रुपन्देहीको तिलोत्तमा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित नगरका रूपमा सूचीकृत

रुपन्देहीको तिलोत्तमा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित नगरका रूपमा सूचीकृत

बुटवलः रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित नगरको रूपमा सूचीकृत भएको छ। युनाइटेड एप्लिकेशन फाउण्डेशन अमेरिकाले तिलोत्तमालाई अन्तर्राष्ट्रिय गुणस्तार प्रमाण प्रदान गरेको हो।

यस्तो प्रमाण प्राप्त गर्ने तिलोत्तमा देशकै पहिलो नगर समेत हो। नगरपालिकाले आफ्नो कार्यसम्पादनका विभिन्न ३६ वटा सूचक पूरा गरी प्रमाण प्राप्त गरेको हो। 

मङ्गलबार नगरपालिका परिसरमा भएको एक समारोहका बीच आईएसओ सर्टिफिकेशन नेपालका म्यानेजर सुदीप शर्माले नगरप्रमुख बासुदेव घिमिरेलाई सो प्रमाणपत्र प्रदान गरेका हुन्। नगरप्रमुख घिमिरेको अध्यक्षतामा सम्पन्न सो समारोहमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवी, पत्रकार तथा सञ्चारकर्मीको उपस्थिति थियो।

कार्यक्रममा घिमिरेले नगरपालिकाले विभिन्न मापदण्डमा रहेका सूचक पूरा गर्ने लक्ष्यसहित अघि बढेर समयमै कार्यसम्पन्न गरी देशमै पहिलो पटक अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र प्राप्त गरेको बताए। उनले तीन वर्षसम्म म्याद रहने सो गुणस्तरलाई दीगोपन दिन सबै कर्मचारी जनप्रतिनिधि तथा नगरबासीहरूले समेत यसको गरिमा बचाई राख्नुपर्ने बताए।

आईएसओ सर्टिफिकेशन नेपालका म्यानेजर शर्माले गुणस्तर मापदण्ड पूरा गरी नगरपालिकाले गरेको कार्यसम्पादनका आधारमा अनुगमनबाट सो प्रमाणपत्र प्रदान गरिएको बताए। उनले देशभरमा अन्य केही पालिकाले समेत प्रक्रिया अगाडि बढाइरहेको बताए।

चैत ९, २०७८ बुधबार १०:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।