फोडेरै मिसिल छरपस्ट पारेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले बताए।

प्रहरीले सिसिटिभी फुटेजको आधारमा उनको पहिचान गरी पक्राउ गएको थियो।

प्रहरी रेकर्ड अनुसार परियार २०७३ देखि हालसम्म गरी विभिन्न नौ पटक मुद्दा खेपेका छन्। २०७३ मा उनले तीन वटा चोरी मुद्दा, २०७४ मा लागू औषध र भद्र व्यवहार, २०७५ मा लागू औषध, २०७६ मा अभद्र व्यवहार र लागू औषध मुद्दा खेपेर धरौटीमा रिहा भएका थिए ।

मङ्गलवार राति वडा प्रहरी कार्यालय बैदाम अगाडि रहेको कास्की जिल्ला अदालतका इजलास नम्बर १ र ६ को कोठाको ढोकामा लगाएको ताला फोडेको, इजलासभित्रको काठको टेबुलमाथि इन्डेक्स फाइल यत्रतत्र छरिएको, काठको टेबुलको तलको घर्रा खुला रही कागजात यत्रतत्र छरिएको थियो। 

चैत ११, २०७८ शुक्रबार ०५:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।