लुम्बिनी प्रदेशकी कृषिमन्त्री शर्मालाई पदमुक्त गराउन पार्टीभित्रैबाट निवेदन
बुटवलः लुम्बिनी प्रदेशकी कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीलाई पदमुक्त गराउन पार्टीभित्रै निवेदन परेको छ। जनता समाजवादी पार्टी (जसपा) नेपालबाट लुम्बिनी प्रदेश सभामा समानुपातिकतर्फकी सदस्य शर्मालाई सांसद तथा मन्त्री पदबाट हटाउन रूपा थापा क्षेत्रीले पार्टीमा निवेदन दिएकी छिन्।
निवेदनमार्फत उनले बन्दसूचीमा शर्मापछि आफ्नो नाम रहेको भन्दै आफ्नो नाम सांसदमा समावेश गर्न पनि माग गरेकी छिन्।
शंकर पोखरेल नेतृत्त्वको सरकारमा सहभागी भएकी शर्मालाई पार्टी निर्णयविपरीत सरकारमा सहभागी भएको भन्दै पार्टीले कारबाही गरेको थियो। उनीसँगै सन्तोष पाण्डेय, कल्पना पाण्डेय र विजयबहादुर यादवलाई पार्टीले पदमुक्त गरेको थियो।
सो कारबाहीविरुद्ध रायमाझीसहित चारै जनाले अदालतमा मुद्दा दायर गरेका थिए। अदालतमा मुद्दा चलेकै अवस्थामा शर्मा गठबन्धन सरकारमा सहभागी भएपछि भने पार्टीले उनको कारबाही फुकुवा गरेको थियो। तर कारबाही फुकुवाको कागज अदालतमा पेश नगरेपछि भने गत ११ पुसमा अदालतले उनको मुद्दा तामेलिमा राखिदिएको थियो।
सर्वोच्च अदालतको फैसलापछि रायमाझी स्वतः पदमुक्त हुनुपर्ने भए पनि लुम्बिनी प्रदेश सरकार, प्रदेश सभा सचिवालय र जसपाले समेत उनलाई पदमुक्त गरेको छैन।
त्यसै कारण शर्मापछि बन्दसूचीमा रहेकी रूपा थापा क्षेत्रीले उनलाई हटाएर आफ्नो नाम समावेश गर्न माग गर्दै निवेदन दिएकी हुन्।
साथै पदमुक्त भइसकेकी शर्मा हाल पनि पदमै रहकाले उनलाई फिर्ता बोलाउन माग गर्दै आफूले निवेदन दिएको बताइन्। उनले प्रदेश सभा सचिवालय, पार्टी र निर्वाचनमा आयोगमा निवेदन दिएको बताइन्।
चैत ६, २०७८ आइतबार ०९:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।