बग बाउन्टीको चक्करमा बालबालिका : 'अपराध' गर्ने छोरा-छोरी, सजाय भोग्ने बाबु-आमा

बग बाउन्टीको चक्करमा बालबालिका : 'अपराध' गर्ने छोरा-छोरी, सजाय भोग्ने बाबु-आमा

काठमाडौं : झण्डै डेढ लाख बढी ग्राहकको व्यक्तिगत विवरण भएको भायनेटको वेबसाइट दुई वर्षअघि ह्याक भयो। सबैको व्यक्तिगत विवरण ट्विटरमार्फत 'नरपिचास' नाम गरेको आइडीबाट सार्वजनिक भएको थियो।

डाटा सार्वजनिक भएको झण्डै ९ महिनापछि प्रहरीले नरपिचास नामको ट्विटर ह्याण्डेल चलाउने व्यक्तिलाई पक्राउ गर्यो। उनी रहेछन्, रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १ घर भएका १६ वर्षे बालक।

पक्राउ गरेर सोधपुछ गर्दा उनले बारम्बार कमजोरीबारे जानकारी दिएको तर भायनेटको प्रशासनले टेरपुच्छर नलगाएका कारण विवरण सार्वजनिक गरिदिएको बताए। साथमा प्रहरीसँग डर हराएकाले मात्रै आफूलाई पक्राउ गर्न सक्ने क्लु छाडेको र प्रहरी आफूसम्म आइपुग्न सकेको उनको भनाइ थियो। 

'प्रहरीसँग त्यो मानिस म हैन भनेको भए पनि समाउने आधार थिएन। स्वीकार गरेकाले मात्रै थाहा पाएको हो,' उनले प्रहरीबाट छुटेपछि विभिन्न सञ्चार माध्यमलाई दिएको अन्तर्वार्तामा भनेका छन्। विभिन्न सञ्चार माध्यममा ह्याकिङको समाचार आएपछि आफू डिप्रेसनको सिकार भएको पनि उनले बताएका छन्।

अर्को घटना- झण्डै एक वर्षअघि धमाधम नेपालका कलाकारहरुको फेसबुक ह्याक भयो। निर्देशक तथा कलाकार दीपाश्री निरौला, कलाकार सरोज खनाल, कार्यक्रम सञ्चालक सुशील नेपाल लगायतको फेसबुक ह्याक भएको थियो। ह्याकरले फेसबुकमा अन्यसँग समस्या परेको भन्दै पैसा मागेपछि प्रहरीकोमा मुद्दा दायर भएको थियो।

मुद्दा परेको दुई हप्तापछि प्रहरीले ह्याकर समात्यो। उनी थिए, पर्सा, बहुदजरमाई नगरपालिका वडा नम्बर ५ का १४ वर्षीय बालक। प्रहरीको सोधपुछमा ती बालकलाई अनलाइन गेम खेल्न पैसा आवश्यक परेको र ह्याकिङ गरेर मागेको बताएका छन्।

'सधैं बाबु-आमासँग पैसा माग्ने कुरा आएन। पब्जी खेल्दा पैसा चाहिने भयो,' उनले भनेका छन्, 'त्यसैले पैसा कमाउने सजिलो उपाय ह्याकिङ भयो।' ती बालकले सबैभन्दा सजिलो तरिका ‘फिसिङ मेथोड' अपनाएर ह्याकिङ गरेका थिए।

यी र यस्ता घटना डिजिटल युग सुरु भएसँगै देखिन थालेका छन्।

बग बाउन्टीको चक्करमा अपराधी बन्छन् बालबालिका
'नेपालका बिनित घिमिरेले फेसबुकको डिएनएस रेकर्ड भल्नरेविटी पत्ता लगाएर लाखौं कमाए', 'सुजन थापा मगरले बग बाउन्टीबाट कमाए १५ लाख र परिवारको ऋण तिरे' जस्ता समाचार विभिन्न सञ्चार माध्यममा आइरहेका हुन्छन्। नाम र रकम दुवै पाउने आशमा विशेषगरी १८ वर्ष मुनिका किशोर आकर्षित भइरहेका हुन्छन्।

हुन पनि विभिन्न सफ्टवेयर कम्पनीहरुले उनीहरुको कमजोरी पत्ता लगाइदिए पुरस्कार दिन्छन्। यही कमजोरी पत्ता लगाएर प्रशासनलाई खबर गरिदिनु बग बाउन्टी हो। नेपालमै पनि बग बाउन्टीबाट केही युवाले मनग्य आम्दानी गरेका छन्।

'ह्याकिङ नराम्रो हैन। यो साइबर अनुसन्धानको एक पाटो हो। यो दुई प्रकारको हुन्छ। ह्वाइट ह्याट ह्याकर र ब्ल्याक ह्याट ह्याकर,' आइटीको क्षेत्रमा काम गरिरहेका आश्विन थपलियाले भने, 'ह्वाइट ह्याट ह्याकर इथिकल ह्याकर हुन्। जो आफ्ना डिजिटल सिस्टममा समस्या आए समाधान गर्न काम लाग्छन्। बैंकदेखि ठूला कम्पनीमा ह्वाइट ह्याट ह्याकर जागिरे हुन्छन्। उनीहरु आफ्ना सफ्ट्वेरमा आएका समस्या, कमजोरीहरु समाधानका लागि हरदम तैनाथ रहन्छन्। त्यस्तै ब्ल्याक ह्याट ह्याकर भने अनइथिकल ह्याकर हुन्। उनीहरु बिना अनुमति अर्काको क्षेत्रमा घुस्ने प्रयास गरिरहन्छन्। इमेल, पासवर्ड लगायतको मिसयुज गर्छन्।'

आश्विनको कुरामा सहमतl जनाउँदै साइबर कानुन विशेषज्ञ तथा अधिवक्ता बाबुराम अर्याल भन्छन्, 'भर्खरै प्रविधिमा पोख्द हुँदै गएका बालबालिका बग बाउन्टीको चक्करमा ब्ल्याक ह्याट ह्याकर बन्न पुग्छन्। र, अपराधी हुन्छन्।'

'जेल जानु मात्रै सजाय हैन। आफूले जन्माएका बालबालिकाको सुनौलो भविष्य बिगारेर अभिभावक जति पछुताउँछन्, त्यो जत्तिको सजाय अरु हुनै सक्दैन।'

समय पहिले जस्तो छैन। अहिलेका बालबालिका पेट भित्रबाट प्रविधिमा प्रो भएर जन्मेका हुन्छन्। अर्याल भन्छन्, 'हामीले सानैदेखि डिजिटल अपराधका बारेमा पढाउन जरुरी छ। उनीहरुलाई इथिकल र अनइथिकल ह्याकिङबीचको भिन्नता सिकाउन आवश्यक छ।'

आफ्ना छोराछोरीलाई कम्युटर साइन्स पढाउने तर त्यसलाई गलत तरिकाले प्रयोग गरे अपराध हुन्छ भनेर सिकाउन नजान्ने अभिभावकका कारणि समस्या आएको उनको भनाइ छ।

बालबालिकाको अपराधको सजाय अभिभावकलाई
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा थन्केर बसेको छ, अनलाइन बालबालिका सुरक्षा निर्देशिका। जसमा बालबालिकाले इन्टरनेट प्रयोग गर्ने कम्प्युटरको सुरक्षित प्रयोगको पहिलो जिम्मेवारी कम्प्युटर धनीको हुनेछ भन्ने उल्लेख गरिएको छ। यसको अर्थ कम्प्युटर धनी अर्थात् अभिभावक नै बालबालिकाले गरेका डिजिटल अपराधको अपराधी हुनेछन्।

त्यस्तै बालबालिकाले इन्टरनेट प्रयोग गर्ने कम्प्युटर या अन्य ग्याजेट सामूहिक स्थलमा राख्नुपर्ने, एकल रुपमा जोखिमयुक्त सामग्रीको प्रयोग गर्ने वातावरण सिर्जना हुन नदिने लेखिएको छ। अन्यथा यसको जिम्मेवारी पनि अभिभावकले लिनुपर्नेछ।

ती बाहेक वेबसाइट तथा एप्स प्रयोग गर्दा लग अन गर्नु तथा उमेर समूहको संवेदनालाई ध्यान दिई पहुँचलाई व्यवस्थित गर्नु पनि अभिभावकको कर्तव्य हो।

यसको अर्थ, यदि यो निर्देशिका पास हुने हो भने बालबालिकाले गरेका डिजिटल अपराधको कारबाही अभिभावकले बेहोर्नुपर्नेछ। 

साइबर विशेषज्ञ अर्याल भन्छन्, 'जेल जानु मात्रै सजाय हैन। आफूले जन्माएका बालबालिकाको सुनौलो भविष्य बिगारेर अभिभावक जति पछुताउँछन्, त्यो जत्तिको सजाय अरु हुनै सक्दैन।'

बालबालिकाका लागि दिन-रात पसिना बगाउँछन् अभिभावक। उसैको भविष्य सुन्दर बनाउन आफ्नो भोक-तिर्खाको अनुभूति गर्दैनन्। जे भन्यो त्यही हातमा थमाइदिन्छन्। तर आफूले बच्चा खुसी बनाउन दिएका उपकरणको सही प्रयोगबारे सिकाउने, ध्यान दिने समय भने अभिभावकसँग हुँदैन।

'एक्कासि आफ्ना बालबालिकालाई प्रहरीले समातेको कुराले अभिभावकलाई जति ठूलो सजाय अरु कसलाई पर्ला र?,' अर्यालले भने, 'यहाँ समस्या बालबालिकाले गरेको अपराधका कारण कतिपय अभिभावकले भोगिरहेको सजायको अनुभूति नहुनु हो। यहाँ जसलाई पर्छ, उसलाई मात्रै थाहा हुन्छ। अरुलाई परेको समस्यामा उल्टै मनोञ्जन लिने चलन छ।'

चैत १०, २०७८ बिहीबार ०७:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।