कास्की जिल्ला अदालतको इजलास कक्ष तोडफोड, कागजात चोरिएको आशंका
पोखरा : जिल्ला अदालत कास्कीको इजलास कक्ष तोडफोड भएको छ। मंगलबार राती अदालतको एक र छ नम्बर इजलास तोडफोड गरेर महत्त्वपूर्ण कागजपत्रहरू चोरी भएको आशंका गरिएको प्रहरीले जनाएको छ।
वडा प्रहरी कार्यालय बैदामको गेटको सामु रहेको कास्की जिल्ला अदालतको एक नम्बर इजलासमा प्रमुख न्यायाधीश श्रीकृष्ण भट्टराई र छ नम्बर इजलासमा देवी प्रसाद योगीले मुद्दा हेर्दै आएका थिए। अदालतका सूचना अधिकारी निलप्रसाद पनेरुका अनुसार एक नम्बर इजलासको ढोका मात्र फुटाइएको छ भने ६ नम्बर इजलासको ढोका फोडेर मिसिल लगायतका कागजात रहेको दराज फोडिएको अवस्थामा भेटिएको छ। मिसिलसहितका कागजपत्रहरू राखिएको ठाउँमा नरहेकाले चोरी भएको आशंका गरिएको छ।
दराज फुटाएसँगै त्यहाँ रहेका महत्त्वपूर्ण कागजपत्र र मिसिलहरू चोरी भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ। चौबिसै घण्टा प्रहरी ड्युटीमा तैनाथ रहने जिल्ला अदालतको इजलास कक्षमा तोडफोड भएपछि सुरक्षामा गम्भीर आशंका उब्जिएको छ। वडा प्रहरी कार्यालय बैदामको सामुन्ने र अदालतको गेटमा समेत चौबिसै घण्टा प्रहरीले पहरा दिइरहने सुरक्षा घेरा भित्रको अदालतमा तोडफोड हुनुलाई शंकास्पद घट्नाकारुपमा लिइएको छ।
अदालत नजिकै मुख्यमन्त्रीको निवास, जिल्ला प्रशासन कार्यालय र अन्य सुरक्षा निकायका कार्यालयहरूको नजिकै रहेको अदालत परिसरमा चोरी भएको घटनाले प्रहरी र सुरक्षा संयन्त्रलाई नै चूनौंती दिएको छ। बुधबार बिहान सरसफाइ गर्न आएकी कर्मचारीले इजलास कक्षका ढोका फुटेको देखेर अन्य कर्मचारीलाई खबर गरेका थिए।
चैत ९, २०७८ बुधबार २२:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।