निजी सवारीले रिजर्भमा यात्रु बोक्न नपाउने निर्णयसँगै अनिश्चितकालीन यातायात बन्द फिर्ता
सुर्खेतः जिल्ला प्रशासन कार्यालय सुर्खेत र यातायात व्यावसायीबीच सहमति भएपछि अनिश्चितकालीन यातायात बन्द फिर्ता भएको छ। निजी सवारीले समेत यात्रु ओसारेको भन्दै सार्वजनिक यातायात व्यवसायीहरूले बुधबार बिहानैदेखि सुर्खेतमा अनिश्चितकालीन यातायात बन्द गरेका थिए।
स्थानीय यातायात व्यावसायी र सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्दप्रसाद रिजालबीच भएको छलफलमा निजी सवारी साधनले मनलाग्दी यात्रुहरू हाल्न नदिने सम्झौतापछि यातायात बन्द फिर्ता भएको हो। बन्द फिर्ता भएसँगै हाल सवारी साधान सञ्चालनमा आएका छन्।
भाडाका निजी सवारीहरूले मनलाग्दी यात्रु बोकेको, स्थानीय प्रशासन र प्रहरीले त्यसको नियन्त्रणमा कुनै चासो नदेखाएको भन्दै व्यवसायीहरूले सार्वजनिक यातायात बन्द गरेका थिए। उक्त विषयमा प्रहरी र जिल्ला प्रशासनले तत्काल एक्सन लिने जनाएको छ।
जिल्ला प्रशासनका अनुसार अबदेखि निजी सवारी साधनले यात्रु लिएर रिर्जभमा हिँडे प्रहरीले नियन्त्रणमा लिने सहमति भएको छ भने निजी सवारीले आफ्ना आफन्त र परिवारलाई मात्रै बोक्नुपर्ने निर्णय भएको छ।
चैत ९, २०७८ बुधबार १३:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।