लेटाङ घटना : कर्फ्यु हट्यो, एसपीको नेतृत्वमा छानबिन समिति गठन

लेटाङ घटना : कर्फ्यु हट्यो, एसपीको नेतृत्वमा छानबिन समिति गठन

इटहरी : मोरङको लेटाङ नगरपालिका–५ शिक्षा विकाश माविका शिक्षकले १२ वर्षीया छात्रामाथि यौन दुर्व्यवहारको घटना चर्किएपछि एक महिला प्रहरीको हत्या भयो। हत्यापछि थप सुरक्षा सतर्कता बढाउन भन्दै सोमबार बिहान देखी लगाइएको कर्फ्यु आज (बिहीबार) बिहान बाट हटेको छ।

जिल्ला प्रशासन कार्यालय मोरङले बिहीबार बिहान ६ बजेदेखि कर्फ्यु आदेश हटाउने जानकारी गराएको छ। बुधवार आंशिक कर्फ्यु आदेश जारी गरेको जिल्ला प्रशासन कार्यालयले घटनाबारे अनुसन्धान भइरहेकाले जनजीवन सामान्य बनाउने बाटो तय गरेको हो।

थप अप्रिय घटना दोहोरिन नदिन र जनधनको क्षति हुनबाट जोगाउन लगाइएको कर्फ्यु पुर्णरुपमा हटाइएको प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकारी दिए। जनजीवन सामान्यीकरण गर्ने विषयमा मंगलबार लेटाङ नगरपालिकामा सरोकार वाला निकायको बैठक बसेको थियो।

घटना अनुसन्धानमा कुनै पनि राजनैतिक हस्तक्षेप नगर्ने र कर्फ्यु हटाउन पहल गर्ने लगायत निर्णय भएको नेपाली काँग्रेस जिल्ला सभापति डिग बहादुर लिम्बुले बताए। बुधवार जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा समितिको बैठकले कर्फ्यु हटाउने निर्णय गरेको हो। 

शिक्षक मनोज पौडेलले पानी खाने बहानामा आफ्नै विद्यालयकी छात्रामाथि घरैमा पुगेर यौन दुव्यवहार गरेको आरोप लागेको छ। दुर्व्यवहार गरेको विषयमा आइतबार विद्यार्थी र अभिभावकहरूले आन्दोलन गरेका थिए।

आन्दोलन भएपछि एम्बुलेन्समा हालेर आरोपित शिक्षकलाई प्रहरी कार्यालय पुर्याउन खोज्दा अभिभावक र विद्यार्थीहरूले अवरोध गरेका थिए। केही समय अगाडी बेहोस भएकी बालीकालाई ट्याम्पाेमा लगेको देखेका विद्यार्थीले आरोपित शिक्षकलाई एम्बुलेन्समा राखेको भन्दै विरोध जनाएका थिए।

आन्दोलन चर्कदै जाँदा भिड अनियन्त्रित भएर आगजनी, तोडफोड र ढुंगामुढा भएको थियो। आन्दोलन झडपमा परिणत हुँदा महिला प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गएको थियो। 

छानबिन समिति गठन
महिला प्रहरीको ज्यान जाने गरी भएको घटनाबारे छानबिन गर्न प्रहरीले ६ सदस्यीय छानबिन समिति गठन गरेको छ। १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका एसएसपी राजेन्द्रकुमार चौधरीको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरिएको हो।

प्रदेश प्रहरी प्रवक्ता एवं एसपी नविनराज राईका अनुसार समितिमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), १ नम्बर प्रदेश प्रहरी र जिल्ला प्रहरी मोरङको संयुक्त टोली रहेको छ।

चैत ६ गते झास लेटाङमा भएको आन्दोलन र दोहोरो झडपको क्रममा उर्मीला श्रेष्ठको ज्यान गएको थियो। श्रेष्ठको घाँटीमा छुरा प्रहार गरी हत्या भएको विषयमा प्रहरीले अनुसन्धान थालेको छ। 

चैत १०, २०७८ बिहीबार १४:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।