मूल्यवृद्धि नियन्त्रणका लागि मुख्यमन्त्री पोखरेलको चासो
पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पछिल्ला समयमा विभिन्न बहानामा मूल्यवृद्धि भएको गुनासो आएपछि नियन्त्रणका लागि चासो देखाएका छन्। बजारमा पेट्रोलियम पदार्थमा भएकोमूल्यवृद्धिका कारण बजारमा उपभोग्य बस्तुहरुमा अस्वाभाविक मूल्यवृद्धि भएका जन-गुनासो बढेपछि मुख्यमन्त्री पोखरेलले सरकारी पदाधिकारी र उपभोक्ता अधिकारकर्मीलाइ डाकेर छलफल गरेका छन्।
मुख्यमन्त्री पोखरेलले बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डलरको भाउ वृद्धि, रुस र युक्रेनबीचको युद्धको कारण देखाएर बजारमा अस्वाभाविक महँगी बढेको गुनासो आएपछि नियन्त्रणका लागि पहल थालिएको बताए। उनले भने, ‘बजारमा विभिन्न बहानामा मा महँगी बढेको छ। आम नागरिकमूल्यवृद्धिको मारमा परेका छन् । मूल्यवृद्धिलाई नियन्त्रण गर्न एकल प्रयासले सम्भव छैन। तीनै तहकै सरकारबीच समन्वय गरेर मूल्यवृद्धि नियन्त्रणमा लाग्नुपर्छ।’
छलफलमा मुख्यमन्त्रीले बढ्दो महँगी नियन्त्रण गर्न तत्कालै अगाडी बढ्न निर्देशन दिएपछि तीन बुँदे निर्णय गरिएको छ। महँगी नियन्त्रणका लागि प्रदेशको पर्यटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सबै सरोकारवालाबीच छलफल गर्ने तीन वटा निर्णय भएको निमित्त प्रमुख सचिव रामप्रसाद आचार्यले बताए।
उनका अनुसार प्रदेशस्तरीय बजार अनुगमन समितिले बजार अनुगमन कार्यालय प्रभावकारी बनाउन प्रदेश, जिल्लास्तर र स्थानीय स्तरका बजार अनुगमन समितिसँग समन्वय गरेर बजार अनुगमन गर्ने निर्णय भएको छ। यसैगरी जिल्लास्तरीय बजार अनुगमन समितिलाई सक्रिय बनाउन गण्डकीका ११ वटै जिल्लाका प्रशासन कार्यालयलाई पत्राचार गर्ने निर्णय समेत गरिएको आचार्यले बताए।
बैठकमा पर्यटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कँडेलले अनियन्त्रित बजार भाउलाई काबुमा राख्न उपभोक्ता सचेतनाका साथै क्षमता अनुसार नियमित अनुगमन गर्दै आएको बताए। उनले मन्त्री कँडेलले प्रदेशले अनुगमन गर्दै आए पनि कतिपय अवस्थामा कानुनी जटिलताका कारण समस्या देखिएको उल्लेख गरे।
उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइरालाले बजार अनुगमनका क्रममा अधिकतम खुद्रा मूल्य (एमआरपी) मा लापरबाही देखिएको बताए। उनले केही कम्पनीहरूले उत्पादित सामानको मूल्य दिनै पिच्छे फरक फरक मूल्य कायम गरेर पठाउने गरेको बताए।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज रिजालले विभिन्न निकाय समन्वयमा नियमित रूपमा बजार अनुगमन हुँदै आए पनि पछिल्लो समय व्यवसायीहरूले आफू खुसी मूल्यवृद्धि गरेको बताए। उनले पोखरामा शुद्ध पिउने पानी (मिनरल वाटर) मा कार्टेलिङका कारण मंहगी बढेको बताए।
कार्यक्रममा मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कमाल, मुख्य न्यायाधिवक्ता रोहितराज बास्तोला, आन्तरिक मामिला सचिव बद्रिनाथ अधिकारी, नेपाल प्रहरीका प्रदेश प्रहरी प्रमुख डिआइजी दिवेश लोहनी, राष्ट्रिय अनुसन्धान विभाग गण्डकी प्रदेशका निर्देशक कुलदेव थापा लगायतले बजारमा देखिएका समस्या समाधानका सबै सरोकारवालाहरू समन्वय गरेर अगाडी बढ्नु पर्ने बताएका थिए।
चैत ९, २०७८ बुधबार २१:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।