बुटवलमा ४८ करोड लागतको खुलामञ्च शिलान्यास
बुटवल : देवीनगर एन्फा टेक्निकल सेन्टरको उत्तरतर्फ बुटवल उपमहानगरपालिकाले खुल्ला मञ्च बनाउने भएको छ । उक्त खुल्ला मञ्च निर्माणका लागि उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदी र उपप्रमुख गोमादेवी आचार्यले शिलान्यास गरेका हुन् ।
देवीनगर एन्फा एकेडेमी पश्चिम वरपर रहेको करिब २९ बिगाहा क्षेत्रफल मध्ये १४ बिगाहा क्षेत्रफलमा खुला मञ्च निर्माण गर्ने गरी गुरुयोजना बनाइएको छ। पहिलो चरणमा ५ करोडको ठेक्का भई काम सुरु गरिएको छ।
बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले खुल्ला स्थानमा कार्यक्रम गर्न सहज होस भन्ने उद्देश्यले गुरुयोजना बनाएर खुल्ला मञ्च निर्माण सुरु गरिएको बताए। गुरुयोजनामा कुल ४८ करोड भए पनि हाल खुल्ला मञ्च र बाउन्डी वाल निर्माण हुनेछन्।
यसका लागि शिव शक्ति कन्स्ट्रक्सन प्रा.लि. संग ५ करोड ३२ लाख ३९ हजारमा सम्झौता भइसकेको छ। १ लाख जना अटाउन मिल्ने गरी बनाइने खुल्ला मञ्चमा आर्कषण ग्रिनरी, पार्किङ, ४ वटा प्रवेश र निकास द्वार रहनेछन्। त्यस्तै पहुँच सडक निर्माण, आन्तरिक सडक तथा पैदल मार्गहरू, खुल्ला मञ्चको भबनकाे भुइ तलामा गोष्ठी सेमिनार गर्ने हल, विश्राम स्थल, खानेपानी, ढल निकास लगायतका कामहरू हुनेछन्।
आयोजना सम्पन्न हुन करिब ५ बर्ष लाग्ने अनुमान गरिएको छ। बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गोमादेवी आचार्यले संघ, प्रदेश सरकारको सहयोगमा बाँकी कामलाई क्रमशः गर्दै जाने बत्ताइन।
चैत ८, २०७८ मंगलबार १६:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।