चिसो एष्ट्रे : जसले बदल्न सक्छ नेपाली फिल्मको ट्रेन्ड
फिल्मको ट्रेलरमै कथा सक्काउने, रङ्ग न ढङ्गको अभिनयले पर्दा ओगट्ने, कमजोर पटकथा, कमजोर निर्देशन, कमजोर सम्पादन नेपाली फिल्मका लागि धेरै दोहोरिएका शब्दहरू हुन्। 'चिसो एस्ट्रे'मा यी कुराहरू दोहोरिँदैनन्। यसका विपरीत काम भएका छन् यसमा।
गाउँबाट सहर पसेको केटो मदन (दिव्य देव) गुडिरहेको बसबाट कलङ्की ओर्लेपछि कथा हुने कथामा चार भन्ज्याङ बाहिरबाट आउने भोग्नुपर्ने कथा बोकेको छ फिल्मले। फिल्मको कथा गाउँले केटोले सहरिया बन्न गरेको सङ्घर्ष वरपर घुम्छ। कवि भूपी शेरचनको एक पङ्क्तिको गद्य कवितालाई आधार मानेर सवा दुई घण्टाको फिल्म बनेको छ। कविताजस्ता संवादसँगै फिल्म अगाडि बढ्छ।
आफ्नै धुन भएको सिङ्गिङ बलजस्तो चार भन्ज्याङको यो काठमाडौँ खाल्टो कसरी चुरोटको ठुटो निभाउने चिसो एस्ट्रेजस्तो बन्यो? शालीनताको रङ्ग, रोनीको ढङ्ग अनि ज्याकीको सँग, गाउँले मदन कसरी भयो मोर्डन? यही कथा हो यसको।
‘यो काठमाडौं सहर, हेर्दा लाग्छ रहर, गिद्धै गिद्धको सहर।’ चार भन्ज्याङकै कथा भनेर 'लुट'ले नेपाली फिल्मको ट्रेन्ड परिवर्तन गरेको थियो। पछि 'लुट'को सिको गरेर धेरै फिल्म बने। फेरि पनि यही खाल्डोको कथा भूपीको काव्यिक शैलीमा मज्जासँग देखाइएको छ 'चिसो एष्ट्रे' मा। फिल्मका गल्लीहरूमा भेटिने पात्रहरू परिचितझैँ लाग्छन्।
पछिल्लो समय नेपाली फिल्ममा बोरिङ प्याट्रन चलिरहेको थियो। त्यसलाई यसले भत्काउने प्रयास गरेको छ। समकालीन नेपाली फिल्मको गुणस्तरका आधारमा यो फिल्म उत्कृष्ट बनेको छ। तर शो टाइम भने कम पाएको छ।
फिल्म निर्देशकको आँखाबाट हेर्ने कथा हो। आफूले देखेको कुरा, अरूलाई देखाउनु कठिन काम पनि हो। तर 'चिसो एष्ट्रे'मा फिल्मका निर्देशक डिन्स पाल्पालीले आफूले देखेको कथालाई जस्ताको तस्तै पर्दामा उतार्न सफल भएका छन्।
फिल्मको संवाद सुन्दर छन्। पटकथामा गरिएको मिहिनेत पर्दामा देखिन्छ। गाउँबाट सहर पसेको तर सहरिया बन्न नसकेको मानिसको भाषाको लवजदेखि उसले बोल्ने संवादसम्ममा वास्तविकता झल्काउन पटकथाकार सफल छन्।
फिल्मको खिचाइ सुन्दर छ। प्राकृतिक सुन्दरता, हिमाल पहाडका दृश्य, समुन्द्र या तालका दृश्य नदेखाए पनि गतिलो सिनेमाटोग्राफी गर्न सकिन्छ भन्ने कुरा क्यामेरा चलाउनेले सिकाएका छन्। साँघुरा गल्लीहरू पनि खिच्न जान्ने हो भने कति सुन्दर हुन्छन् यो फिल्मले देखाएको छ। यदि गतिलो ढङ्गले खिचे कपडा च्यातिने गरेर मुक्कामुक्की गरेका दृश्य पनि उडेर किक हानेभन्दा शक्तिशाली हुने रहेछन्। फिल्ममा क्यामेराले यस्तै कथा बोलेको छ।
नेपालका प्रायः फिल्महरू चुक्ने गरेको प्राविधिक पाटो कलरिङ पनि हो। रङले कथा भन्छ भन्ने नबुझेका फिल्मकर्मीहरूलाई 'चिसो एस्ट्रे'ले गरेको मिहिनेतले पाठ सिकाएको हुनुपर्छ।
बेरङ्गी ब्याल्क एन्ड ह्वाइटबाट सुरु भएको पर्दा सप्तरङ्गहरूमा मिसिन्छ। कथासँगै पात्र र पात्रसँगै रङ्गहरू परिवर्तन हुँदै जान्छन्। पात्रको जीवन, उतारचढावलाई रङले बोल्न सफल छ। डिस्को जाँदा यौन र उन्मादको रङ्ग, काल्पनिक बन्दा स्यामस्वेत। रिस उठ्दा क्रोधको रङ्ग, माया बस्दा मायालु रङ्ग। रङले दर्शकको इमोशनलाई आफूसँगै बगाउँछ।
अर्काको ट्याक्सी चलाउने केटो कसरी रातारात मन लागेको लगाउन सक्ने भयो? मन लागेको खान सक्ने भयो? अधिकांश समय रोनी र ज्याकीसँग हल्लिने केटोले एक लाख सेभिङ गर्न सक्ने कसरी भयो, कति समयमा बन्यो यो ल्याकत? यी कुराहरूको जवाफ दर्शकले खोज्छन् तर फिल्ममा छैन। एक ट्याक्सी चलाउने ठेगान नभएको गाउँले केटो मोर्डन बन्ने क्रम विश्वासिलो बनाउन चुकेको छ फिल्म।
साउन्डमा पनि उस्तै मिहिनेत छ। धुन सुनेरै अब केही हुँदैछ भनेर दर्शकका आँखा उत्साहित हुन्छन्। सम्पादनको काम राम्रो छ।
अर्को अब्बल पक्ष भनेको कलाकारको अभिनय हो। पात्रहरू वास्तविक देखिएका छन्। मदनको हरेक चालले दर्शकलाई आफूतिर आकर्षित गर्छ। रोनी (निकुन श्रेष्ठ) र ज्याकी (नवीन लम्साल) जस्ता पात्र आफ्नै वरपर घुमिरहेको भाव दिन उनीहरू सफल छन्।
शालीनताको भूमिका निभाएकी सृष्टि श्रेष्ठको अभिनय राम्रो छ तर चरित्र त्यति शक्तिशाली छैन। बिक्कीको भूमिकामा देखिएका सुनिलराज पाण्डेले आफूलाई अभिनयमा अब्बल साबित गरेका छन्। केमियो रोल भए पनि बबि दाइको भूमिका निभाएका रोबिन तामाङको अभिनय सशक्त छ। उनी आफ्नो काममा इमानदार देखिएका छन्।
फिल्ममा प्रशंसा गरेर नथाक्ने दृश्यहरू छन्। जसले भर्खर काठमाडौँको खाल्टोमा छिरेकादेखि यतै स्थापित भइसकेकाहरूलाई नोस्टाल्जिक बनाउँछ।
फिल्ममा कमजोरी नै नभएका हैनन्। २०७२ सालको भूकम्पपछि काठमाडौँको खाल्टो छिरेको केटोको कथामा समय क्रम अटाएको छैन। काठमाडौँका भूपी, डाउनलोड र पुतली गल्लीसँग परिचय गर्दा उसलाई कति समय लाग्यो होला? सहरी रङसँग ढङ्ग मिलाउन, गाउँका शिक्षकले पढाएका अङ्ग्रेजीलाई सहरिया बनाउन, ग्याङ बनाउन, ग्याङ फाइट गर्न कति समय लाग्यो होला? यी कुरा फिल्ममा अटाएका छैनन्।
अर्काको ट्याक्सी चलाउने केटो कसरी रातारात मन लागेको लगाउन सक्ने भयो? मन लागेको खान सक्ने भयो? अधिकांश समय रोनी र ज्याकीसँग हल्लिने केटोले एक लाख सेभिङ गर्न सक्ने कसरी भयो, कति समयमा बन्यो यो ल्याकत? यी कुराहरूको जवाफ दर्शकले खोज्छन् तर फिल्ममा छैन। एक ट्याक्सी चलाउने ठेगान नभएको गाउँले केटो मोर्डन बन्ने क्रम विश्वासिलो बनाउन चुकेको छ फिल्म।
फिल्ममा गल्लीहरूको कुरा धेरै छ। तर ती गल्लीहरू कसरी निर्माण भए, थाहा छैन। कलाकारको कुरामा गल्लीका कुरा छन् तर त्यो गल्ली कुन हो दर्शकले पत्ता लगाउन सक्दैनन्।
फिल्मको अन्तिम दृश्यमा ज्याक्की र मदनको फाइट अलि लामो छ। केही समयको लडाइँलाई घटाएको भए गज्जब हुन्थ्यो। तर लम्बेतानको फाइटलाई अल्छी नलाग्ने प्रयास भने प्रशंसनीय छ। गीत गाइरहेको दृश्य, फाइटलाई सो मानेर हेर्न बसेकाहरू पात्रहरूको हाउभाउ अनि वर्षा। जब द्वन्द्व चर्कँदै जान्छ, वर्षाको मात्रा पनि बढ्दै जान्छ। जब लडाई सकिन्छ, वर्षा थामिन्छ। दृश्य लामो भए पनि पट्यार नलाग्ने बनाउन सक्नु राम्रो खुबी हो।
फिल्म बढी नै पुरुष केन्द्रित छ। महिलाले यसमा अपनत्व महसुस गर्न सक्दैनन्। गाउँले केटोको सहरिया कथा भएकाले यसमा पुरुष हाबी भएको हुनसक्छ। तर निर्देशकले ध्यान दिन सकेको भए महिला दर्शकले पनि अपनत्व अनुभव गराउन सक्ने थिए।
तर, कोरोनाकालमा थचारिएको नेपाली फिल्म उद्योगलाई 'चिसो एष्ट्रे'ले तताउन सक्छ। नेपालमा आफ्नै कथा खोज्नुभन्दा कहिले हिन्दी त कहिले साउथ अनि कहिले कोरियन फिल्मको प्लटहरू जोडजाड गरेर फिल्म बनाउने बानी लागेका फिल्मकर्मीका लागि आफ्नै मौलिक कथामा राम्रो फिल्म बनाउन सकिन्छ है भनेर देखाउन सक्षम फिल्म हो' चिसो 'एष्ट्रे।'
चैत ८, २०७८ मंगलबार १४:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।