माओवादी नेता रिसाएपछि प्रकाश सपुतले पीरबाट हटाए ‘यौनकर्मी’को दृश्य
काठमाडौँ : माओवादी केन्द्रका नेता तथा कार्यकर्ता आलोचनामा उत्रिएपछि गायक प्रकाश सपुतले 'पीरु गीतको भिडियोबाट यौनकर्मीको दृश्य हटाएका छन्। अघिल्लो हप्ता सार्वजनिक भएको उनको गीतले विवाद र चर्चा दुबै पाइरहेको छ।
गीतमा माओवादी जनयुद्धमा सहभागी महिला यौन व्यवसायमा संलग्न हुन बाध्य भएको दृश्य राखिएको थियो। अधिकांश माओवादी नेता तथा कार्यकर्ताहरुले त्यही दृष्यलाई लिएर पीरको आलोचना गरिरहेका छन्।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि कृष्णबहादुर महरासम्मले गीतबारे टिप्पणी गर्दै त्यसलाई माओवादीमाथिको घेराबन्दीको रुपमा अर्थ्याइरहेका थिए। माओवादी केन्द्रका चार संगठनले त विज्ञप्तीमार्फत नै गायक सपुतलाई धम्क्याएका थिए।
उनले माओवादी आन्दोलनको अपमान गर्ने प्रयास नगरी आफुले देखेको पात्रका आधारमा म्युजिक भिडियोको दृष्यांकन गरिएको दाबी गर्दै आएका थिए। तर शनिबार उनले एकाएक सो दृष्य सम्पादन गरेर नयाँ भिडियो अपलोड गरेका छन्।
चैत ५, २०७८ शनिबार १९:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।