निजी सवारीले यात्रु बाेकेकाे भन्दै सुर्खेतका सार्वजनिक यातायात अनिश्चितकालीन बन्द

निजी सवारीले यात्रु बाेकेकाे भन्दै सुर्खेतका सार्वजनिक यातायात अनिश्चितकालीन बन्द

सुर्खेतः यातायात व्यवसायीहरूले सुर्खेतमा अनिश्चितकालका लागि सार्वजनिक सवारी बन्द गरेका छन्। निजी सवारीहरूले मनलाग्दी यात्रु बोकेको, स्थानीय प्रशासन र प्रहरीले त्यसको नियन्त्रणमा कुनै चासो नदेखाएको भन्दै व्यवसायीहरूले सार्वजनिक यातायात बन्द गरेका हुन्।

बिहानैदेखि व्यवसायीहरूले बसपार्कबाट कुनै पनि सार्वजनिक सवारी साधन चल्न दिएका छैनन्। बसपार्कमा वीरेन्द्रनगरबाट बाहिरिने यात्रुहरूको भने विचल्ली भएको छ।

मुख्यतः निजी रातो नम्बर प्लेटका सवारीहरूले खुलेआम यात्रुहरू ओसार्ने कार्य गरेकाले व्यवसायीहरूले बाध्य भएर सार्वजनिक यातायात बन्द गर्नु परेको देउती नागरिक यातायात प्रालि सुर्खेतका अध्यक्ष रमेश सापकोटाले बताए। उनका अनुसार बुधबार बिहानदेखि प्रदेश राजधानी वीरेन्द्रनगरबाट बाहिरिने कुनै सवारी सञ्चालनमा आएका छैनन्।

‘बारम्बार स्थानीय प्रशासन र प्रहरीलाई यातायात व्यवसायीहरूले संयुक्त रूपमा यस विषयमा जानकारी गराउँदा पनि सुनुवाइ भएन्,’ अध्यक्ष सापकोटाले भने, ‘एकातिर तेलको मूल्य बढ्दा पनि सरकारले भाडा समायोजन गरेको छैन, सार्वजनिक सवारीमा जानुपर्ने यात्रुहरूलाई प्रहरीकैअघिबाट ओहोरदोहोर गर्दा नियन्त्रण हुँदैन। यस्तो अवस्थामा कसरी सार्वजनिक सवारी सञ्चालनमा ल्याउनू? अब निजीले नै यात्रुहरू बोक्छन् हामी गाडी चलाउँदैनौं।’

सर्खेतका सम्पूर्ण यातायात व्यवसायीहरूले अनिश्चितकालीन यातायात बन्द गरेका हुन्।

चैत ९, २०७८ बुधबार ११:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।