आआरआर प्रदर्शनमा आउने भएपछि फिल्म हलमा लगाइयो काँडे तार
काठमाडौँ : बहुप्रतिक्षित मानिएको दक्षिण भारतीय चलचित्र आरआरआर प्रदर्शन हुने भए पछि फिल्म हलमा काँडे तारहरु राखिएको छ। दर्शकहरूलाई पर्दाको नजिक जान नदिन भन्दै आन्ध्र प्रदेशको श्रीकाकुलमको एक फिल्म हलले चलचित्र प्रदर्शन अघि काँडे तार र बारहरू राखिएको हो।
भारतीय संचारमाध्यमहरुका अनुसार यस अघि चलचित्र पुष्पा प्रदर्शन हुँदा ठूलो भीडका कारण पर्दा बिग्रिएको भन्दै हलका संचालकहरुले यस्तो निर्णय गर्नु परेको जनाएका छन्। ’एउटै चलचित्रमा दुई शीर्ष कलाकार जूनियर एनटीआर र रामचरण रहेकाले पूरै हल निकै अस्तव्यस्त हुनेछ,’ सूर्य हलका ईन्चार्जले एएनलाई बताएका छन्। उनि भन्छन् , 'पहिला पनि फ्यानका कारण धेरै कठिनाइको सामना गर्नुपरेको थियो। आरआरआरमा दुई ठूला कलाकार छन् जसको फ्यान अत्याधिक छ। यसअघि पुष्पा यहाँ प्रदर्शन हुँदा भीडभाडका कारण पर्दामा क्षति पुगेको थियो। त्यसैले हामीले यो काँडेतारहरु राखेका हौँ।'
चलचित्रमा राम चरण र जूनियर एनटीआर सँगै आलिया भट्ट र अजय देवगनको समेत अभिनय रहेको छ। चलचित्र तेलुगु स्वतन्त्रता सेनानी अल्लुरी सीताराम राजु र कोमराम भीम द्वारा प्रेरित एक काल्पनिक कथामा आधारित रहेको बताइएको छ। पटक-पटक प्रदर्शनको मिति तय भए पनि कोभिड महामारीको कारण चलचित्र प्रदर्शन हुन सकेको थिएन।
‘बाहुबली’का निर्देशक एसएस राजमौलीको नयाँ फिल्म ‘आरआरआर’ शुक्रबारबाट विश्वभर प्रदर्शनमा आउँदैछ।
चैत १०, २०७८ बिहीबार १७:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।