रग्बी खेलाडी एलिसाको अनुभव : मेरो अंगमा छोयो, ह्यारेसमेन्ट गर्यो भन्न मिलेन
अन्डा आकारको चेप्टो बल। खुट्टाले हान्न पनि मिल्ने, हातले पास गर्न पनि मिल्ने। विपक्षीलाई उचालेर पछार्न पनि मिल्ने, धकेलेर अगाडि बढ्न पनि मिल्ने। अन्तर्राष्ट्रिय स्तरमा खुबै चलेको खेल रग्बी नेपालमा भने खासै परिचित छैन।
राणा परिवारले सोखका रुपमा रग्बी नेपाल भित्र्याएका थिए। तर समयसँगै यसले निरन्तरता पाउन सकेन। पछि भारतीय कोचले रग्बीको संस्था दर्ता गरेर केही नेपालीलाई खेल सिकाइदिएछन्। नेपालका लागि रग्बीको संस्था पुरानो भए पनि खेल भने नयाँ।
अहिलेसम्म रग्बी नेपालको राष्ट्रिय खेलको सूचीमै अटाउन सकेको छैन। अब आउने सागमा यसलाई राष्ट्रिय खेलको मान्यता दिलाइछाड्न नेपाल रग्बी संघ लागिपरेको छ।
'खेल नै हातपात गर्ने खालको छ। मेरो अंगमा छोयो, ह्यारेसमेन्ट गर्यो भनेर बस्न मिल्दैन। त्यसैले मैदानमा छिर्ने सबै पुरुषलाई परिवार सम्झेर खेल खेल्छु।'
राष्ट्रिय खेलको सूचीमा नभएकै कारण नेपालको रग्बी एसियाली रग्बी संगठनहरुसँग एसोसियट भएर खेलिरहेको छ। खेल्ने ग्राउन्डदेखि कोचको अभाव झेलिरहेको छ यो खेलले।
प्राविधिक समस्याले घेरिरहेको समयमा पनि नेपालको महिला रग्बी टोलीले अन्तर्राष्ट्रिय खेलहरुमा राम्रो प्रदर्शन गरिरहेको छ। जसको नेतृत्व गरिरहेकी छिन्, एलिसा थापा।
राष्ट्रिय बन्न नसकेको अन्तर्राष्ट्रिय खेललाई नेपालको प्रतिनिधित्व गर्दै अगाडि बढाइरहेकी एलिसा अहिले २९ वर्षकी भइन्। उनी आफूले महिला र खेलको दूरी कम गराउन पुलको काम गरिरहेको बताउँछिन्।
नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा जन्मिएकी एलिसा निकै ढिलो गरेर खेल क्षेत्रमा प्रवेश गरेकी हुन्।
वि.सं.२०७२ सालमा भूकम्प गयो। उनी पब्लिक युथ क्याम्पसमा स्नातकको पढाइ सकेर बसेकी थिइन्। स्नातकोत्तरको पढाइ सुरु भएको थिएन। भूकम्पका कारण गरिरहेका कामबाट पनि बिदा हुनुपरेको थियो। त्यही समयमा रग्बी खेल उनको जिन्दगीमा आइपुग्यो।
आफूले चिनेका एक मानिसले सामाजिक सञ्जालमा रग्बी बल सहितको फोटो राखेको देखिन् उनले। अचम्मको चेप्टो बल। खुल्दुली बढ्दै गयो, त्यो चेप्टो बलबारे। सोध्दै-खोज्दै जाँदा खेल्ने मौकै पाइन्।
खेल्दै जाँदा एलिसाले अन्तर्राष्ट्रिय खेलहरुमा सहभागी हुने मौका पाइन्। छोटो समयमा परिचय भएको रग्बीको महिला टोलीलाई अहिले उनले अगाडि बढाइरहेकी छन्।
रग्बी शारीरिक बलसँगै दिमाग लगाउनुपर्ने खेल हो। हात-खुट्टा भाँचिनु, दुर्घटना हुनु यो खेलका लागि सामान्य हो। त्यसैले अन्य खेलको तुलनामा यो खेलमा महिलाहरु सहभागी हुन डराउने एलिसा बताउँछिन्। उनी भन्छिन्, 'एक जना बच्चाकी आमा रग्बी खेल्न आउनुभयो। दुई दिन जति खेल्नुभएको थियो, डर लाग्यो रे। त्यसपछि आउनै छाड्नुभयो।
धेरै खेलाडीहरु रग्बी खेल्न मैदान छिर्नै डराउँछन्। एलिसाले भनिन्, 'त्यसैले खेलको अन्तिम समयसम्म पनि हामी खेलाडीको अभाव झेलिरहेका हुन्छौं।'
हत्तपत्त पुरुष समेत रग्बीको मैदान छिर्न डराउँछन्। तुलना गर्ने हो भने, पुरुषभन्दा महिला मैदानमा आँटिला देखिएको एलिसाको अनुभव छ। उनले भनिन्, 'हामीले भारतको चेन्नइमा भएको पहिलो खेलमै दुई देशलाई हराएका थियौं। पुरुष खेलाडीले एउटा ट्राई दिन पनि लामो समय लगाएका थिए।'
'आइस लगाएर बस्दा खेल समयभर त दुखेको थिएन। तर जब घर पुगें, दुखेर मर्नु भयो।'
रग्बी खेलमा खेलाडीलाई उचाल्ने, पछार्ने, थिच्ने सबै गर्न पाइन्छ। खेलाडी अभावका कारण कुनै समय महिला र पुरुष दुवैलाई मैदानमा भिडाइएको हुन्छ। एलिसाले भनिन्, 'खेल नै हातपात गर्ने खालको छ। मेरो अंगमा छोयो, ह्यारेसमेन्ट गर्यो भनेर बस्न मिल्दैन। त्यसैले मैदानमा छिर्ने सबै पुरुषलाई परिवार सम्झेर खेल खेल्छु।'
कुन छुवाइ 'गुड टच' हो, कुन 'ब्याड टच' हो भन्नेतिर भन्दा खेलमा बढी ध्यान जाने उनले बताइन्।
अन्य देशमा रग्बीको महिला खेलाडीले बिकिनी र कट्टु लगाउँछन्। तर नेपालमा भने कट्टु र गन्जी लगाएर मैदान छिर्छन्। एलिसाले सुनाइन्, 'मानिसहरु मैले कट्टु लगाउँदा घुरेर हेर्छन्। केटाहरु सेन्डोमा घुमिरहँदा सामान्य मान्ने नेपाली समाजले महिलालाई हेर्ने दृष्टिकोण कस्तो छ, यहाँबाटै प्रष्ट हुन्छ।'
प्रकृतिले समेत महिलालाई खेल खेल्न साथ नदिएको उनको भनाइ छ। 'महिनावारी हुनुपर्छ, आमा बन्नुपर्छ। विहे गरेपछि करिअर समाप्त हुने देशमा आमाहरु संघर्ष गरिरहेको देख्दा गर्व लाग्छ,' उनले भनिन्।
एलिसाले आफ्नै अनुभव सुनाइन्न्, 'एक पटक एम्बेसडर कप भएको थियो। त्यही समयमा मेरो महिनावारी भयो। शारीरिक बलको प्रयोग गर्नुपर्ने भएकाले नखेल्ने मनस्थिति थियो। तर मैदानमा पुगेपछि खेलाडी नै पुगेन।'
खेल खेल्नुभन्दा एक हप्ता अगाडिदेखि फिजिकल फिटनेसका लागि व्यायाम जरुरी हुन्थ्यो। उनले भनिन्, 'नखेल्ने मनस्थिति भएकाले कसरत पनि गरेको थिइनँ। तर मैदान छिर्नैपर्ने भयो।'
'खेलाडी हुँ। ह्विलचियरमा बस्न रेडी भएरै मैदान छिर्छु।'
जब एलिसा मैदानमा पुगिन्, शरीरमा जोश बढ्यो। अर्को टिमको महिला साथीसँग जोशको समयमा होस नपुर्याएरै जुधिन्। नतिजा, घाइते भएर उनले मैदान छाड्नपर्यो। त्यो समय सम्झँदै उनले भनिन्, 'आइस लगाएर बस्दा खेल समयभर त दुखेको थिएन। तर जब घर पुगें, दुखेर मर्नु भयो।'
खुट्टा टेक्नै नसक्ने अवस्था आएपछि उनी एमआरआई गर्न अस्पताल पुगिन्। चिकित्सकले नसा चुडिन लागेको छ, अपरेसन गर्नपर्छ भने। उनको सात्तो गयो।
अपरेसन गर्दाको फाइदा र नगर्दाको फाइदा हिसाब गर्न थालिन् एलिसा। चिकित्सकका अनुसार कसैलाई राम्रो पनि भएको छ, कसैलाई नराम्रो पनि। उनको मन दोधार भयो।
सुरु भएको थोरै समयमै खेल जीवनबाट बिदा हुनुपर्ने हो कि भन्ने समेत उनको मनमा लाग्यो। भनिन्, 'मेरो खेल्ने रहर पूरा भएकै थिएन।'
त्यही समयमा श्रीलंकाबाट एक जना कोच आए। उनी वर्ल्ड रग्बीका चिकित्सक समेत थिए। श्रीलंकाबाट आएका चिकित्सकको उपचार पछि उनी निको भइन्, अपरेसन गर्नु परेन।
लामो समयसम्म एलिसालाई हिँडडुल गर्न गाह्रो भयो। अटेर गरेरै कुद्न थालिन्। अहिले भने उनी पुरानै लयमा फर्किसकेकी छिन्। घाइते भएको दिन सम्झँदै उनले भनिन्, 'खेलाडी हुँ। ह्विलचियरमा बस्न रेडी भएरै मैदान छिर्छु।'
एलिसाले थपिन्न्, 'मेरो परिवारलाई पनि चिन्ता छ, छोरीको हात-खुट्टा भाँचिएला, अपांग बन्ली, विहे नहोला। तर खेलाडी भएपछि यस्ता कुरालाई बेवास्ता गर्नै पर्दोरहेछ।
चैत ९, २०७८ बुधबार ०७:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।