स्थानीय तहको निर्वाचन जित्न एमालेले बनायो नौ बुँदे रणनीति, तालमेलको जिम्मा जिल्लालाई
काठमाडौँ : प्रमुख प्रतिपक्षी दल एमालेले स्थानी तह निर्वाचन जित्न नौ बुँदे रणनीति बनाएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठकमा पेस गरेको प्रतिवेदनमा सकेसम्म एक्लै निर्वाचन जित्ने गरी जाने तर कतै तालमेल गर्नुपर्ने देखिए जिल्ला कमिटीले निर्णय गर्ने उल्लेख छ।
उसले पार्टीका शुभेच्छुकहरू विदेशमा रहेका भए मतदानका लागि स्वदेश फर्कन आव्हान गर्ने र सम्पर्क कमिटी र सम्पर्क मञ्चकाहरु आफ्नो जिल्लामा फर्किएर पार्टीको पक्षमा प्रचारमा लाग्ने रणनीति बनाएको छ।
प्रतिवेदनमा स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन चाहनेको योग्यता समेत उल्लेख गरिएको छ।
'पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिबद्धता निर्वाचित जनप्रतिनिधिहरूको कामको मूल्याङ्कन, लोकप्रियता र विजयको सुनिश्चितता आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा, कार्यक्षमता एवं सुशासन र विकासप्रतिको दृष्टिकोण (भिजन) तथा सन्तुलन र समावेशिताको पक्षलाई आधार बनाएर उम्मेदवार चयन गर्ने,' प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनमा उल्लेख गरिएका रणनीति
-पार्टी केन्द्रीय कमिटीका तर्फबाट वर्तमान राजनीतिक परिस्थिति, पार्टीका मुख्य नीतिहरू, आगामी कार्यदिशा तथा समृद्ध नेपाल, सुखी नेपालीको आकाङ्क्षा पूरा गर्न राष्ट्रियस्तरमा भएका काम र स्थानीय विकास तथा समृद्धिसम्बन्धी पार्टीको परिकल्पना, कार्यक्रम र मार्गचित्र समेटेर घोषणा-पत्र सार्वजनिक गर्ने । यो काम पार्टी स्थापना दिवस ( २०७९ वैशाख ९ गते ) का दिन गर्ने।
-केन्द्रीय नीतिको मार्गदर्शन र केन्द्रले तयार गरेको ढाँचामाथि आधारित रहेर स्थानीय तहमा पार्टीका उपलब्धि हामी पराजित भएका ठाउँमा विगतमा गरेका प्रतिबद्धता र विपक्षीले विजय हासिल गरेका कारण त्यसमा आएको अवरोध समेतलाई समेटेर आगामी लक्ष्य र कार्य योजनासहितका प्रतिबद्धता पत्र तयार गर्ने । स्थानीय प्रतिबद्धता पत्र प्रत्येक पालिकामा आगामी वैशाख ९ गते सार्वजनिक गर्ने ।
-एक्लै विजय हासिल गर्न तयारीका साथ अगाडि बढ्ने। स्थानीय वास्तविकता र आवश्यकता अनुसार तालमेल आवश्यक भएमा सम्बन्धित जिल्ला कमिटीले निर्णय गर्न सक्ने। यसमा प्रदेश कमिटीको जानकारी र सहमति आवश्यक पर्ने।
-पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिबद्धता निर्वाचित जनप्रतिनिधिहरूको कामको मूल्याङ्कन, लोकप्रियता र विजयको सुनिश्चितता आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा, कार्यक्षमता एवं सुशासन र विकासप्रतिको दृष्टिकोण (भिजन) तथा सन्तुलन र समावेशिताको पक्षलाई आधार बनाएर उम्मेदवार चयन गर्ने।
-महानगर र उपमहानगरका प्रमुख, उपप्रमुखहरूको उम्मेदवार चयन सम्बन्धित पालिका कमिटी तथा जिल्ला र प्रदेशको सिफारिसमा केन्द्रीय कमिटीले, नगर प्रमुख, उपप्रमुख तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्षका उम्मेदवारको चयन पालिका कमिटी र जिल्लाको सिफारिसमा प्रदेश कमिटीले तथा सो मातहतका उम्मेदवारबारे वडा र पालिका कमिटीको सिफारिसमा जिल्लाले निर्णय गर्ने। केन्द्रले आवश्यक ठानेमा कुनै पनि तहको निर्णयमा पुनर्विचार गर्न सक्नेछ।
-निर्वाचनसम्म गैर भौगोलिक कार्यक्षेत्र भएका सबै केन्द्रीय सदस्यहरू आफू सम्बद्ध जिल्लामा निर्वाचनमा केन्द्रित हुने। प्रदेश कमिटीका सबै सदस्यहरू आफू समान पालिकामा, जिल्ला कमिटीका सदस्यहरू आफू सम्बद्ध वडामा, वडा कमिटीका सबै सदस्यहरू आफू सम्बद्ध टोलमा तथा टोल कमिटीका सदस्यहरू घरधुरी गाँडेर निर्वाचन तयारीको काममा केन्द्रित हुने।
-प्रवासमा रहेका पार्टीका कार्यकर्ता, समर्थक र शुभचिन्तकहरूलाई स्वदेश फर्केर सहभागी हुन आह्वान गर्ने र सम्पर्क कमिटी र सम्पर्क मञ्चमा आबद्धहरू आफ्नो पालिकामा फर्केर निर्वाचनमा केन्द्रित हुने।
-उम्मेदवार हुनका लागि आवश्यक पर्ने योग्यता र उम्मेदवार अयोग्य हुनसक्ने कानुनी व्यवस्थाबारे सबै सूचना हासिल गर्ने र तदनुरूप तयारी गर्ने।
-मतदान केन्द्र, मतदाता, मतपेटिका र मतको सुरक्षाका लागि आवश्यक सम्पूर्ण व्यवस्था गर्ने। निर्वाचन परिचालनका लागि र वडा स्तरमा तत्काल निर्वाचन परिचालन तथा प्रचार कार्यालय स्थापना गर्ने।
चैत ९, २०७८ बुधबार १९:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।