माओवादी त्यागेका विष्ट एमालेमा प्रवेश
सुर्खेत : माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक ठम्बरबहादर विष्ट एमालेमा प्रवेश गरेका छन्। उनलाई आज (आइतबार)एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सुर्खेतमै आएर पार्टीमा प्रवेश गराएका हुन्।
शनिबार सांसद पदबाट राजीनामा दिएको सनाखत गरेका उनले प्रमुख सचेतक र सांसद रहेकै समयमा फागुन २७ गते पार्टीबाटै राजीनामा दिएको घोषणा गरेका थिए।
नेता विष्टसहित माओवादीबाट १५० जनाले एमलेमा प्रवेश गरेको नेकपा एमाले सुर्खेतले जनाएको छ। यस्तै नेकपा माओवादी संसदीय दल कर्णाली प्रदेशको बैठकले सांसद ठम्मरबहादुर विष्टलाई निष्कासन गरेको छ। दलका नेता महेन्द्रबहादुर शाहीद्वारा हस्ताक्षरित विज्ञप्तीमा विष्टले निरन्तर दलको विधान विपरितका अभिव्यक्ति र गतिविधि गर्दै आइरहेकाले उनलाई निष्कासन गरेको उल्लेख गरिएको छ।
विज्ञप्तीमा भनिएको छ, ‘प्रस्तुत विषयमा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा दलका सदस्य मा. ठम्मर बहादुर विष्टले निरन्तर दलको विधान विपरितका अभिव्यक्ति र गतिविधि गर्दै आइरहेको एवं प्रदेश सभा सदस्यबाट राजीनामा समेत पेश गरेको सन्दर्भमा यही चैत्र ३ गते प्रदेश सभा दलको बैठक सम्पन्न भयो । उक्त बैठकले राजीनामा फिर्ता लिएर नियमित कार्यमा क्रियाशील हुन उहाँलाई दिएको निर्देशनको अवज्ञा गरेकाले दलको सदस्यबाट निलम्बन गरिएको सुचित गरिन्छ।’
चैत ६, २०७८ आइतबार १५:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।