एमालेको बहुमत आउने ओलीको ओभर कन्फिडेन्ट, नेता भन्छन् ‘लौन अध्यक्षलाई बुझाइदिनुस्’
काठमाडौँ : एमालेका अध्यक्ष केपी शर्मा ओलीको नीति छ, एकीकृत समाजवादीमा गएका नेता र कार्यकर्ता अन्य पार्टीबाट ल्याएर क्षतिपूर्ति भर्ने। जसको लागि उनले अरू पार्टीका भाँडो रित्याउन पार्टीको जारी तेस्रो केन्द्रीय कमिटीमा निर्देशनै दिए। प्रदेश १ को यात्रा गरेका ओली मधेस प्रदेश र लुम्बिनी प्रदेशमा म्याराथन सभा गर्दैछन्। पार्टी कमजोर अवस्था छ, र अरू दलहरूसँग तालमेल गर्नुपर्छ भन्ने उनी सुन्नै चाहँदैनन्। सत्ता गठबन्धनमा विग्रह नआए स्थानीय तहसँगै प्रदेश र सङ्घमा समेत एमालेलाई सहज छैन। पार्टीका नेताहरू यसमा सहमत छन्। तर ओली सहमत देखिएका छैनन्।
नेताहरू समेत खुलेर पार्टीको अवस्थाबारे टिप्पणी गर्न सक्ने अवस्थामा छैनन्। भय उनै ओलीको। पार्टीको अवस्थाबारे सार्वजनिक टिप्पणी गरे पार्टीको विपक्षमा लागेको रूपमा पार्टी अध्यक्षले लिइदिने जोखिम छ। अनौपचारिक कुराकानीमा भने उनीहरू अवस्था पार्टी अध्यक्षले सोचेजस्तो सहज नभएको बताउँछन्।
‘पार्टीको अवस्था यस्तो छ, यो-यो कारणले भोट आउँदैन भन्यो भने उहाँ मान्दै मान्नुहुन्न। भोट हाल्ने ठाउँ कहाँ छ भन्दै प्रतिप्रश्न गर्नुहुन्छ,’ एक स्थायी कमिटी सदस्य तथा सांसदले उकेरासँग भने। एमालेले पहिले जितेको ठाउँको ५० प्रतिशत ठाउँमा हार्दै छ भन्ने सुनिन्छ नि भन्ने प्रश्नमा एमालेका एक स्थायी कमिटी सदस्यले उकेरासँग भने ‘लौन यो कुरा हाम्रो अध्यक्षलाई भन्दिनुस्। हामीले भने त अनर्थ सोच्छन्।’
ओलीको नजरमा पार्टी भनेको एमाले मात्रै हो अहिले। अनि जनताको भोट हाल्ने चिन्ह भनेको सूर्य मात्रै हो। बुधवारको बैठकमा उनले पेस गरेको राजनीतिक प्रतिवेदन अनि उनले गरेको सम्बोधनको सार पनि यस्तै थियो। गठबन्धन गर्नु भनेको कमजोर हुनु हो भन्दै उनको प्रतिवेदनमा सकेसम्म तालमेल नगरी चुनावमा जाने कुनै स्थानीय तहमा तालमेल गर्नुपर्ने देखिए जिल्लाले निर्णय गर्ने प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनमा सत्ता गठबन्धन अलोकप्रिय रहेको र एमालेमा प्रवेश गर्नेहरूको लहर चलेको भन्दै यसले नै पार्टी लोकप्रिय रहेको देखाइरहेको दाबी गरिएको छ। एकीकृत समाजवादीलाई ओली पार्टी समेत स्वीकार गर्दैनन्। उनले प्रतिवेदनमा एकीकृत समाजवादीलाई माधव नेपाल गुट लेखेका छन्। अनि बैठकमा एकीकृत समाजवादीले एमालेलाई कुनै घाटा नलागेको निष्कर्ष समेत निकाले।
ओली निकट नेताहरू पनि उनकै भाषा बोल्छन्। प्रतिनिधि सभाका सचेतक विशाल भट्टराई एमालेका कार्यकर्ता पार्टीप्रति कटिबद्ध रहेको दाबी गरे।
‘एमालेका कार्यकर्ता पार्टीप्रति बफादार छन्। प्रतिबद्ध छन्। हाम्रो शक्ति भनेकै त्यही हो,'भट्टराईले उकेरासँग भने।
तर उकेराले कुरा गरेको अधिकांश नेताहरू पार्टी अध्यक्ष वास्तविकताभन्दा धेरै पर रहेको बताए। बुधवारबाट सुरु भएको केन्द्रीय कमिटीको तेस्रो बैठकमा सातै प्रदेशका अध्यक्षहरूले गरेको प्रदेशगत ब्रिफिङमा सबै दलहरू एक्ला एक्लै चुनावमा गए एमालेलाई सहज हुने तर सत्ता गठबन्धनका दलहरू चुनावमा गठबन्धन गरेर गए गाह्रो हुने नै ब्रिफिङ गरेका थिए।
यस्तो थियो प्रदेश अध्यक्षको ब्रिफिङ
एक नम्बर प्रदेशका अध्यक्ष तुलसी प्रसाद न्यौपानेले भने प्रदेश १ मा पार्टीको आकर्षण बढेको भन्दै राम्रै नतिजा आउन सक्ने बैठकमा ब्रिफिङ गरेको एक सहभागीले बताए। एमाले विभाजित भएर एकीकृत समाजवादी बने पनि प्रदेश १ मा विभाजनको असर न्यून रहेको उनले दाबी गरेका थिए।
मधेस प्रदेशका अध्यक्ष राम अवतार यादवले पार्टी प्रवेशको लहर चलेको र अवस्था सुधार हुँदै गएको ब्रिफिङ गरेका थिए। उनले सिराहा, सप्तरीलगायतका जिल्लामा पार्टी एक नम्बरमा रहेको दाबी गरेका थिए। एमाले पहिलो स्थानमा रहँदा दोस्रो नम्बरमा कांग्रेस, तेस्रोमा जनता समाजवादी पार्टी, चौथोमा माओवादी केन्द्र र पाँचौँमा लोकतान्त्रिक समाजवादी पार्टी रहेको उनको निष्कर्ष थियो।
वाग्मती प्रदेशमा एमालेले ८० स्थानीय तहमा विजय हासिल गर्ने आङ्कलन अध्यक्ष केशव पाण्डेले सुनाएका थिए। प्रदेशका १३ जिल्लामा ३ वटा महानगरपालिका, १ वटा उपमहानगरपालिका, ४१ वटा नगरपालिका तथा ७४ वटा गाउँपालिका गरी १ सय १९ स्थानीय तह छन्।
एक्ला एक्लै चुनावमा गए ८० वटा पालिकामा एमालेले जित्ने पाण्डेको ब्रिफिङ थियो। बागमतीमा एमाले पहिलो दल बन्ने बताएका उनले सत्ता गठबन्धन भए जित्ने स्थानीय तह घट्ने बताए।
उता गण्डकीका अध्यक्ष नवराज शर्माले एक्ला एक्लै चुनावमा गए एमालेको सिट पहिलेभन्दा केही बढ्ने तर सत्ता गठबन्धन कायमै रहेमा भने एमाले कमजोर अवस्थामा पुग्ने ब्रिफिङ गरेका थिए। एमाले यसअघि ३९ स्थानीय तहमा विजयी भएको थियो।
गठबन्धन कायम रहेमा अहिले २७ स्थानीय तह जित्ने अध्यक्ष शर्माले बैठकमा रिपोर्टिङ गरे। म्याग्दी, मुस्ताङ, पर्वत, कास्की, स्याङ्जा, लमजुङ र मनाङमा पहिलो, बागलुङ, नवलपुर र तनहुँमा दोस्रो र गोरखामा तेस्रो रहने ब्रिफिङ गरेका थिए।
१०९ स्थानीय तह भएको लुम्बिनीमा एमाले एक्लै लडे ६५ स्थानीय तहमा जित हुने ब्रिफिङ अध्यक्ष राधाकृष्ण कँडेलले गरेका थिए। तर, गठबन्धन कायम रहेमा ४१ सिट जित्न सकिने कँडेलको आङ्कलन छ। लुम्बिनीका ९ जिल्लामा एमाले पहिलो, २ जिल्लामा माओवादी पहिलो रहेको र कपिलवस्तु जिल्लामा कांग्रेससँग हाराहारीमा रहेको उनले रिपोर्ट गरेका थिए।
कर्णाली प्रदेश अध्यक्ष विनोद कुमार शाहले ७९ पालिकामध्ये २९ वटा पालिका जित्ने आङ्कलन सुनाए। विगतमा एमाले २७ पालिका जितेको थियो। सत्ता गठबन्धन बनेमा १५ वटा मात्रै जित्ने स्थितिमा रहेको बताए। उनले जाजरकोट, सुर्खेत, दैलेख र डोल्पामा एमाले पहिलो, कालिकोट। मुगु र हुम्लामा दोस्रो जुम्लामा पार्टी तेस्रो हुने आँकडा पेस गरेका थिए।
सुदूरपश्चिम प्रदेशका अध्यक्ष दामोदर भण्डारीले कार्यकर्ता घर फर्किने क्रम रहेकाले प्रदेशमा पार्टी पहिलो बन्ने ब्रिफिङ गरेका थिए। स्थानीय निर्वाचनमा सबै पार्टी अलग–अलग निर्वाचनमा गएमा ३८ पालिका जित्ने रिपोर्ट प्रदेशे पेस गरे।
त्यस्तो अवस्थामा अरू ३७ पालिकामा प्रतिस्पर्धा हुने र १३ पालिकामा अवस्था कमजोर रहेको उनको ब्रिफिङ छ। त्यस्तै सत्ता गठबन्धन कायम रहेमा २३ पालिकामा जितिने ४६ पालिकामा प्रतिस्पर्धा हुने र १९ वटा पालिकामा अवस्था कमजोर हुने उनको आङ्कलन छ।
प्रदेशको ब्रिफिङ पछि एमालेले चुनावमा गठबन्धन गर्छ कि गर्दैन भन्ने प्रश्नमा प्रचार विभाग उप प्रमुख विष्णु रिजालले अध्यक्षको प्रतिवेदमा स्पष्ट ढङ्गले आफ्नो बलमा चुनाव लड्छौ र पार्टीलाई पहिलो नम्बरमा बनाउँछौँ भन्ने प्रतिबद्धता मार्ग निर्देशन प्राप्त भएको बताए।
‘स्थानीय तहमा आवश्यकता पर्यो भने जिल्ला कमिटीले निर्णय गर्न सक्ने र त्यसको लागि प्रदेश कमिटीसँग अनुमति माग गर्नुपर्ने प्रावधान छ,’ रिजालले भने।
अर्का केन्द्रीय सदस्य ऐन महर पार्टी विभाजनको असर निर्वाचनमा पर्ने र त्यसमा कम क्षति होस् भन्नेतर्फ पार्टीको सोचाइ रहेको बताए। ‘विभाजनको असर त निश्चित पर्छ। तर हामी पार्टीलाई पहिलो बनाउन लागि परेका छौँ,’ महरले उकेरासँग भने।
चैत ९, २०७८ बुधबार २०:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।