पार्टी-पार्टी चहार्ने ‘हाइब्रिड’ कार्यकर्ता दलका भोट बैंक मात्रै, 'नाफा-घाटाको हिसाब गरेर ठाउँ दिइन्छ' 

पार्टी-पार्टी चहार्ने ‘हाइब्रिड’ कार्यकर्ता दलका भोट बैंक मात्रै, 'नाफा-घाटाको हिसाब गरेर ठाउँ दिइन्छ' 

काठमाडौंः मङ्गलबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रत्येक दिन एमालेको ‘हाइट’ बढिरहेको बताए। एमाले सदस्यको संख्या बढिरहेको र हरेक क्षेत्रका समस्यालाई समाधान गर्ने पार्टी भएको पनि भन्न भ्याए। 

'अहिले यहाँ बस्दाबस्दै दुई–चार फिट हाइट बढिसकेको छ। अर्थात्, एमालेले हरेक दिन हरेक पल आफ्नो हाइट बढाउँदै गएको छ’, ओलीले भने। 

स्थानीय, प्रदेश अनि संघीय चुनावमा एमालेलाई शून्यमा झार्ने अभिव्यक्ति दिएका एकीकृत समाजवादीका नेता झलनाथ खनालको निर्वाचन क्षेत्र इलाम पुगेर सडक नै कार्यकर्ताले भरेर ओलीले नयाँ कार्यकर्ता एमाले भित्र्याए। पार्टीमा नयाँ कार्यकर्ता भर्ती गर्ने क्रमलाई एमालेले निरन्तरता दिएको छ। 

यता प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि कार्यकर्ता भित्र्याउन देश दौडाहामा छन्। माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा लगायतका राजनीतिक दलहरू पार्टीमा नयाँ कार्यकर्ता भित्र्याउने होडबाजीमा छन्। 

पार्टी प्रवेश गर्दा हरेक राजनीतिक दलले फाइदा हेर्ने गरेका छन्। क्रियाशील जैविक कार्यकर्तालाई व्यवस्थापन गर्न गाह्रो भइरहेको समयमा आगन्तुक वा हाइब्रिड कार्यकर्ता पार्टीमा प्रवेश गराएर उनीहरूको व्यवस्थापन गर्न कठिन हुने राजनीतिक विश्लेषण हुने गरेको छ। 

तर दलका नेताहरू यो स्वीकार गर्न तयार छैनन्।

‘पद व्यवस्थापन गर्न गाह्रो भएको छैन। दलगत रूपमा सेटल भएकै छन्। कम्युनिष्ट पार्टीबाट आएकालाई समान तहमा व्यवस्थापन हुन्छ। अरू पार्टीबाट आएकालाई ६ महिना परीक्षणकाल राखेर जिम्मेवारी दिँदै गइन्छ’,  एमाले सांसद सरिता न्यौपानेले भनिन्। 

टोलसम्म बनेका समितिमा नेता व्यवस्थापन गर्न समस्या नभएको न्यौपानेले बताइन्। ‘०७४ सालमा पार्टीमा आएकाहरू ०७८ मा जिम्मेवारी पाउँदैछन्, एकैचोटी नहोला’, न्यौपानेले उकेरासँग भनिन्। 

सिद्धान्तको राजनीति कम भए पनि कम्युनिष्ट सिद्धान्त मन परेर कार्यकर्ता एमालेमा प्रवेश गर्ने गरेको उनको भनाइ छ। 

भोट चाहिएको बेलामा किन भोट बढाउने काम नगर्ने भन्ने मनसायमा कांग्रेस छ। 

‘कोही मान्छे कांग्रेसमा आउँछन भने त चुनावको बेला भोट हाल्न ल्याउने हो। आउनासाथ टिकट दिन ल्याउने होइन’, कांग्रेस नेता जगदीश्वरनरसिहं केसीले उकेरासँग भने, ‘जुन गाउँपालिका नगरपलिकामा हामी चुनाव जित्दैनौँ कसैलाई ल्याएर चुनाव जित्छौँ भने हराएको गाई सुँघेर दान भनेजस्तो नजित्ने ठाउँमा टिकट दिँदा के फरक भयो र?’ 

एकीकृत समाजवादीका नेता मेटमणि चौधरी स्वार्थ पूरा गर्नकै लागि चुनावको मुखमा दल परिवर्तन हुने गरेको बताउँछन्। ‘मान्छेहरू अनेक स्वार्थका कारणले पार्टीसँग जोडिएका हुन्छन्, उनीहरूको लक्ष्य भनेको कि सांसद हुने हो, कि मेयर-उपमेयर, वडासदस्यसम्म। यो खालको सम्भावना रहुञ्जेलसम्म पार्टीमै रहन्छन्। पूरा नहुने र अवसर प्राप्त नहुने अवस्थामा अरू पार्टीमा त्यो अवसर आउँछ भने जाने भनेर दल परिवर्तन गर्छन्’, चौधरीले उकेरासँग भने। 

चुनावको मुखमा दल परिवर्तन अरू दललाई मसँग कार्यकर्ताका जत्था छ भनेर देखाउनुबाहेक अरू नरहेको माओवादी नेता लेखनाथ न्यौपाने बताउँछन्। पार्टीमा कार्यकर्ता प्रवेश गराउँदा अन्य दललाई मनोवैज्ञानिक दबाब हुने उनी बताउँछन्। 

‘आफूलाई कति फाइदा गर्छ थाहा भएन अरूलाई घाटा भएको देखाउन पाइन्छ। सबैको हकमा स्वयं पार्टीलाई फाइदा गरेको देख्दिनँ मैले अरू पार्टीलाई मनोवैज्ञानिक दबाबमा राख्न काम गर्छ’, नेता न्यौपानेले उकेरासँग भने। 

पार्टीमा योगदान गरेका जैविक कार्यकर्तालाई पछि पार्टीमा प्रवेश गरेका आगन्तुक र ‘हाइब्रिड’ कार्यकर्ताले पदको मामिलामा भारी पार्ने राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटर बताउँछन्। 

‘जैविक कार्यकर्तालाई आगन्तुक र हाइब्रिड कार्यकर्ताले मेरो भाग खोस्न आयो भन्ने हुन्छ। त्यहाँ नपचेपछि अवसरको खोजीमा तँ आइस् भनेर जैविक कार्यकर्ताले इख राख्छन्’, पिटरले भने।

यता सिद्धान्त परिवर्तन गरेर नयाँ अवसर खोज्ने कार्यकर्ता प्राथमिकतमा नपर्ने स्वयं नेताहरू स्वीकार गर्छन्।  

‘नेपालका राजनीतिक दल र कार्यकर्ताहरू स्वार्थै स्वार्थमा डुब्न थाले।  सिद्धान्त आदर्शका कुरा हराउँदै गयो, अरू पार्टीमा पनि त्यस्तै होलान्’,  कांग्रेस नेता केसीले भने। 

एमालेमा पनि आगन्तुक कार्यकर्तालाई नाफा-घाटाको हिसाब हेरेर ठाउँ दिइने नेतृ न्यौपाने बताउँछिन्। ‘आउनेवित्तिकै जिम्मेवारी लिने हिसाबले आएका हुँदैनन्, पदको लागि त्यहीअनुसार कुरा हुन्छ’, उनले भनिन्। 

नेपालमा सिद्धान्तको कुरा अन्त्य भइसकेको एकीकृत समाजवादीका नेता चौधरी बताउँछन्। त्यसको प्रभाव स्थानीय चुनावमा पनि देखिने उनको भनाइ छ। 

विश्लेषक पिटर भने स्थानीय चुनावमा केन्द्रको प्रभाव कम पर्ने बताउँछन्। ‘स्थानीय चुनावमा केन्द्रीय नीतिको प्रभाव कम पर्छ। स्थानीय अन्तरविरोधका सवालहरू प्राथमिकतामा हुन्छ। जैविकहरूले आगन्तुक आएर नेता बनेर आफ्नो थाप्लेमा बसेको देख्नै सक्दैन’, उनले भने। 

चैत ९, २०७८ बुधबार ०९:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।