बहस लम्बिँदा पल र कृष्णलाई कारागारमा थुन्ने कि धरौटीमा छाड्ने भन्ने आदेश आएन
तनहुँ : नाबालिगको बलात्कार गरेको अभियोग लागेका अभिनेता पल शाह र मतियारका अभियुक्त कृष्ण जोशीलाई धरौटीमा छाड्ने कि मुद्दाको किनारा नलागेसम्म कारागारमा राख्ने भन्ने आदेशका लागि भएको बहस बुधवार टुङ्गिएन।
बुधवार जिल्ला अदालत तनहुँमा थुनछेक बहस सुरु भएको थियो। सरकारी वकिलको कार्यालयले घटना हुँदा पीडितको उमेर १६ वर्षभन्दा कम भएकाले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसारको कसुर गरेको दाबी गर्दै कानुन अनुसार १४ वर्षको जेल सजाय माग गर्दै मुद्दा दायर गरेपछि जिल्ला अदालतमा बुधवारबाट बहस सुरु भएको हो।
पीडिततर्फको बहस सकिए पनि प्रतिवादीको बहस बुधवार नसकिँदा थुनछेकको आदेश आउन सकेन। बिहीबार प्रतिवादीको तर्फबाट अधिवक्ताहरूले बहस सक्काएर वादीतर्फको प्रतिउत्तर बहस सकिए आदेश आउन सक्छ।
बुधवार पीडितका तर्फबाट जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको इजलासमा बहस भएको सरकारी वकिलको कार्यालय तनहुँका जिल्ला न्यायाधिवक्ता विपिनराज तिवारीले उकेरालाई बताए। तिवारीले बादीका तर्फबाट चार जनाले बहस गरिसकेपछि प्रतिवादीका तर्फबाट बहस चलिरहेको बताए।
‘आज हाम्रो पक्षबाट बहस सकिएपछि प्रतिवादीका तर्फबाट बहस भएको छ। भोलि (बिहीबार) दिउसोसम्म उहाँहरूको बहस सकिन्छ। त्यसपछि फेरी हाम्रो तर्फबाट काउन्टरमा बहस हुन्छ। त्यसपछि थुनछेकको आदेश हुने हो। सम्भवतः भोलि होला।’
बुधवार पीडितका तर्फबाट जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्मा, अधिवक्ताहरू मोहना अन्सारी, सरिता तिवारी र राधिका खतिवडाले बहस गरेका थिए।
उनीहरूले शाहले नाबालिगलाई विवाहको प्रलोभनमा पारेर बलात्कार गरेको देखिएको बताउँदै यदि उनी धरौटीमा छुटेको अवस्थामा प्रमाण नष्ट गर्न सक्ने भएकाले पुर्पक्षका लागि थुनामा राख्नु पर्ने माग गरेका थिए। पीडितका तर्फबाट बहस गरेकाहरूले आरोपित जोशीले समेत नाबालिगलाई धम्क्याएर अनुसन्धानलाई प्रभावित पार्न खोजेकाले दाबी गर्दै उनलाई समेत मतियारको रूपमा पुर्पक्षका लागि थुनामा राख्न माग गरेका थिए।
पीडितको तर्फबाट बहस सकिएपछि कलाकार शाहको पक्षका अधिवक्ताहरूले बहस गरिरहेका छन्। पलको पक्षमा १५ जना अधिवक्ताहरूले बहस गर्दैछन्। दुवै तर्फका कानुन व्यवसायीले बहस गरिसकेपछि अदालतले थुनछेक आदेश जारी गर्ने छ। थुनछेक आदेशमा बलात्कार अभियुक्त शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटी वा तारेखमा छाड्ने भन्ने निर्णय हुनेछ।
मङ्गलवार सरकारी वकिलको कार्यालयले शाह विरुद्ध बढीमा १४ वर्ष र म्यानेजर जोशीले मतियारका रूपमा कार्य गरेकाले ७ वर्ष कैद सजाय माग गर्दै अदालतमा मुद्दा दर्ता गरेको थियो । अदालतले मङ्गलवार नै लिएको बयानमा दुवैले जिल्ला न्यायाधिवक्ता र अनुसन्धानमा खटिएका प्रहरी समक्ष दिएको बयानलाई नै दोहोर्याएको जानकारले बताएका छन्।
चैत ९, २०७८ बुधबार १८:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।