मधेश प्रदेश सभाको बैठक सरेको सरेकै

मधेश प्रदेश सभाको बैठक सरेको सरेकै

धनुषाः मधेश प्रदेशको प्रदेश सभा बैठक सरेको सरेकै छ। आजका लागि बोलाइएको बैठक पुनः स्थगन गरिएसँगै बैठक बस्ने टुंगो लागेर नबसेको यो चौथो पटक हो।

प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले एक सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगन भएको जानकारी गराएका हुन्। अब अर्को बैठक ११ गते शुक्रबार दिउँसो २ बजे बस्ने तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।

यसअघि आज बस्ने भनिएको बैठक गत फागुन २२ गते टुंगो लगाइएको थियो। त्यसदिन बैठक बस्न नसकेपछि आज दिउँसो १ बजेसम्मका लागि स्थगन गरिएको थियो। त्यस दिन नेपाली कांग्रेसको अधिवेशन र गण्डकी प्रदेशका मुख्यमन्त्रीको मधेश प्रदेशको भ्रमणका कारण बैठक स्थगन गरिएको थियो।

त्यसअघि फागुन १ गते र १० गतेका लागि बोलाइएको बैठक पनि स्थगन गरिएको थियो। फागुन १ गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनकपुरधाम आएको र फागुन १० गते बैठकको समयमा सभामुख सरोजकुमार यादव सभामुखहरूको सम्मेलनमा पोखरा गएको कारण बैठक बस्न सकेको थिएन।

चैत ९, २०७८ बुधबार ०८:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।