कास्की जिल्ला अदालत तोडफोडको आरोपमा अर्जुन परियार पक्राउ

कास्की जिल्ला अदालत तोडफोडको आरोपमा अर्जुन परियार पक्राउ

पोखरा : जिल्ला अदालत कास्की रातिको समयमा पसेर तोडफोड गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 

मंगलबार राति अदालतमा पसेर एक र छ नम्बर इजलास तोडफोड गरी महत्त्वपूर्ण कागजपत्रहरू चोरीमा संलग्न भएको आरोपमा पोखरा-१५,टुटुंगाका २७ वर्षीय अर्जुन परियारलाई प्रहरीले पक्राउ गरेको हो।  

वडा प्रहरी कार्यालय बैदामको गेटको सामु रहेको कास्की जिल्ला अदालतमा पसेर उनले एक नम्बर इजलासको ढोका मात्र फुटाइएको र छ नम्बर इजलासको ढोका फोडेर मिसिल लगायतका कागजात रहेको दराज तोडफोड गरेको प्रहरीको आरोप छ। 

लागू औषधको कुलतमा फसेका परियारलाई यसअघिका विभिन्न समयमा मुद्दाका लागि अदालतमा म्याद थप गर्न लगिंदा मुचुल्का गरी नष्ट गर्न राखिएका लागू औषध देखेकाले तिनै चोर्नका लागि उसले डोडफोड गरेको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी एवं प्रहरी प्रबक्ता सुन्दर तिवारीले बताए।

डिएसपी तिवारीलेका अनुसार प्रारम्भिक अनुसन्धानमा परियारले आफू संलग्न रहेको स्वीकारेका छन। परियारले २०७३ देखि हालसम्म गरी विभिन्न ९ मुद्दा खेपेका छन्। उनले २०७३ सालमा तीन वटा चोरी मुद्दा, २०७४ सालमा लागु औषध तथा अभद्र व्यवहार, २०७५ मा लागु औषध, २०७६ मा अभद्र व्यवहार तथा लागु औषध मुद्दा खेपेर रिहा भएका थिए। 

घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका परियारविरुद्ध नकबजनी चोरी मुद्दामा अनुसन्धान जारी रहेको डिएसपी तिवारीले बताए। कानुनमा सरकारी स्वामित्व वा नियन्त्रणमा रहेको सङ्गठित संस्था, सर्वसाधारण वा कुनै व्यक्तिलाई हानी नोक्सानी वा क्षति पुर्याउने नियतले जानीजानी वा लापरबाही तथा हेलचक्र्याइँ गरी कुनै निजी सम्पत्ति नास गरेमा, अनाधिकृत प्रवेश तथा आपराधिक उपद्रव सम्बन्धी मुद्दा चलाउने सक्ने उल्लेख छ। 

आरोपित परियारलाई प्रहरीले जिल्ला अदालतमा अनाधिकृत प्रवेश तथा आपराधिक उपद्रवसम्बन्धी र नकबजनी चोरी उद्योगमा अनुसन्धान अघि बढाएको छ। परियारले चोरी गरेको प्रमाणित नभए पनि अदालतमा प्रवेश गरेर सरकारी स्वामित्व अदालतलाई हानी नोक्सानी वा क्षति पुर्याउने नियत देखाएकोले सोही उद्योगमा अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको डिएसपी तिवारीले बताए। 

चैत १०, २०७८ बिहीबार १५:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।