नेपालगञ्जमा टिकटको दाउपेच : एमालेका नवप्रवेशी मिश्रले पल्टाउलान् पासा ?

नेपालगञ्जमा टिकटको दाउपेच : एमालेका नवप्रवेशी मिश्रले पल्टाउलान् पासा ?

बुटवल : स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा बाँकेको नेपालगञ्जमा चुनावी सरगर्मी ह्वात्तै बढेको छ। विभिन्न दलका नेता-कार्यकर्तामा उपमहानगरपालिकाको टिकट हात पार्ने दाउपेच सुरु भइसकेको छ।

राप्रपा, कांग्रेस, एमाले र मधेश केन्द्रित दलको प्रभाव रहेको नेपालगञ्जमा नेता पशुपतिदयाल मिश्र एमाले प्रवेश गरेपछि यहाँको चुनाव अझै रोचक हुने देखिएको छ। मिश्रलाई गत मंसिरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा भित्र्याएका थिए।

मिश्रलाई नेकपा एमालेका तर्फबाट नेपालगञ्ज उपमहानगरपालिकाको सर्वसम्मत मेयरको उम्मेदवारको रुपमा चित्रण गरिएको छ। कतिपयले यही विषयलाई एमालेको चुनावी शक्ति आर्जनको रुपमा व्याख्या समेत गरेका छन्।

नेपाली कांग्रेस, जनता समाजवादी पार्टी हुँदै एमाले प्रवेश गरेका मिश्रले पनि आफ्नो उम्मेदवारी फिक्स भएपछि पार्टीमा आएको बताएका छन्। ‘म नगर प्रमुखको उम्मेदवार हुँ। नगरलाई समृद्ध बनाउन मेरो उम्मेदवारी हुनेछ। निर्वाचनमा उम्मेदवार हुने भएकैले एमालेमा आएको हुँ,’ उनले भने।

नेकपा एमालेको दसौं महाधिवेशनबाट केन्द्रीय सदस्य समेत भएका मिश्र २०७४ को प्रतिनिधि सभा निर्वाचन्मा बाँके क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए। हृदयेश त्रिपाठी समूहबाट सूर्य चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएका मिश्र राजपाका इस्तिहाक राईसँग ५ हजार ६ सय मतको अन्तरले पराजित भएका थिए।

अघिल्लो निर्वाचनमा एमालेबाट नगर प्रमुखको उम्मेदवार बनेका समसुद्दिन सिद्धिकी अहिले समाजवादीतिर लागेका छन्। नगर प्रमुखका उम्मेदवार नै समाजवादीमा लागे पनि उनको जनाधार नभएको त्यहाँकै नेताहरु बताउँछन्। त्यसैले समाजवादी पार्टीको प्रभाव नेपालगञ्जमा नभएको स्थानीयहरु बताउँछन्।

त्यस्तै नेपाली कांग्रेसबाट नगर प्रमुखको मुख्य दावेदार अहिलेकी उपप्रमुख उमा थापालाई हेरिएको छ। उनले उपप्रमुख भएपछि स्वभाविक रुपमा नगर प्रमुखको दावेदारी हुने बताइन्। थापा संस्थापन इतर पक्षकी हुन्।

‘उपप्रमुखको जिम्मेवारी दिएपछि आफ्नो क्षेत्र भित्रका काम गरेकी छु। यो जनताले बुझेका छन्। कोभिडको महामारीमा मेरो नेतृत्वमा राम्रो काम भयो। त्यसैले पनि प्रमुखमा उम्मेदवार हुने मेरो आकांक्षा हो,’ उनले भनिन्।

नगर प्रमुख पदमा पार्टीले हार्दा आफू उपप्रमुखमा विजयी बनेको बताउँदै उनले जनतालाई रिजल्ट दिने गरी आफ्नो क्षमता विकास भएकाले पार्टीले आफूलाई न्याय गर्ने समेत बताइन्। धेरै काम नगर प्रमुखसँगको समन्वयनमा गर्नुपर्ने र नाम आउँदा प्रमुखको मात्र आउने गरेकाले प्रमुख बनेर जनतालाई परिणाम देखाउने गरी काम गर्न सक्ने उनको भनाइ छ।

‘मेरो दावेदारी स्वभाविक हो। संविधानले पनि अनिवार्य रुपमा ३३ प्रतिशत आरक्षण दिएको छ। नेतृत्वमा पनि महिलालाई लैजाने भनेको छ। त्यसैले पार्टीले राम्रो काम गरेका उपप्रमुखलाई मूल्याकंन गरेर प्रमुखको जिम्मेवारीमा अगाडि लैजानुपर्छ। यसो भएमा पार्टीप्रति हेर्ने दृष्टिकोणमा समेत सकारात्मक प्रभाव पर्नेछ,’ उनले भनिन्।

त्यसो त कांग्रेसभित्र तीन धार देखिएको छ। थापा बाहेक डा. सुरेशकुमार कनौडिया र प्रशान्त विष्टको मेयरमा मुख्य दावेदारी छ।

डा. कनौडिया २०७४ को निर्वाचनमा पनि उम्मेदवार थिए। त्यस्तै नगर प्रमुखका अर्का आकांक्षी प्रशान्त विष्ट बाँके कांग्रेसका सभापति हुन। हालै भएको निर्वाचनमा उनी उपप्रमुख उमा थापालाई हराउँदै तेस्रो पटक जिल्ला सभापतिमा निर्वाचित भएका थिए।

यता हालका नगर प्रमुख धवलशमशेर राणाले आफू नगर प्रमुखमा नदोहोरिने बताइसकेका छन्। अघिल्लो निर्वाचनमा राप्रपाबाट जितेका राणाले २०५४ सालमा भने एमालेबाट नेपालगञ्जमा जितेका थिए।

‘दुई पटक यो नगरको नेतृत्वमा रहेर काम गरें। ह्याट्रिक गर्ने मेरो योजना छैन्,’ राप्रपाका महामन्त्री समेत रहेका राणाले भने।

राणा २०५४ सालमा एमोबाट नगर प्रमुखमा निर्वाचित भए पनि जनआन्दोलनपछि उनी राप्रपा प्रवेश गरेका हुन्। उनी २०६४ र २०७० को संविधानसभा निर्वाचनमा राप्रपाबाट उठेर पराजित भएका थिए। त्यसपछि २०७४ सालको स्थानीय तहको निर्वाचनमा भने एमालेकै नेता सिद्धिकीलाई हराएर विजयी भएका थिए।

अघिल्लो निर्वाचनमा राणाको मत पार्टीभन्दा पनि व्यक्तिगत रुपमा आएको त्यहाँका स्थानीयहरु बताउँछन्। 

त्यस्तै समाजवादी र माओवादी केन्द्र भने गठबन्धनपछि उपप्रमुखको दावेदारी गर्ने गरी अगाडि बढेका छन्। समाजवादीबाट सिद्धिकी उपप्रमुखका दावेदारको रुपमा हेरिएको छ। अघिल्लो निर्वाचनमा एमालेबाट राणाका प्रतिस्पर्धी रहेका उनी हाल समाजवादीमा छन्। माओवादी केन्द्रबाट नन्दलाल वैश्यले टिकटका लागि लविङ थालेका छन्।

मधेश केन्द्रित राजनीतिक पृष्ठभूमिबाट आएका र व्यक्तिगत लोकप्रियता समेत रहेका नेता पशुपति दयाल मिश्र एमाले प्रवेश गरेकाले यसपटक नेपालगञ्ज उपमहानगरमा मुख्य प्रतिस्पर्धा कांग्रेस–एमालेबीच हुने आकलन छ।

चैत ९, २०७८ बुधबार १३:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।