बुटवल उपमहानगर: एमालेलाई विरासत जोगाउनै सकस, 'किल्ला भत्काउने' कांग्रेसको महत्त्वकांक्षा
बुटवलः स्थानीय तहको निर्वाचनको मिति घोषणा भएसँगै यतिबेला प्रमुख र उपप्रमुखका आकांक्षीहरूको सक्रियता बढेको छ। आर्थिक एवं व्यापारिक नगर बुटवल उपमहानगरपालिकामा पनि आगामी निर्वाचनमा कसलाई उम्मेदवार बनाउने चर्चा सुरु भइसकेको छ।
प्रायः सबै पार्टीका नेताहरूले आफूनिकट कार्यकर्ताहरूबाट उम्मेदवार बन्ने चर्चा चलाउन थालेका छन्। कतिपयले भने सामाजिक सञ्जालबाटै आफ्नो उम्मेदवारी रहने छनक दिइरहेका छन्।
०७४ सालको स्थानीय तहको निर्वाचनमा बुटवल उपमहानगरमा तत्कालीन गठबन्धनका उम्मेदवार पराजित भएका थिए। एमालेले नगरप्रमुख, उपप्रमुखसहित अधिकांश वडामा विजय हासिल गरेको थियो।
त्यतिबेला गठबन्धनलाई समेत पराजित गरेको एमाले अहिलेको निर्वाचनमा पनि आफ्नो दबदबा कायम राख्न चाहन्छ। नेपाली कांग्रेससहितका अन्य दलहरू एमालेको विरासत भत्काउन चाहन्छन्।
बुटवल उपमहानगरमा नेपाली कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरे पनि नगरप्रमुखमा शिवराज सुवेदीले कांग्रेसका खेलराज पाण्डेयलाई हराएका थिए। उपप्रमुखमा माओवादी उम्मेदवार जगतबहादुर पोखरेललाई हराउँदै एमालेकी गुमादेवी आचार्य विजयी भएकी थिइन्।
त्यसैले एमालेको किल्ला भत्काउन सजिलो छैन, तर एमालेबाट एउटा ढिक्कै एकीकृत समाजवादीका रूपमा बाहिरिएकाले यो असम्भव पनि छैन।
तत्काल एकीकृत समाजवादी बलियो नदेखिए पनि अन्य पार्टीका उम्मेदवारलाई विजयी बनाउन वा पराजित गर्न योसँग ‘प्रयाप्त मत’ छ।
त्यसो त अहिलेको निर्वाचनमा पनि बुटवलमा गठबन्धनका उम्मेदवार हुने सम्भावना छ। तर एमाले एक्लै निर्वाचनमा लडे पनि जित निश्चित हुने बताउँदै आएको छ। तर कमजोर उम्मेदवार भए बुटवलमा एमालेको किल्ला भत्कन सक्ने एमालेकै नेताहरूले सङ्केत गरेका छन्।
यसको पुष्टि अघिल्लो निर्वाचनमा नगरप्रमुखका दुई उम्मेदवार शिवराज सुवेदी र खेलराज पाण्डेको मतले गर्छ।
मत विश्लेषण
एमालेबाट निर्वाचित भएका शिवराज सुवेदीले २३ हजार दुई सय ४९ मत प्राप्त गर्दा नेपाली कांग्रेसका खेलराज पाण्डेयले २० हजार आठ सय ५१ मत प्राप्त गरेका थिए।
नगरप्रमुखमा जम्मा २२ सय मतान्तर थियो। तर उपप्रमुखको मतान्तर १० हजार बढी थियो। एमालेबाट निर्वाचित गोमादेवी आचार्यले २५ हजार तीन सय एक मत प्राप्त गर्दा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओवादीका जगतबहादुर पोखरेलले जम्मा १४ हजार सात सय ९२ मत प्राप्त गरेका थिए।
यति धेरै मन्तान्तर भएका कारण अहिले गठबन्धनका नेताहरूले बुटवलमा एमालेको ‘किल्ला भत्काउने’ महत्त्वकांक्षी विश्लेषण गरेका छन्। यस्तै अघिल्लो निर्वाचनमा प्रमुख पदमा विजयी भएका सुवेदीले पाएको मत व्यक्तिगत नभई पार्टीको रहेको आँकलन नेताहरूले नै गरेका थिए।
प्रमुख/उपप्रमुखको मतान्तरलाई विश्लेषण गर्दै यस पटकको निर्वाचनमा एमालले अझ सबल र सक्षम व्यक्ति उठाउनुपर्ने चुनौती छ। कांग्रेस पनि उम्मेदवार राम्रो भए बुटवलबाट एमालेको किल्ला भत्काउन सकिन्छ भन्नेमा छ।
त्यसैले पनि बुटवलको प्रमुखमा कसले टिकट पाउला र जित्ला भन्ने चर्चा अझ विशेष छ।
एमालेबाट चर्चामा
एमाले उपमहासचिव विष्णु पौडेलको निर्वाचन क्षेत्र समेत रहेकाले यसलाई अझ विशेष चासोले हेरिएको छ।
एमालेबाट नगरप्रमुखको मुख्य आकांक्षीमा गोपाल राना, बाबुराम भट्टराई, गोमादेवी आचार्य, जिल्ला अध्यक्ष तेजेन्द्र केसी, सुर्यबहादुर भट्टराई, बाबुराम पन्थी लगायत छन्।
त्यसो त नगरप्रमुख सुवेदी फेरि दोहोरिन चाहेको चर्चा पनि छ। यद्यपि, सुवेदी फेरि उम्मेदवार बने बुटवलबाट एमाले ‘पत्तासाप’ हुने एमालेकै नेताहरू बताउँछन्।
त्यसैले सुवेदीलाई रोकेर अरूलाई नै उम्मेदवार बनाउन एमालेभित्रै अर्को कसरत समेत भइसकेको छ।
पाँच वर्षको अवधिमा सधैँ आलोचनाको केन्द्रविन्दुमा रहेका सुवेदी पछिल्लो समय शंकर पोखरेलसँग नजिक छन्। पार्टीका महासचिव शंकर पोखरेलसँग नजिक भएकै कारण सुवेदी दोहोरिने प्रवल सम्भावना रहेको एमालेकै कतिपय नेताहरू बताउँछन्।
व्यापार र राजनीतिमा सफल छवि बनाएका गोपाल राना कार्यकर्तामाझ निकै परिचित छन्। राना बुटवलका एक सफल होटल व्यवसायी हुन्।
पार्टीभित्र लामो समयदेखि निर्वाचन परिचालन, नेतृत्त्वमा रहेर काम गरेका राना अघिल्लो पटक पनि नगरप्रमुखका आकांक्षी थिए। तर अन्तिम समयमा उनलाई पछाडि हटाएर सुवेदीलाई टिकट दिइएको थियो।
निवर्तमान जिल्ला उपसचिव रानाले दुई कार्यकाल युवा इन्चार्ज, उद्योग व्यवसाय विभागको अनुभव पनि बटुलेका छन्।
‘यसअघिको दावी मैले छाडेकाले यस पटक मेरो आकांक्षा हुनु स्वाभाविक हो। पार्टीले दिएको जिम्मेवारीलाई यस अगाडिका निर्वाचनमा सहज ढंगले पार लगाएको हुँ। त्यसैले पनि यस पटक पार्टीले मलाई न्याय गर्छ भन्नेमा म ढुक्क छु’, रानाले भने।
राना विष्णु पौडलसँग नजिक छन्। पौडेलकै निर्वाचन क्षेत्रमा उनैले चाहेकै व्यक्तिले टिकट पाउने आँकलन पनि धेरैले गरेका छन्।
औषधी व्यवसायी महासंघका पूर्वअध्यक्ष समेत रहेका व्यवसायी बावुराम भट्टराई नगरप्रमुखका अर्का बलिया उम्मेदवार हुन्। पार्टीभित्र इमान्दार छवि बनाएका भट्टराईले नगरप्रमुखमा आफ्नो पनि आकांक्षा भएको बताएका छन्।
२०३० सालमा जीवराज आश्रित, देवेन्द्र घिमिरे लगायतका नेतासँग सम्पर्क बढेसँगै राजनीतिमा होमिएका भट्टराई ०३६ सालदेखि पार्टीको विभिन्न कमिटीमा रहेर काम गरेका छन्। भट्टराई यस पटक पार्टीले आफूलाई अगाडि बढाउनेमा ढुक्क छन्।
त्यस्तै हालकी उपप्रमुख गोमादेवि आचार्यले उपमहानगरको प्रमुखमा जाने आकांक्षा व्यक्त गरेकी छिन्। मजदूर फाँटबाट नेतृत्त्वमा पुगेकी आचार्य नगरप्रमुखमा आकांक्षा व्यक्त गर्ने पहिलो महिला हुन्। बुटवलबाट नगरप्रमुखमा महिलाको चर्चा उनको मात्र छ।
‘उपाध्यक्ष भएकाले स्वाभाविक रूपमा दावी मेरो नगरप्रमुखमा हो। पार्टीको निर्णयलाई स्वीकार गर्छु’, उनले भनिन्।
हालै लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षबाट बर्खास्त भएका सूर्यबहादुर भट्टराईले पनि नगरप्रमुखमा आकांक्षा देखाएका छन्। उनी व्यवसायी हुन्।
त्यस्तै एमाले अध्यक्ष तेजेन्द्र केसी, नेकपा एमाले बुटवल उपमहानगरपालिकाका पूर्वअध्यक्ष बाबुराम पन्थी लगायतका नेताहरू पनि आकांक्षी देखिएका छन्।
नेपाली कांग्रेसबाट चर्चामा
नेपाली कांग्रेसबाट बुटवल नगरप्रमुखको पहिलो आकांक्षी खेलराज पाण्डेय हुन्। अघिल्लो निर्वाचनमा पराजित भएका पाण्डेय अहिले पनि नगरप्रमुखको उम्मेदवारको आकांक्षी देखिएका छन्।
यसअघि पराजित हुनासाथ निर्वाचन केन्द्रित घरदैलो सुरु गरेका पाण्डेय बलिया उम्मेदवार समेत हुन्। कांग्रेसकै नेताहरू पनि पाण्डेयको विकल्प नभएको बताउँछन्।
तत्कालीन गठबन्धनबाट उम्मेदवार बनेका पाण्डेयले सुवेदीसँगको मतान्तर दुई हजार दुई सय बनाएका थिए। पाण्डेय बलियो र लोकप्रिय उम्मेदवार रहेकाले एमालेको किल्ला भत्काउन सक्ने आँकलन कांग्रेसले गरेको छ।
पाण्डेयले भने पार्टीले गर्ने निर्णय स्वीकार गरेर अगाडि बढ्ने बताएका छन्।
त्यसबाहेक उद्योगी सुरेन्द्र श्रेष्ठ पनि नगरप्रमुखका आकांक्षी हुन्। त्यस्तै व्यवसायी चुन्नु पौडेल, हरिबहादुर आचार्य, रामेश्वर श्रेष्ठ पनि नगरप्रमुखका आकांक्षी हुन्।
समाजवादी र माओवादी पर्ख/हेर अवस्थामा
केपी ओलीलाई सत्तच्युत गर्न एक ठाउँमा उभिएका नेपाली कांग्रेस, माओवादी केन्द्र र समाजवादी निर्वाचनमा पनि सँगै जान चाहेका छन्।
यद्यपि, कांग्रेसकै कतिपय नेताले निर्वाचनमा एक्लै जानुपर्ने मत राखेकाले पनि स्थानीय तहमा माओवादी र समाजवादीले कसलाई उम्मेदवारको रूपमा अगाडि बढाउने अन्यौलमा छ।
गठबन्धन कायम राखे एक अर्कालाई सघाउनुपर्ने भएकाले पनि बुटवलमा नगरप्रमुखमा खुलेर आकांक्षा भने व्यक्त भएको छैन।
माओवादीले केन्द्रको निर्णय कुरेको छ भने समाजवादीबाट हाल केन्द्रीय सदस्य बालकृष्ण चापागाईँ र जिल्ला अध्यक्ष राजु गुरुङको चर्चा छ। गुरुङ युवा संघमा रहेर लामो समय काम गरेका थिए।
केन्द्रीय उपाध्यक्ष समेत भएका गुरुङले पछिल्लो समय विष्णु पौडेललाई निर्वाचनमा हराउने चुनौती समेत दिँदै आएका छन्।
चैत ६, २०७८ आइतबार ०८:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।