सुटिङमा लागेको चोटको सर्जरी गर्न प्रभास बार्सिलोनामा, डाक्टरले भने 'बेड रेस्ट' गर्नू
एजेन्सीः बाहुबली स्टार प्रभासको पछिल्लो फिल्म 'राधेश्याम' बक्स अफिसमा निरीह मात्र बनेन, समीक्षकले पनि दरो आलोचना गरे। प्रभासको फिल्म, त्यसमाथि ठूलो बजेट र शानदार भीएफएक्सको प्रयोग गरेको ट्रेलर हेर्दा सबैले यस चलचित्रबाट उच्च आशा राखेका थिए।
तर यो फिल्मलाई मात दियो- 'द कश्मीर फाइल्स'ले। राधेश्यामले पाएको स्क्रिन पनि विस्तारै कश्मीर फाइल्सले नै पायो। यद्यपि, फिल्मले जसोतसो दुई सय करोड भारु भने कमाएको छ। फिल्ममा तीन सय ५० करोड भारु लगानी भएको छ।
फिल्म फ्लप हुनेतर्फ अघि बढिरहँदा प्रभास भने स्पेनको बार्सिलोना उडे। उनी त्यहाँ उपचारका लागि गएका थिए। केही महिनाअघि फिल्म 'सालार'को सुटिङको क्रममा प्रभासलाई चोट लागेको थियो। सामान्य जस्तो लागेर उनले चोटलाई बेवास्ता गरे। अहिले त्यही चोटले पिरोलेपछि उनी बार्सिलोना उडेका हुन्।
त्यहाँ उनको शल्यक्रिया पनि भइसकेको छ। चिकित्सकले उनलाई तत्काल 'बेड रेस्ट' गर्नु भनेर सुझाएका छन्। अब केही दिन प्रभास सुटिङ सेटभन्दा परै बस्नेछन्।
प्रभासको अपकमिङ प्रोजेक्ट दीपिका पादुकोण र अमिताभ बच्चनसँग हुनेछ। यस्तै चलचित्र 'आदिपुरुष'मा पनि उनी देखिनेछन्।
चैत ६, २०७८ आइतबार ११:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।