बयान बदल्ने खेल : सरकारी वकिलसँग झ्याप थिएँ भनेका पृथ्वीले अदालतमा भने- मैले रक्सी खाने गरेकै छैन (दुवै बयानसहित)
काठमाडौं : अनुसन्धानमा भएका कमजोरी र प्रभावमा पारेर अभियुक्तले कसरी आफ्ना बयान बदल्छन् अनि त्यसैलाई आधार बनाएर कसरी अदालतमा चलखेल हुनसक्छ भन्ने घटना बनेको छ, बुढानीलकन्ठ घटना।
पृथ्वी मल्लको लापरबाहीले पेटीमा पैदल यात्रा गरिरहेकी लिला देवकोटाको ज्यान गयो। घटनाको अनुसन्धान सुरु भएदेखि नै घटनालाई सामान्यीकरण गर्न अनेक प्रयास भएका थिए। अदालतमा मुद्दा पुगेपछि प्रारम्भमा पुर्पक्षका लागि थुनामा राख्ने आदेश आएको घटना सर्वोच्च अदालतसम्म पुग्दा स्वास्थ्यको कारण देखाउँदै धरौटी निस्किएको थियो। २ वर्षपछि जिल्ला अदालत काठमाडौँबाट फैसला आउँदा रक्सी खाएर लापरबाहीपूर्ण रुपमा गाडी चलाएको घटना अनजानबस भएको घटनाको रुपमा बदलियो।
एकाएक अभियोग बदलिनुका कारण के-के थिए, अदालतको पूर्ण पाठ आएपछि प्रष्ट हुने नै छ। यो घटनाको मिसिलको अध्ययन गर्दा अदालतबाट आएको फैसलाको एक आधार मल्लले अदालतमा दिएको बयान समेत देखिएको छ जहाँ उनले रक्सी खाएर गाडी चलाएको आफ्नो बयान अस्वीकार गर्दै आफूले कहिल्यै रक्सी नखाने दावी गरेका छन्।
२०७६ साल पुस २ गते जिल्ला सरकारी वकिल कार्यालयमा सहायक जिल्ला न्यायाधिवक्ता निरन्जन स्थापित समक्ष महानगरीय प्रहरी वृत्त महाराजगञ्ज काठमाडौंका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक अनिता महत समक्ष मल्लले दिएको बयानमा उनले भनेका छन्, 'साथीहरुसँग भएकाले मादक पदार्थ सेवन गरी कार चलाएको थिएँ। मैले ज्याक डेनिअल्स नामक रक्सी खाएको थिएँ। नसाको सुरमा भएकाले के कति खाएको थिएँ, याद भएन।'
अदालतका न्यायधीश दीपककुमार दाहालको इजलासमा बयान उनले बदल्दै भने, 'म मादक पदार्थ सेवन गर्दिनँ र यो समयमा २ वटा रेडबुल सेवन गरेको थिएँ। मैले रक्सी सेवन नगरेको हुँदा स्वास्थ्य परीक्षण झुटो हो।'
उनको बयानमा साथीहरुसँग रातभर विभिन्न रेष्टुरेन्टहरु चहारेको स्वीकार गरेको देखिन्छ। उनीसँगै भएकाले मदिरा पिएको बयान दिएका पनि छन्। स्वास्थ्य परीक्षण रिपोर्टमा पनि रक्सी खाएको देखिएको थियो। उनले अदालतमा अघिल्लो दिन रातभर रक्सी खाएर नबसेको र बिहानै मास्केलाई लिएर शिवपुरीतिर जाने क्रममा दुर्घटना भएको दावी समेत गरेका छन्।
उनले कसरी बयान बदले? जिल्ला न्यायाधिवक्ता र अदालतको इजलासमा दिएको दुवै बयान:
प्रहरी समक्ष २०७६ पुस २ गते गरेको बयान
मेरो नाम पृथ्वी मल्ल। जन्म मिति २०५४-१०-२७ गते हो। म हाल २१ वर्षको भए। घर काठमाडौँ, बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ८ चपलीहाइटमा पर्छ। म अमेरिकाको फ्लोरिडा भन्ने स्थानमा बस्दै आएको छु। मेरो परिवारमा आमा, बुबा र म लगायत ३ जनाका छौँ। शैक्षिक योग्यतामा अमेरिकामा बिए म्यानेजमेन्टमा अध्ययनरत छु।
मैले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नेपाली नागरिकता प्रमाणपत्र र राहदानी बनाएको छु। मैले सवारी चालक अनुमतिपत्र यातायात व्यवस्था कार्यालय बागमती, ललितपुर, एकान्तकुनाबाट र अमेरिकाबाट समेत सवारी चालक अनुमतिपत्र बनाएको छु। उक्त सवारी चालक अनुमतिपत्रबारे मलाई हाल केही याद छैन। पछि पेस गर्नेछु।
म एक वर्षदेखि अध्ययनको लागि अमेरिका गएकोमा मिति २०७६-८-२३ मा बिदामा आफ्नो घर आएकोमा २०७६-८-२७ गते बेलुका १७.३० बजेको समयमा म आफ्नो घरबाट मेरो आफ्नै बा१४च ६१२३ नम्बरको सुजुकी कम्पनीको निजी कार चलाएर नक्साल नारायण चौरमा रहेको जिम हलमा गएँ।
त्यहाँबाट अन्दाजी १९: ३० बजेको समयमा छाउनी बस्ने करिश मास्के भन्ने साथीले फोन गरेकोले साथीलाई लिएर बलुवाटारस्थित रहेको पलिन्ज गार्डेन भन्ने रेष्टुरेण्टमा दुवै जना गई खाना खाएर २१:०० बजेको समयमा ठमेलमा गएको हो।
राति साढे १ बजे एलओडीमा पुगेको हो। करिश र उसका दुई जना साथी लिएर पसलबाट खाने कुरा लिई ग्रिन भ्याली रिसोर्ट पुगी केही बेर बसी फर्केको हो। पुल कट्न लाग्दा रातभरिको निद्राले झ्याप्पै छोप्यो। म निदाएँ। अनियन्त्रित भई लिला देवकोटालाई ठक्कर दिई सडक किनारमा रहेको बिजुलीको पोलमा गाडी ठोक्कियो।
कारबाट झरेर हेर्दा देवकोटा गम्भीर घाइते हुनुभएको थियो। मान्छेहरु भेला भएको देखेपछि केटी साथीहरुलाई बाहिर निकालेर घर पठायौँ। तत्काल प्रहरी टोली आएर घाइतेलाई उपचारका लागि अस्पताल पठाएँ। म त्यहीँ पक्राउ परेँ। पछि घाइतेको मृत्यु भएको सुनेँ।
साथीहरुसँग भएकाले मादक पदार्थ सेवन गरी कार चलाएको थिएँ। मैले ज्याक डेनिअल्स नामक रक्सी खाएको थिएँ। नसाको सुरमा भएकाले के कति खाएको थिएँ, याद भएन।
मैले चलाएको कार दुर्घटना भई पुनः आफ्नै साइडतिर गई कारबाट धुवाँ समेत निस्किएर आफैं बन्द भएको थियो। कार चलाउने क्रममा पैदल हिँडिरहेको पैदल यात्रीलाई मैले देखेको थिइनँ। सवारी दुर्घटना हुँदा मात्र देखेको हो।
मैले चलाएको बा१४च ६१२३ नम्बरको कारले पैदल यात्री देवकोटालाई ठक्कर दिएको सिसी क्यामेराले कैद गरेको फुटेज हेरें। सवारी दुर्घटना त्यसरी नै भएको हो।
कार गियर २ मा राखी २५ देखि किमी प्रतिघण्टाको स्पिडमा चलाएको थिएँ। यातायात व्यवस्था विभाग ललितपुर, एकान्तकुना कार्यालय बागमतीबाट क र ख वर्गको सवारी साधन चलाउन पाउने अनुमति लिएको थिएँ। त्यति बेला नै मैले मादक पदार्थ सेवन गरी सवारी साधन चलाएकोले ट्राफिक प्रहरीले चिट दिएकोले सो चिट समेत हराएकोले हाल मसँग सवारी चालक अनुमतिपत्र छैन।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपककुमार दाहालको इजलासमा मल्लले दिएको बयान:
म नारायणस्थानबाट पक्राउ परेको हुँ। प्रहरी कार्यलयमा मलाई मेन्टल्ली ह्यारेसमेन्ट हुन्थ्यो। यो घटना २०७८-८-२८ को हो। कार दुर्घटना भएको हो।
दुर्घटना हुँदा करिश मास्के र उहाँका दुई जना महिला साथी हुनुहुन्थ्यो। दुर्घटनापश्चात गाडीबाट धुवाँ आएको मलाई थाहा छ। गाडीमा अन्य के-कसो भयो मलाई थाहा भएन। दुर्घटना हुन लाग्दा अचानक स्टेरिङ जाम भएको र ब्रेक समेत नलागेको हो। मृतकलाई मेरो गाडीले ठक्कर दिएको ठिक हो।
मैले रक्सी सेवन नगरेको हुँदा स्वास्थ्य परीक्षण झुटो हो। अस्पताल प्रहरीले लगेको सही हो। सो अस्पतालमा ब्लड टेष्ट गर्ने, अल्कोहल टेष्ट गर्ने कुनै कार्य भएन।
अधिकारप्राप्त अधिकारी समक्ष गरेको बयान मैले दिएको होइन। उक्त कागजको सही-छाप भने मेरो हो। अघिल्लो करिश मास्केसँग ८ बजेको समयमा भेट भई शिवपुरीतर्फ लागेका हौँ। कागजमा भनिए जस्तो अघिल्लो दिन भेट भएर रक्सी खाएको होइन। घाइतेको उद्धार गर्न लाग्दा प्रहरीले पक्राउ गरेको हो।
रिसोर्टका सुरक्षा गार्ड अर्जुन पाण्डेले के-कागज थमाइदिनुभयो थाहा भएन। सो दिन अर्जुन पाण्डेले के-कसरी रक्सी खाएको थियो भन्नुभयो थाहा भएन। मेरो गाडी सानो कार हो। ४० मिटर परसम्म उछिट्टिन सक्दैन। इन्जिन अप गरेर आफ्नो साइडतिर गाडी काटेर रोकी निस्केर घाइतेतर्फ गएको हुँ। उहाँले के-कसरी रक्सी खाएको भनी लेखाउनु भयो थाहा भएन। घाइते महिलालाई म र करिश मिली गाडी रोकी अस्पताल लग्न खोज्दा प्रहरी आएर हामीलाई समातेको हो।
मैले मादक पदार्थ सेवन गर्दिनँ र यो समयमा रेड बुल २ वटा सेवन गरेको थिएँ। अन्य कागज गर्ने सन्तोषी लामा, शंकरप्रसाद पनेरू मलाउद्दिन मियाँले के-के कागज गरिदिनु भएको हो मलाई थाहा भएन।
२०७६-८-२८ सात बजे उठेको हुँ। तत्पश्चात मेरो साथी करिश मास्केले साढ़े सात आठ बजेतिर फोन गरे। अमेरिकाबाट आई चलाएको हुँदा नम्बर याद भएन। म घरबाट गाडी लिएर निस्केपछि करिश मास्के र उहाँको दुई जना साथी लिएर बिगमार्टबाट चकलेट, चिप्स रेडबुल किनी लगेको हुँ।
ग्रिन भ्याली रिसोर्ट लाग्यौँ। बाटो लामो थियो। पानी परिरहेको थियो। रिसोर्टमा गाडी पार्क गरेर हामी रेष्टुरेन्टतिर लाग्यौँ। साथीहरुले चिया-कफी अर्डर गरे। मैले रेडबुल खाएँ। खाना कुर्दाकुर्दा अबेर भयो। मैले स्वेटर मात्र लगाएको हुँदा जाडो भयो। खाना लिएर तल बालुवाटारतिर बसौँ भनी रेष्टुरेन्टबाट बाहिर निस्क्यौँ।
मैले मेरो दाइ अशिम राणा र भाउजु तथा उहाँहरुका दुई वटा छोरालाई भेटे। उहाँहरुले एकैछिन बस भन्नुभयो। साथीहरु छन् भनी म हिँडे। मैले ड्राइभ गरेको थिएँ। बुढानीलकण्ठ स्कुलको ओरालो लागिरहेको बेला गाडीको स्टेरिङ लक भयो र ब्रेक लागेन।
मदिरामा मस्त भएर पैदल यात्री किचेर मार्नेलाई जम्मा ६ महिना कैद, १ हजार जरिवाना
सवारी ज्यानबारे सर्वोच्चको सजाय मार्गदर्शन अनुसार पृथ्वीलाई हुन सक्थ्यो ४ वर्ष कैद
पृथ्वी मल्ल विरुद्धका पाँच प्रमाण जसले देखाउँछ झुक्किएर मारिएकी होइनन् लिला
गाडी मेरो कन्ट्रोलमा थिएन। गाडी रोकिनासाथ मैले इन्जिन अफ गरी बाहिर निस्के। धुवाँ चाहिँ आइरहेको थियो। केही न केही लागेको हुनुपर्छ भनी यताउती हेरेँ। फुटपाथमा एक महिला लडिरहनुभएको थियो। बाइकलाई पनि मेरो गाडीले ठक्कर दिएको रहेछ थाहा भएन। मेरो साथी करिश र मैले उहाँलाई रेस्क्यु गर्न भनी लाग्यौँ। मैले उहाँको हात हल्लाएर बोलाएको थिएँ। मैले बोलाउँदा अन्कन्सियस हुनुहुन्थ्यो, बोल्नु भएन। त्यसपछि म र मेरो साथीले बाटोमा आइरहेको गाडी रोक्न खोज्यौँ। कुनै गाडीले रोकेन। एउटा ट्रक आयो। ट्रकमा त्यहीँका मान्छेहरुले हाले। गाडीका अन्य दुई जना साथीहरु कता जानु भयो मलाई थाहा भएन।
प्रहरीले तत्पश्चात नारायणथान लगेर थुन्यो। मेडिकल चेक गर्ने भनी चिरायु अस्पतालमा लग्यो। हातमा सुई राखेर ब्लड टेष्ट पनि भएन। पेपरमा केही लेखेर हामीलाई पुन: महाराजगञ्ज प्रहरीमा ल्याइयो।
मेरो गाडीको उचाइ एकदमै सानो छ। त्यहाँबाट फुटपाथमा हिँडिरहेको मानिसलाई ठक्कर दिन सम्भव छैन। त्यहाँको फुटपाथ पनि अग्लो थियो। मेरो गाडीले हानेको भए पनि लाग्दैनथ्यो। उहाँलाई विपरीत दिशामा गई हानेको हुनुपर्छ। यो पूर्णतया मेकानिकल इरर हो।
सतर्कता अपनाएर नै मैले गाडी चलाएको हुँ। गल्फुटारदेखि शिवपुरीसम्म सुरक्षित साथ गाडी चलाएकै हुँ। यो केबल यान्त्रिक गडबडीले भएको दुर्घटना हो। सिसिटिभी फुटेजहरु ठिक हुन्। मैले नेपालमा गाडी चलाउँदैनथें। मसँग नेपाली ड्राइभिङ लाइसेन्स पनि छैन। मसँग कारको अन्तर्राष्ट्रिय लाइसेन्स छ।
चैत ९, २०७८ बुधबार १४:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।