गण्डकी प्रदेशमा माओवादी केन्द्रको पदाधिकारी चयन

गण्डकी प्रदेशमा माओवादी केन्द्रको पदाधिकारी चयन

पोखराः माओवादी केन्द्र गण्डकी प्रदेशको पदाधिकारी चयन भएका छन्। बुधबार भएको निर्वाचनमार्फत अध्यक्षबाहेका अन्य पदाधिकारी चयन भएका हुन्।

यसअघि नै प्रदेश अध्यक्षमा गायत्री गुरुङ निर्विरोध चयन भएकी थिइन्। त्यसबेला अन्य पदाधिकारी सहमतिमा चयन गर्ने प्रयास असफल भएपछि बुधबार निर्वाचन प्रक्रियाबाट पदाधिकारी चयन गरिएको हो।

माओवादीको विधानअनुसार प्रदेशका तीन जना उपाध्यक्षमा गुणाखर बस्याल (पर्वत), मित्रशरण शर्मा (नवलपुर) र ज्ञामनाथ गैह्रे (बाग्लुङ) चयन भएका छन्। उपाध्यक्षमा निर्वाचित बस्याल संविधान सभा निर्वाचनमा पर्वतबाट सांसद समेत बनेका थिए।

त्यस्तै सचिवमा गोरखाका जगन्नाथ खनाल निर्वाचित भएका छन्। सहसचिवमा अतिन्द्रकेशरी न्यौपाने (तनहुँ), मेखबहादुर भण्डारी (लम्जुङ) र टेकबहादुर विक (म्याग्दी) निर्वाचित भएका छन्। त्यस्तै कोषाध्यक्षमा स्याङजाका तारा भुषाल निर्वाचित भएका छन्। भुषालले दुई जना प्रतिस्पर्धीलाई पराजित गरी विजयी भएका हुन्। 

विगतमा सहमतिमा नेतृत्त्व चयन हुँदै आएको माओवादी पार्टीमा यसपटक भने आकांक्षी धेरै भएपछि निर्वाचन प्रक्रियाबाट नेतृत्त्व चयन भएको छ। गत मंसिर २७ गते भएको माओवादीको प्रदेश अधिवेशनले गण्डकी प्रदेशमा गायत्री गुरुङलाई सर्वसम्वत अध्यक्षमा चयन गरेको थियो। यस्तै २०१ सदस्यीय प्रदेश कमिटी पनि सर्वसम्मतरूपमा गठन गरेको थियो।

तर अन्य पदाधिकारीहरूमा सहमति हुन नसकेपछि निर्वाचन प्रक्रियाबाट पदाधिकारी चयन गरिएको हो। निर्वाचनमा २१४ मतदातामध्ये १७७ जना सहभागी भएको अध्यक्ष गुरुङले बताइन्।

चैत १०, २०७८ बिहीबार १०:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।