क्षयरोग मुक्त नेपाल बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री खतिवडा

क्षयरोग मुक्त नेपाल बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री खतिवडा

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले क्षयरोग मुक्त नेपाल बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। विश्व क्षयरोग दिवस २०७८ को उपलक्ष्यमा बोल्दै मन्त्री खतिवडाले क्षय मुक्त नेपाल बनाउन सरकारले उच्च प्राथमिकतामा राखी एकीकृत स्वास्थ्य सेवाको माध्यमाबाट समुदाय स्तरसम्म विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने बताए। 

विश्व स्वास्थ्य सङ्गठनले लिएको क्षयरोग अन्त्यको रणनीति र संयुक्त राष्ट्र सङ्घको उच्चस्तरीय बैठकले त्यस रणनीतिलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएकोमा नेपाल सरकारले समेत त्यसमा थप प्रतिबद्धता जनाई सरकारले  ‘क्षयरोग मुक्त नेपाल’ बनाउने नीतिलाई कार्यान्वयनमा ल्याइसकेको उनले बताए। यसलाई प्रभावकारी बनाइ प्रत्येक नागरिकको पहुँचमा पुर्याउन सबैले आ-आफ्नो ठाउँ तथा क्षमता अनुसार कार्य गर्न आवश्यक रहेको उनले बताएका छन्। 

उनले क्षयरोगका बिरामीलाई सामाजिक सुरक्षा कार्यक्रममा समाहित गरी क्षयरोगबाट हुने अधिक आर्थिक भार हुन नदिने व्यवस्था गरिने बताएका छन्। औषधी प्रतिरोधी क्षयरोगका बिरामीलाई दिइरहेको निःशुल्क स्वास्थ्य बिमाको सुविधालाई थप विस्तार गरी आगामी आर्थिक वर्ष देखि सबै प्रकारका क्षयरोगका बिरामीहरूलाई उपचार अवधिभरका लागि निःशुल्क स्वास्थ्य बिमाको सुविधा उपलब्ध गराइने उनले जानकारी दिए।

मन्त्री खतिवडाले स्थानीय सरकारकै स्वामित्व र नेतृत्वमा एक द्वार प्रणाली मार्फत क्षयरोगमुक्त नेपाल घोषणा अभियान कार्यक्रमलाई क्रमशः विस्तार गर्दै आगामी ४ वर्षभित्र ७ सय ५३ वटै स्थानीय तहमा कार्यान्वयनमा ल्याइने बताए। उनले अभियान सफल पार्न आवश्यक पर्ने थप नीति तथा कार्यक्रम तयार गरी कार्यान्वयन गर्न मन्त्रालयले राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रलाई आवश्यक निर्देशन गर्ने बताए। 
 

चैत १०, २०७८ बिहीबार १५:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।