टाउको जोगाउ है : नेपालमा प्रत्येक घण्टा ३४ जनाको टाउकामा चोट लाग्छ, १० प्रतिशतको मृत्यु हुन्छ
काठमाडौँ : नेपालमा प्रत्येक एक घण्टामा ३४ जना व्यक्तिको दुर्घटनामा परी टाउको तथा मस्तिष्कमा चोट लाग्ने गरेको देखिएको छ। चिकित्सकहरूको अध्ययनले प्रत्येक वर्ष करिब दुई लाख ९५ हजार र प्रत्येक दिन आठ सय ८२ व्यक्तिको टाउकामा चोट लाग्छ। दुर्घटनामा परी टाउकोमा चोट लागेका व्यक्तिको चाँडै उद्धार नभएको तथा उद्धार गर्न नजानेको अवस्थामा थप जोखिम हुनसक्ने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल न्युरो सर्जरी विभागका प्रमुख तथा प्राध्यापक डा. मोहनराज शर्माले बताए।
समयमा नै अस्पताल नपुग्ने तथा उद्धार गर्ने तरिका नमिल्दा घाइतेको स्वास्थ्य अवस्था थप जटिल हुने गरेको उनी बताउँछन्।
उद्धार गर्ने टेक्निक
चोट पटक लागेको स्थान तथा दुर्घटनास्थलमा नै प्राथमिक उपचार हुनुपर्ने शिक्षण अस्पतालका आकस्मिक मेडिसिन विभाग प्रमुख तथा फिजिसियन डा. रमेशकुमार महर्जनको सुझाव छ। त्यसै गरी घाइतेलाई दुर्घटना स्थलबाट अस्पतालसम्म पुर्याउँदा निक्कै ध्यान पुर्याउनुपर्ने हुन्छ। अस्पताल पुर्याउनु अगाडी बिरामीको उपचारलाई ‘प्रि हस्पिटल’ भन्ने गरिन्छ। एम्बुलेन्समा घाइतेलाई अस्पतालसम्म पुर्याउन तालिमप्राप्त स्वास्थ्यकर्मी हुनुपर्ने डा. महर्जन बताउँछन्।
निक्कै तरिका पुर्याएर घाइतेको उद्धार गर्नुपर्ने हुन्छ। दुर्घटनामा परी टाउकामा चोट लागेका घाइतेलाई उत्तानो स्थिति÷ढाँचामा सुताएर अस्पताल पुर्याउनुपर्ने डा. शर्माको सुझाव छ। घाइतेलाई सुताइने यस्तो ढाँचालाई चिकित्सकीय भाषामा ‘सुपाइन पोजिशन’ भनिन्छ। यस्तो ढाँचामा राखेर घाइतेको टाउकोको दुवैतर्फ अडेस लगाएर टाउको अड्याउनुपर्ने हुन्छ।
टाउकामा चोट लागेको व्यक्तिको घाँटीमा पनि चोट लाग्ने सम्भावना हुन्छ। त्यसैले उत्तानो सुताएर टाउको राख्ने बेड वा सिराने हल्का उठेको हुनुपर्ने न्युरो सर्जन डा. शर्माको सुझाव छ।
डा. शर्माका अनुसार यसरी घाइतेलाई उत्तानो सुताउँदा सिराने वा बेड ३० डिग्रीको एङ्गलमा राख्नुपर्ने हुन्छ। टाउकोमा चोट लागेको बिरामीलाई यस्तो ढाँचामा उत्तानो सुताएर अस्पताल लाँदा मस्तिष्कमा अक्सिजनको मात्रा कमी हुने तथा मस्तिष्कको चाप बढ्ने जोखिमबाट बचाउन सकिने डा. शर्मा बताउँछन्।
उनले भने,‘तीन मिनेटसम्म मस्तिष्कमा अक्सिजन पुगेन भने मस्तिष्कको मृत्यु हुन्छ।’
दुर्घटनामा परेर टाउकोमा चोट लागेर अस्पताल पुग्नु अघि अक्सिजनको मात्रामा कमी भए उपचारपछि पनि बिरामी चाँडै ठिक नहुने र बिरामीको मृत्यु पनि नहुने अवस्था समेत निम्तने चिकित्सक बताउँछन्।
त्यसै गरी दुर्घटनामा परेको व्यक्तिलाई पानी पिउन दिने की नदिने भन्ने जनमानसमा दुबिधा छ। तर, दुर्घटनामा परेको बिरामीलाई सुरुमा पानी दिन नहुने डा. शर्मा बताउँछन्। ‘दुर्घटनामा परेर टाउकामा चोट लागेको बिरामीलाई सुरुमा पानी दिनु हुँदैन,’ उनी भन्छन्,‘हामीले टाउकामा चोट लागेको बिरामीलाई कम्तीमा ६ घण्टा केही खान दिँदैनौँ।’
दुर्घटनामा परेको बिरामीलाई पानी दिँदा सर्किन सक्ने जोखिम हुने डा. शर्माले बताए। उनले भने,‘बिरामी कुन अवस्थामा छ त्यो थाहा हुन्न। पिएको पानी फोक्सोमा गयो भने त सकियो। त्यसैले पहिलो ६ घण्टामा पनि दिनु हुँदैन।’
शिक्षण अस्पतालका न्युरो सर्जन तथा सहप्राध्यापक डा. गोपाल सेढाइँ टाउकामा गम्भीर चोट लागेको खण्डमा व्यक्तिको मृत्युको सम्भावना बढी नै हुने बताउँछन्। त्यसैले उद्धार गर्दा निक्कै तरिका पुर्याउनुपर्ने र जतिसक्दो चाँडै अस्पताल पुर्याउन उनको सुझाव छ।
टाउकोमा चोट लागेको खण्डमा शरीरका अन्य भागको तुलनामा चाँडै रगत बग्ने अस्पतालका आकस्मिक मेडिसिन विभाग प्रमुख डा. महर्जन बताउँछन्। उनले भने,‘टाउकोमा चोट लाग्दा रगत सबै भन्दा बढी बल्छ। जसरी पानीको ट्याङ्कीमा माथि पानी चापले जान्छ त्यसै गरी मुटुले टाउकामा रगत पुर्याउँछ।’ त्यसैले सबै भन्दा पहिला त घाइतेको रगत रोक्ने विधि अपनाउनुपर्छ।
डा. महर्जन रगत बग्न नदिन टाउकोमा इलास्टिक भएको ‘क्रेप ब्यान्डेज’ टाइट गरेर बाँध्नुपर्ने सुझाव दिन्छन्। त्यसै गरी टाउको र घाँटी नहल्लाई घाइतेलाई अस्पतालसम्म पुर्याउनुपर्ने पर्ने डा. महर्जनको सुझाव छ। उनले भने,‘घाँटी भन्दा मुनिको नसा छुटियो भने त हातखुट्टा चल्दैन।’
दुर्घटनामा परी टाउको बाहिर रगत नबगेको खण्डमा टाउकाको कुन भागमा चोट लागेको छ भन्ने पत्ता लगाउनुपर्ने हुन्छ। टाउकोमा चोट लागेर नाकबाट मस्तिष्कको पानी चुहिन सक्ने भएकाले नाकबाट पानी बगेको खण्डमा हेलचेक्राई नगर्न चिकित्सकको सुझाव छ।
चिकित्सकको मत अनुसार आँखाको नानी हेरेर समेत मस्तिष्कमा चोट लागेको छ की छैन भनेर थाहा पाउन सकिन्छ। टाउकामा चोट लागेको खण्डमा आँखाको एउटा नानी सानो र एउटा ठुलो देखिने डा. महर्जनले बताए। उनले भने,‘टाउकोको चोट लागेको बिरामीको एउटा आँखाको नानी ठुलो र एउटा सानो भएर गयो भने भित्र टाउकोमा असर छ भनेर बुझ्नुपर्छ।’
यस्तो अवस्थामा तत्कालै घाइतेलाई अस्पताल पुर्याउन उनी सुझाव दिन्छन्। त्यसै गरी बिरामीले बान्ता गरिरहे तथा टाउको दुखिरहे तुरुन्तै अस्पताल लानुपर्ने हुन्छ। जटिल अवस्थामा बिरामी अस्पताल पुग्दा उपचारपछिको सफलतामा चुनौती हुने भएकाले यस्ता विषयमा ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ। मस्तिष्क नरम भाग हो। यसमा दखल पर्यो भने निक्कै जटिल हुन सक्नेतर्फ चिकित्सक सजग गराउँछन्।
विकसित मुलुकमा बिरामीलाई उद्धार गर्ने राम्रो तालिम हुने भएकाले दुर्घटनामा परेका बिरामीको सही तरिकाले उद्धार हुने डा. शर्मा बताउँछन्। उनले भने,‘गाडी भित्र मान्छे अड्केको छ भने तान्न त भएन। गाडिनै काट्न पर्यो नि।’
दुर्घटनाको दर अमेरिका जस्ता विकसित मुलुकमा बढी हुने भए पनि दुर्घटनापछि बिरामीमा हुने समस्या नेपाल जस्ता आर्थिक अवस्था कमजोर भएका मुलुकमा बढी हुने चिकित्सक बताउँछन्। चिकित्सकका अनुसार चाँडो उद्धार नहुने तथा अस्पतालमा पनि भनेको समयमा बेड लगायतको उपचार सेवा नपाउँदा नेपाल जस्तो आर्थिक अवस्था कमजोर भएको मुलुकमा बढी व्यक्तिको मृत्यु हुन्छ।
टाउकोमा चोट लाग्ने कारण
टाउकामा चोट लाग्ने प्रमुख कारण सडक दुर्घटना नै भएको चिकित्सक बताउँछन्। खराब सडक, पुराना सवारीसाधन, क्षमता भन्दा बढी यात्रु चढाउनु, जथाभाबी सवारी चलाउनु दुर्घटनाका कारण हुन्।
त्यसै गरी रुख तथा भीर पाखाबाट खसेर टाउकामा चोट लाग्ने दोस्रो कारण भएको डा. शर्माले बताए। शर्माका अनुसार यसरी खसेर दुर्घटनामा पर्नेमध्ये भीरबाट खसेर घाइते हुने नै बढी देखिन्छन्। तुलनात्मक रूपमा गाउँघरमा भीर–पाखामा काम गर्ने क्रममा लडेर चोटपटक लागेर अस्पताल पुग्नेमध्ये अधिकांशको आर्थिक अवस्था कमजोर भएको पाइने गरेको समेत चिकित्सक बताउँछन्।
त्यसै गरी टाउकामा चोट लागेर अस्पताल पुग्नेमध्ये निर्माण क्षेत्रमा काम गर्ने मजदुर तहका व्यक्तिको सङ्ख्या पनि बढी नै हुने गरेको डा. सेढाईं बताउँछन्। निर्माण क्षेत्रमा काम गर्ने मजदुरहरूमा आधारभूत सुरक्षा पनि नअपनाउँदा बढी दुर्घटनामा परि टाउकामा चोट लागेर अस्पताल पुग्ने गरेको उनले बताए।
दसैँ, तिहार जस्ता चाडपर्वमा पिङ खेल्ने, चङ्गा उडाने जस्ता खेल खेल्दा लडेर टाउकामा चोट लाग्ने जोखिम त्यतिकै हुने डा. शर्माले बताए। आजकाल सेल्फी खिच्नेक्रममा पनि व्यक्ति लडेर टाउकामा चोट लागेर अस्पताल पुग्ने गरेको चिकित्सक बताउँछन्। झडप, द्वन्द्व तथा झगडाका कारण टाउकोमा चोट लाग्ने कारण हुन्।
जोखिम समूह, दश प्रतिशतको मृत्यु
चिकित्सकको मत अनुसार २० देखि ४० वर्ष उमेर समूहका व्यक्तिनै बढी टाउकाको चोटको समस्या भएर अस्पताल पुग्छन्। त्यसै गरी महिलाको तुलनामा पुरुषमा नै बढी यस्तो जोखिम देखिन्छ।
न्युरो सर्जन डा. सेढाइँ सक्रिय अवस्थाको व्यक्तिमा नै टाउकाको चोटपटक लाग्ने सम्भावना बढी हुने बताउँछन्। उनले भने,‘२० देखि ४० वर्षको उमेर काम गरिखाने उमेर भएकाले पनि यो उमेरमा नै बढी हेड इन्जुरी भएको देखिन्छ।’
लडेर घाइते हुनेमध्ये पनि बढी जसो पुरुष नै हुने गरेको चिकित्सक बताउँछन्। टाउकामा चोट लागेका घाइतेमध्ये २० प्रतिशतलाई आइसियु आवश्यक हुन्छ भने २० प्रतिशतको सर्जरी गर्नुपर्ने हुन्छ। टाउकामा चोट लागेका घाइतेमध्ये औसतमा करिब १० प्रतिशतको मृत्यु हुने न्युरो सर्जन डा. शर्मा बताउँछन्। उनले भने,‘जो कोमामा नै आएको हुन्छ चोट लागेर त्यसमा सयमा ४० प्रतिशतको मृत्यु हुन्छ।’
टाउकामा चोट लागेर अस्पताल पुगेका दश प्रतिशत मृत्युहुनेमध्ये करिब तीन प्रतिशत घाइतेको त आकस्मिक कक्षमानै मृत्यु हुने गरेको चिकित्सक बताउँछन्। बाँकी सात प्रतिशत आइसियु तथा वार्डमा मृत्यु हुन्छ।
टाउकामा गम्भीर चोट लागेको व्यक्ति बाँचेको खण्डमा समेत लामो समय थलिनुपर्ने अवस्था निम्तने डा. सेढाइँ बताउँछन्। उनले भने,‘मृत्यु भयो भने त भइहाल्यो। भएन भने दुई, चार, ६ महिना अस्पतालमा बस्नुपर्ने हुन्छ।’
अस्पतालमा लामो समय उपचार गर्न आर्थिक लगायतका जटिलता हुने तथा डिस्चार्ज गरेर पनि हेरचाहको राम्रो व्यवस्था नहुने लगायतको चुनौती निम्तने चिकित्सक बताउँछन्। त्यसैले लापरबाही नगरे ५० प्रतिशत भन्दा बढी टाउकामा चोट लाग्नबाट बच्न सकिने चिकित्सकको मत छ।
‘हेड इन्जुरी डे’मा जनचेतनामा जोड
आइतबार शिक्षण अस्पतालमा ‘वर्ल्ड हेड इन्जुरी अवर्नेश डे’ को अवसरमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो। अस्पतालको न्युरो सर्जरी विभाग र इमर्जेन्सि मेडिसिन विभागले आयोजना गरेको कार्यक्रममा त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. दिनेश काफ्लेले दुर्घटनामा पर्नबाट बच्ने विषयमा जनचेतनामूलक कार्यक्रममा जोडी दिनुपर्ने बताए।
त्यसै गरी त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) महाराजगन्ज क्याम्पसका प्रमुख प्रा.डा. अर्जुन लामिछाने, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवाली लगायतले दुर्घटना हुन नदिने विषयमा नै सबै पक्षको ध्यान दिनुपर्ने बताएका थिए।
चैत ६, २०७८ आइतबार २०:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।