मधेश प्रदेशको 'कर्णाली' मा सम्पन्न भयो कोरोनाविरुद्धको खोप अभियान

मधेश प्रदेशको 'कर्णाली' मा सम्पन्न भयो कोरोनाविरुद्धको खोप अभियान

सर्लाही : मधेश प्रदेशको 'कर्णाली'को रूपमा चिनिने सर्लाही जिल्लाको विकट चुरे क्षेत्र कर्मडण्डीमा कोरोना विरुद्धको खोप अभियान सम्पन्न भएको छ। पत्थरकोट स्वास्थ्य चौकीबाट परिचालन भएको टोलीले खोप अभियान सम्पन्न गरेको हो।

चौकीका प्रमुख अमितप्रसाद गौतमका अनुसार मेडिकल अफिसर सुमितकुमार साह, अहेब टोकेन्द्र घलान, अहेब भानबहादुर महरा र अनमी सितल पौडेलको टोली त्यस स्थान पुगेको थियो।

यातायातको सुविधा समेत उपलब्ध नरहेको कर्मडण्डीसम्म पुग्न स्वास्थ्यकर्मीको टोली झन्डै चार घण्टा पैदल हिँडेको थियो। जङ्गली जनावर भालु अत्याधिक लाग्ने त्यस स्थानका बासिन्दाहरू सामान्य स्वास्थ्य सुविधा लिन समेत घण्टौँ ओरालो झर्नुपर्छ।

'त्यस स्थानलाई सर्लाहीको 'कर्णाली' भन्दा पनि हुन्छ। त्यहाँको दुनियाँ अर्कै छ। भाषा अर्कै छ। सामान्य सुविधा लिन पनि घण्टौँ हिँड्नुपर्छ', प्रमुख गौतमले भने, 'हामीले त्यस स्थानमा खोप अभियान चलाउँदा उहाँहरू खुसी हुनुभयो। हामीलाई धन्यवाद दिनुभयो।'

पहिला त खोपबारे संशय राखेका कर्मडण्डीका स्थानीयलाई खोपको महत्त्व बुझाउन त्यहाँका वडाध्यक्षसहित स्वास्थ्य स्वयंसेविकाले सहयोग गरेको उनले बताए। यस्तै लालबन्दी नगरपालिकाले समेत सहजीकरण गरेको उनको भनाइ थियो।

'खोजौँ र खोपौँ' भन्ने नेपाल सरकारको नारालाई सार्थक बनाउन स्वास्थ्यकर्मीको टोली त्यस स्थान पुगेको हो। लालबन्दी नगरपालिका वार्ड नम्बर १३ पर्ने कर्मडण्डीका ७० जना स्थानीयलाई आज खोप लगाइएको छ। योसँगै पत्थरकोट स्वास्थ्य चौकीले आफ्नो क्षेत्रभित्र पर्ने करिब ९६ प्रतिशत स्थानीयलाई खोप लगाइसकेको छ।

'हालसम्म अभियानअन्तर्गत १२ दिनमा सात सय ४० जनालाई खोप लगाइयो। कुल ६ हजार दुई सय ४० जनालाई खोप लगाइएको छ। दुर्गम क्षेत्रमा खोप लगाउने लगभग अब सकिएको छ, अब तल्लो भेगमा छिट्टै सम्पन्न गर्नेछौँ', गौतमले भने।

खोप अभियानअन्तर्गत कोभिशिल्ड, भेरोसेल र जन्सनको खोप लगाइएको छ।

चैत ८, २०७८ मंगलबार २१:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।