आरआरआर हेर्ने दर्शकलाई पर्दाको नजिक जान नदिन हलमा काँडे तार लगाइयो
एजेन्सी : बहुप्रतिक्षित दक्षिण भारतीय फिल्म आरआरआरप्रदर्शन हुने भएपछि दर्शकलाई हलको पर्दा नजिक जान नदिन फिल्म हलमा काँडे तार राखिएको छ। दर्शकहरूलाई पर्दाको नजिक जान नदिन भन्दै आन्ध्र प्रदेशको श्रीकाकुलमको एक फिल्म हलले चलचित्र प्रदर्शनअघि काँडेतार र बार राखेको हो।
भारतीय सञ्चार माध्यमहरूका अनुसार यसअघि चलचित्र पुष्पा प्रदर्शन हुँदा ठुलो भीडका कारण पर्दा बिग्रिएको भन्दै हलका सञ्चालकहरूले यस्तो निर्णय गरेका हुन्।
’एउटै चलचित्रमा दुई शीर्ष कलाकार जूनियर एनटीआर र रामचरण रहेकाले पूरै हल निकै अस्तव्यस्त हुनेछ,’ सूर्य हलका इन्चार्जले एएनलाई बताएका छन्। उनी भन्छन् , 'पहिला पनि फ्यानका कारण धेरै कठिनाइ भएको थियो। आरआरआरमा दुई ठुला कलाकार छन् जसको फ्यान अत्यधिक छ। यसअघि पुष्पा यहाँ प्रदर्शन हुँदा भिडभाडका कारण पर्दामा क्षति पुगेको थियो। त्यसैले हामीले काँडेतार राखेका हौँ।'
फिल्ममा राम चरण र जूनियर एनटीआरसँगै आलिया भट्ट र अजय देवगणको समेत अभिनय रहेको छ। चलचित्र तेलुगु स्वतन्त्रता सेनानी अल्लुरी सीताराम राजु र कोमराम भीम द्वारा प्रेरित एक काल्पनिक कथामा आधारित रहेको बताइएको छ। पटक-पटक प्रदर्शनको मिति तय भए पनि कोभिड महामारीको कारण चलचित्र प्रदर्शन हुन सकेको थिएन।
शुक्रवारबाट नेपालका हलहरूमा समेत आरआरआर रिलिज हुँदै छन्। नेपालमा पछिल्लो समय दक्षिण भारतीय फिल्मका कलाकारहरूको क्रेज बढेपछि नेपाली फिल्म वितरकहरूले हिन्दी भाषामा डब भएको फिल्म नेपालमा ल्याउन थालेका हुन्।
आरआरआर गोपीकृष्ण मुभिज् अन्तर्गतको कम्पनीले नेपालमा ल्याएको हो। आरआरआर रिलिज हुने भएपछि शुक्रवार नयाँ नेपाली फिल्म समेत रिलिज नहुने भएको छ। शुक्रवार रिलिजको तयारी भएको नेपाली फिल्मले डेट सारेका छन्।
चैत १०, २०७८ बिहीबार १७:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।