उपभोक्ता हित संरक्षण मञ्चको नेतृत्वमा व्यवसायी : दूधको साक्षी बिरालो
बुटवल : १ चैतमा देशभर विश्व उपभोक्ता अधिकार दिवस मनाइयो। ‘सुरक्षित र समावेशी विद्युतीय कारोबारः उपभोक्ताको अधिकार’ भन्ने नारा सहित यो दिवस मनाइएको हो।
उपभोक्ताका अधिकारको सवाल उठाउनका लागि नेपालमा उपभोक्ता हित संरक्षण मञ्च नेपाल गठन भएको छ। यसका केन्द्रीय अध्यक्ष हुन् ज्योति बानियाँ। उनी पेसाले कानुन व्यवसायी हुन्।
उपभोक्ता हित संरक्षण मञ्चको सञ्जाल देशव्यापी हुने क्रममा छ। पछिल्लो समय संघ, प्रदेश र स्थानीय तहमा उपभोक्ता हित संरक्षण मञ्च गठन हुने क्रम जारी छ।
यसरी गठन हुने मञ्चमा सामाजिक व्यक्तिले नेतृत्व गर्नुपर्ने हो। कुनै पनि व्यवसायमा संलग्न मञ्चको सदस्यले उपभोक्ता अधिकारको सवाल उठाउन सक्दैन। किनकी, सवाल उठाउने नै उपभोक्तामैत्री नभई व्यवसायीमैत्री हुन्छ। यस्तोमा उपभोक्ता अधिकार मञ्चले उठान गर्ने मुद्दा जनताले विश्वास नगर्न पनि सक्छन्।
तर, उपभोक्ताका अधिकार उठान गर्ने नेतृत्व पंक्ति नै पछिल्लो समय व्यवसायको कब्जामा पर्न थालेको छ। त्यसको एक उदाहरण हो, लुम्बिनी प्रदेश र स्थानीय तहमा गठित उपसमितिहरु।
उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशका अध्यक्ष तेजकुमार पाठक हुन्। उपाध्यक्ष प्रभातकुमार ठकुरी (बाँके), सचिव दुर्गाप्रसाद गौतम (रुपन्देही) र कोषाध्यक्ष क्रृषि आजाद (रुपन्देही) हुन्।
चार जना पदाधिकारीमध्ये तीन जना रुपन्देहीका छन् भने एक जना बाँकेका छन्। जसमा रुपन्देहीका दुई पदाधिकारी व्यवसायी हुन्। तेजकुमार पाठकको तिलोत्तमामा पाठक दालमोठ उद्योग छ भने दुर्गाप्रसाद गौतम सैनामैनामा शुभ लाभ कलर हाउस चलाउँदै आएका छन्।
उपभोक्ता अधिकारको सवाल उठाउने नेतृत्व पंक्ति नै व्यवसायी हुँदा उपभोक्ता अधिकारका खास मुद्दा ओझेलमा पर्नसक्ने कानुन व्यवसायी महेन्द्र पाण्डे बताउँछन्।
‘उपभोक्ताको नेतृत्व उपभोक्ताले नै गर्नुपर्छ। व्यवसायीले पनि नेतृत्व त गर्न सक्छन् तर उहाँहरु व्यवसायीप्रतिभन्दा उपभोक्ताप्रति उत्तरदायी हुनुपर्छ,’ उनले भने।
कुनै व्यवसाय सञ्चालन गर्ने व्यक्ति स्वयं पनि उपभोक्ता नै हुने भए पनि व्यवसायीको पक्षपोषण भने गर्न नमिल्ने उनले बताए। दोहोरो भूमिकामा रहँदा विरोधाभास पनि हुनसक्ने भएकाले यस्तोमा उपभोक्ताका पक्षमा वकालत गर्न नेतृत्व पंक्तिले सक्नुपर्ने उनले बताए।
‘सबै व्यवसायी कन्जुमर हुन्। सबै कन्जुमर व्यवसायी हुन सक्दैनन्, यो अलग विषय हो। लिडरसिप गर्न हुन्न भन्ने होइन। दोहोरो लिडरसिपमा विरोधाभास हुनसक्छ,’ उनले भने।
अहिले उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशले स्थानीय तहमा पनि उपसमितिहरु गठन गर्न थालेको छ। यसरी गठन भएका उपसमितिहरुमा पनि व्यवसायी नै नेतृत्व पंक्तिमा छन्।
भैरहवामा गत असोज ११ गते उपसमिति गठन भयो। जसको नेतृत्व नरेन्द्र भण्डारीले गरेका छन्। उनी होटल सञ्चालक हुन्। त्यस्तै बुटवल उपमहानगर कमिटी पनि गठन भएको छ। यसका अध्यक्ष समुद्र जिसी बुटवलको बसपार्क इँटाभट्टीमा विशाल होटल चलाउँछन्।
यता सैनामैनामा गठित उपसमितिका अध्यक्ष प्रदेशका सचिव समेत रहेका दुर्गाप्रसाद गौतम हुन्। उनी व्यापारी हुन्। प्रदेशमा गठित समितिका अन्य सदस्य एवं उपसमितिका सदस्यहरु पनि कुनै न कुनै व्यवसायमा जोडिएका छन्।
त्यसैले अधिकारको आवाज बोल्नेभन्दा पनि उपभोक्ता हित संरक्षण मञ्च अधिकारलाई कुण्ठित गर्न खोज्नेहरुलाई प्रोत्साहन गर्न सक्ने आशंका बुद्धिजिवीहरुले गर्ने गरेका छन्।
अर्थ क्षेत्रका जानकार मनिकर कार्की व्यापारी, व्यवसायी नै उपभोक्ता हित सरक्षण मञ्चमा हुँदा त्यहाँ हुने गरेका विकृति विसंगति बाहिर आउन नसक्ने बताउँछन्।
उत्पादक, वितरक र सरकारले उपभोक्ताका पक्षमा कुनै पनि ठोस पहल कदमी समेत नचालेको उनले बताए। उपभोक्ताको नाममा गठित भएका मञ्च उत्पादकहरुको राजनीति गर्ने थलो बनेको समेत उनको भनाइ छ।
‘उहाँहरुले आफ्ना व्यवसायी साथीलाई नबचाई, आम उपभोक्ताको सवाल उठाउनुहुन्छ भन्नेमा ढुक्क हुन सकिँदैन। यो त दूधको साक्षी बिरालो जस्तो पो भयो,’ उनले भने।
उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनीका कोषाध्यक्ष क्रृषि आजाद उपभोक्ताको सवाल राम्रोसँग उठाएकै आधारमा कार्य मूल्याङ्कन गरेर मञ्चमा व्यक्तिहरु राखिएको बताउँछन्।
‘केही व्यवसायमा लागेका साथीहरुले मञ्चको नेतृत्व सम्हालेको भए पनि उहाँहरु आम उपभोक्ताभन्दा बढी सचेत र सुधारको पहलमा लागेको हामीले देखेका छौं,’ उनले भने, ‘केही व्यक्ति अपवाद हुने रहेछन्, कर्मभन्दा सेवालाई विशेष ध्यान दिने। यसरी बुझौं न मञ्चको नेतृत्वकर्तालाई,’ उनले भने।
चैत ७, २०७८ सोमबार ०७:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।