बच्चाको झगडा अब पहिलेजस्तो रहेन, इन्टरनेटबाट बदला लिँदा कलिलैमा फस्दैछन्

बच्चाको झगडा अब पहिलेजस्तो रहेन, इन्टरनेटबाट बदला लिँदा कलिलैमा फस्दैछन्

काठमाडौं : १२ वर्षीया अर्चना (नाम परिवर्तन) को फेसबुक वालमा उनकै एउटा फोटो पोस्ट भयो। जसमा लेखिएको थियो- 'हार्दिक श्रद्धाञ्जली', 'आरआइपी'। समाजिक सञ्जालमा त्यस्तो फोटो आएपछि उनका फेसबुकका साथीहरुले  श्रद्धाञ्जली लेख्न थाले। सानै उमेरमै संसार छाडेकोमा धेरैले दुःख व्यक्त गरे। कतिपयले त उमेर पुगेकालाई लान छाडेर कालले अन्याय गरेको भनेर समेत लेख्न भ्याए।

यो विषय स्कुलका शिक्षकहरुले पनि थाहा पाए। केही शिक्षक-शिक्षिकाले  अनुशासित र मिहिनेती विद्यार्थी भन्दै अर्चनालाई आत्मा शान्तिको कामना गर्दै सामाजिक सञ्जालमा लेखे। 

पछि थाहा भयो, अर्चना त ज्युँदै छिन्। सोधखोज भयो, उनले आफ्नै फेसबुकमा हार्दिक श्रद्धाञ्जली भनेर किन फोटो पोस्ट गरिन् होला?

यो घटना नेपाल प्रहरीको साइबर ब्युरो भोटाहिटीमा पुग्यो। छोरी फेसबुकमा हार्दिक श्रद्धाञ्जली लेखेर कसले फोटो पोस्ट गर्यो भनेर उनका अभिभावक साइबर ब्युरो पुगेको ब्युरोका डिएसपी दिपेश जोशीले बताए।

अनुसन्धान अगाडि बढ्दै जाँदा अनौठो तथ्य फेला पर्यो। अर्चनासँग निकै मिल्ने साथी रहिछन्, स्कुलको। दुईबीच फेसबुकको पासवर्ड समेत आदान-प्रदान भएको रहेछ। पछि यिनीहरुबीच सामान्य विवाद भएछ। रिसको झोकमा साथीले हार्दिक श्रद्धञ्जली लेखेर फेसबुकमा पोस्ट गरिदिइछन्।

हात-हातमा इन्टरनेट पुगेपछि यस्ता घटना सामान्य बन्दै गइरहेको डिएसपी जोशी बताउँछन्। 

उनी भन्छन्, 'अर्चनाको घटना त समान्य हो। यहाँ बालबालिकाहरु अश्लिल तस्बिर र फोटो देखाएर साथीलाई ब्ल्याकमेल गर्न थालिसके।'

एक घटना सुनाए उनले, '९ कक्षामा पढ्ने दुई केटा-केटी प्रेममा परेछन्। कोभिडको समयमा विद्यालय बन्द भयो। उनीहरुले भेटघाट गर्न सकेनन्। कुराकानीको माध्यम बन्यो इन्टरनेट। बाबु-आमा काममा व्यस्त, छोराछोरी अनलाइन पढाइको बाहनामा प्रेममा मस्त। केटोले केटीलाई नग्न फोटो पठाउन भनेछ, केटीले पनि पठाइन्। विस्तारै भिडियो च्याटमा उनीहरु यौनका कुराकानी गर्न थाले। दुवैले बोलेका अश्लिल भ्वाइस र भिडियो केटोले रेकर्ड गर्न थालेछ।'

शिक्षक र अभिभावक मिलेर मनोरोगी बनाउँदै छन् बालबालिकालाई

डिएसपि जोशीले अगाडि सुनाए, 'पछि दुईबीच मनमुटाव भएछ। केटो कक्षाका अरु केटीहरुसँग पनि उसै तरिकाले कुराकानी गर्ने थाहा पाएर केटीले ब्रेकअप दिइछन्। रिसको झोकमा केटोले पहिलेका फोटो, अश्लिल आवाजदेखि भिडयोसम्म सबै फेक आइडी बनाएर पोस्ट गरिदिएछ।'

फोटो मोफ गरेर पोस्ट गर्ने, फेक आइडि बनाएर साथीको गोप्य कुरा पर्दाफास गरिदिने, ब्ल्याकमेल गर्ने, साइबर बुलिङ गर्ने लगायतका समस्या धेरै आउने गरेको पनि जोशीले बताए।

'पहिले बालबालिकाको झगडामा ठूला पस्नु हुँदैन भन्ने चलन थियो,' जोशीले भने, 'अहिले बालबालिकाको सानातिना झगडामा अभिभावकले अत्यन्तै ध्यान दिन जरुरी छ। बच्चाको झगडा अब भने पहिलेजस्तो छैन। उनीहरु इन्टरनेटको माध्यमबाट लडाईँ लड्न थाल्छन्।'

बालबालिका अगाडि डिभाइस चलाउन नजान्दाको परिणाम

'सानातिना कामहरु हामीले बालबालिकालाई गर्न दिइरहेका हुन्छौं। त्यसैमाथि बच्चाहरुलाई डिजिटल वर्ल्डमा कनेक्ट गराउनु अहिलेको बाध्यता हो, 'पद्मोदय सेकेण्डरी स्कुलका प्रध्यानाध्यापक नारायण गौतम भन्छन्, 'यी र यस्ता कुरामा स्कुललाई मात्रै दोष दिने गरिन्छ तर गल्ती अभिभावकको हो।'

गौतमका अनुसार डिभाइस चलाउन आजभोलिका अभिभावकभन्दा विद्यार्थी तगडा छन्। ग्याजेट चलाउँदा, बिग्रँदा या सानातिना समस्या आउँदा त्यसको समाधान उनीहरुका छोराछोरीले गरिदिन्छन्। जसले गर्दा डिजिटल अपराधका लागि उनीहरुको मनोबल बढ्छ।

अहिलेका अभिभावक कस्ता छन् भनेर थाहा पाउन सामाजिक सञ्जाल र युट्युब हेरे पुग्ने बताउँछन्, डिएभी स्कुलका प्राध्यापक उमेश मास्के। त्यस्ता अभिभावककै कारण सानै उमेरमा बालबालिका अपराधी बनिरहेको उनको भनाइ छ। भन्छन्, 'युट्युबमा अरुको घर झगडा हेरेर बस्ने अभिभावकले बालबालिका इन्टरनेटमा के गरिरहेका छन् भन्नेबारे ध्यान देला भनेर सोच्नु पनि गलत हो।'

बालबालिका अभिभावककै पदचाप पछ्याउने भएकाले उनीहरुको रुचि पनि त्यस्तै क्रिन्च कन्टेन्टमा बढ्ने, पढाइमा ध्यान दिन नसक्ने उनको भनाइ छ।

त्यस्तै फोरम फर ओमन संस्थाकी डा. जानुका नेपाल कुनै महिला गर्भवती भएको अवस्थादेखि के बोल्ने के नबोल्ने, के हेर्ने के नहेर्ने जस्ता कुरामा ध्यान दिनुपर्ने बताउँछिन्। उनी भन्छन्न्, 'अभिभावक हुन सोचेजस्तो सजिलो छैन। हरेक कुरामा ध्यान दिनुपर्छ।'

पेटमा समेत बच्चाले सुन्ने र सिक्ने भन्दै उनले भनिन्, 'बालबालिका स्मार्ट भइसके, अभिभावक प्रो-स्मार्ट हुन जरुरी छ।' बालबालिकाभन्दा अभिभावक चार कदम अगाडि हुनुपर्नेमा त्यसको उल्टो भएकाले स्थिति डरलाग्दो बनेको उनको बुझाइ छ।

हातमा समातेको सानो डिभाइसले अपराध हुनसक्छ भन्ने थाहा नपाउँदा यस्तो अवस्था आएको उनले बताइन्। भनिन्, 'हामी टिकटकमा ताल न बेतालका भिडियो बनाएर बसेका छौं। बालबालिका इरिटेट हुनेगरी उनीहरुलाई भिडियो बनाउन लगाएका छौं। यो सबै अभिभावकको अज्ञानताको उपज हो।'

अभिभावक प्रो-स्मार्ट हुन नसकेकाले बालबालिकाको आपराधिक मनोबल बढेको उनको भनाइ छ। हामी आफैं बच्चाको झगडा हो, ठूला पस्नु हुँदैन भन्ने धारणाबाट निर्देशित छौं। जबसम्म जस्ताको झगडा पनि झगडा हो, झगडा भनेको नराम्रो हो भन्ने संस्कार बालबालिकामा राख्दैनौं, यस्ता समस्या आइरहन्छ।

के भन्छन् अभिभावक

९ र १३ वर्षका बालबालिकाका अभिभावक सरोजकुमार घिमिरे अभिभावक स्मार्ट हुन नसकेको स्वीकार्छन्। तर समस्या अभिभावक मात्रै हैन, शिक्षकको पनि भएको उनको बुझाइ छ। घिमिरे भन्छन्ने, 'हामीले भनेको बालबालिकाले पत्याउँदैनन्। हामीलाई केही आउँदैन भन्ने ठान्छन्। शिक्षकलाई हरेक तरिकाबाट सही मान्छन्। यसको फाइदा शिक्षकले उठाउन सकेनन्।'

बालबालिकालाई प्रविधिबारे सकारात्क ज्ञान दिन नसक्नु शिक्षा प्रणालीकै त्रुटि रहेको पनि उनको भनाइ छ।

घिमिरेकै कुरामा सहमति जनाउँछन्, अर्का सात वर्षीय बच्चाका अभिभावक सचिन शर्मा। उनी भन्छन्, 'अहिले घरको सबैभन्दा सानो उमेरको बच्चा नै इन्टरनेटमा सबैभन्दा जान्ने हुने हो। उनीहरुलाई सिकाउने गुरु इन्टरनेटमा अगाडि हुनुपर्ने हो तर उनीहरु नै प्रविधि भनेको मोबाइल र टिभी मात्रै हो भन्ने बुझ्छन्।'

नेपालको शिक्षा प्रणाली प्रयोगात्मक नभएकाले समस्या आएको पनि शर्माको बुझाइ छ। उनी भन्छन्, 'इन्टरनेटबाट पढाउन थालेका छौं। बालबालिकालाई कसरी यसको प्रयोग गर्ने, के नगर्ने, के गर्यो भने अपराध हो भन्ने कुरा सिकाउने पाठ्यक्रम नहुनु दुखद हो।'

चैत ७, २०७८ सोमबार १६:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।