नेपालमा कुल जनसङ्ख्याको ९३ प्रतिशतले लगाए कोरोना भाइरसविरुद्धको खोप
काठमाडौंः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म ९३ प्रतिशत नेपालीले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन्। १८ वर्षमाथिको कुल जनसङ्ख्यामध्ये एक करोड ८४ लाख ९८ हजार १६० जनालाई कोभिडविरुद्धको खोपको कम्तीमा एक मात्रा दिइएको मन्त्रालयले जनाएको छ।
यस्तै पूर्ण मात्रा (दुई डोज) खोप लगाउनेको सङ्ख्या भने एक करोड ६१ लाख ८४ हजार ८५८ रहेको छ। यो कुल लक्षित जनसङ्ख्याको ८१.२ प्रतिशत हो। साथै १२–१७ वर्ष उमेर समूहका ३१ लाख १८ हजार ७८५ (९१ प्रतिशत) जनाले पहिलो मात्रा खोप लगाइसेका छन्। १८ वर्षमुनि पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या २३ लाख ११ हजार ९९८ (६७ प्रतिशत) रहेको छ।
मन्त्रालयका अनुसार यही चैत ४ गतेसम्ममा सबै उमेर समूहमा कुल तीन करोड ९२ लाख २३ हजार ९४१ मात्रा खोप प्रदान गरिएको छ। जसमध्ये एक करोड ८६ लाख ९५ हजार ८२६ पहिलो मात्रा, एक करोड ८६ लाख ९८ हजार ५९५ दोस्रो मात्रा र १८ लाख २९ हजार ५२० मात्रा बुस्टर डोज प्रदान गरिएको हो।
सरकारले भेरोसेल, कोभिशिल्ड, एस्ट्राजेनिका, मोडर्ना, फाइजर र जोन्सन खोप प्रदान गर्दै आएको छ। अनुदान सहयोग तथा खरिद गरेर सरकारले कुल चार करोड ७८ लाख ८२ हजार ८०० मात्रा खोप प्राप्त गरेको थियो।
नेपालमा हाल तीन हजार ९९६ सक्रिय कोभिड सङ्क्रमित रहेका छन्। सङ्क्रमणबाट कुल ११ हजार ९५० जनाको मृत्यु भएको छ।
चैत ६, २०७८ आइतबार १०:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।